तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई जोडी गैंडा चीन पठाउन अन्तिम अध्ययन
हालसम्म झण्डै डेढ दर्जनबढि एकसिंगे गैंडा विभिन्न मुलुकलाई उपहार स्वरुप प्रदान गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
४ वर्ष मुनिका दुई जोडी गैंडा चीनलाई उपहार दिने मन्त्रिपरिषद्को निर्णय अनुसार दुबै देशको संयुक्त प्राविधिक टोलीले अध्ययन गरिरहेको हो।
वन तथा वातावरण मन्त्रालयका अनुसार गैंडाको हालको र पछिको वासस्थान एवम् आहारविहार तथा स्याहार-सुसारबारे अध्ययन यसअघि नै भइसकेको छ।
उपहार स्वरुप प्रदान गरिने गैंडाको चालचलन र सार्ने प्रक्रिया लगायतका विषयमा टुंगो लागेपछि चीन पठाइने अधिकारीहरुको भनाइ छ।
स्वस्थ
विगतमा गैंडालाई बेहोस बनाई विशेष प्रकारको खोरमा राखेर पठाइएको जानकारी दिँदै वन मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले भने, ''करिब-करिब डेढ दर्जनजति गैंडाहरु विभिन्न देशमा उपहारस्वरुप दिईएको छ। ती देशका अधिकारीहरुसँग औपचारिक, अनौपचारिक कुराकानीमा उपहारस्वरुप पठाईएका गैंडाहरु हालसम्म स्वस्थ रहेको बताइएको छ।''
अहिलेसम्म भारतलाई चारवटा, संयुक्त राज्य अमेरिकालाई छ वटा, बेलायत, जर्मनी, बांग्लादेश र जापानलाई दुई-दुईवटा र सिंगापुरलाई एउटा गैंडा उपहार स्वरुप पठाएको बताइएको छ।
चीनलाई भने पहिलोपटक उपहार दिन लागिएको हो।
कतिपयले दुर्लभ वन्यजन्तु उपहार दिनु उपयुक्त नभएको टिप्पणी गरेको पाइन्छ।
एकजना वातावरण संरक्षणविद् तिर्थ बहादुर श्रेष्ठले भने उपहार दिनु अन्तर्राष्ट्रिय प्रचलन रहेको भन्दै सरकारको निर्णयको समर्थन गरे।
फाईदा
उनले भने, ''हामीकहाँ आपसमा गैंडा जुधेरै धेरै मर्ने गरेका छन्। त्यसकारण जुधेर मर्नु भनेको वासस्थानको क्षमताले नधानेर हो भन्ने मलाई लाग्छ। यो अवस्थामा हामीसँग पर्याप्त संख्यामा भएको प्रजाति दिनु राम्रै हो। त्यसले गर्दा तिनको आनुवंशिक संरक्षण पनि हुने गरेको छ।''
त्रिभुवन विश्वविद्यालका पूर्व प्राध्यापक करण शाहले पनि गैंडाजस्ता दुर्लभ वन्यजन्तु उपहार दिंदा प्रजनन् क्षमता बढाउन र आनुवंशिक संरक्षणमा समेत फाइदा नै पुग्ने बताए।
तर विदेशवाट समेत नेपालमा नपाईने वन्यजन्तु ल्याईनुपर्ने उनले बताए।
उनले भने, ''मेरो बिचारमा हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ। यसरी उपहार दिंदा त्यहाँ दुरुपयोग नहोस् भन्ने कुरामा विचार पुर्याउनुपर्छ। एकतर्फी रुपमा खाली दिनेकुरा मात्रै गर्नु भएन। चीनलाई यी गैंडा दिंदा हामीकहाँ नभएका दुर्लभ वन्यजन्तु त्यहाँबाट ल्याउन अनुरोध गर्न सकिन्छ।''
दुर्लभ वन्यजन्तु तथा जडिबुटीको ओसारपसार विरुद्धको साईटिस महासन्धिले यसको शिकार तथा आखेटोपहार आयात निर्यातमा प्रतिबन्ध लगाएको छ।
तर अध्ययन, अनुसन्धानका लागि उपहार आदानप्रदानका लागि भने कुनै रोकटोक नगरेको जानकारहरु बताउँछन्।