तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत पुगेको नवौं गैंडाको सफल उद्धार
गएको साउन महिनाको तेस्रो साता चितवनमा आएको बाढीले बगाएर भारत पुगेको गैंडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फिर्ता ल्याइएको छ।
बिहीबार दिउसो भारतको मदनपुरमा समातिएको गैंडालाई शुक्रबार निकुञ्जको सौरहा क्षेत्रमा छाडिएको अधिकारीहरुले बताएका छन्।
भारतको बिहार र उत्तर प्रदेश राज्यको सीमावर्ती क्षेत्रमा पर्ने मदनपुर र पिपरासी क्षेत्रमा दुईवटा दुर्लभ एक सिंगे गैंडा रहेको खबर भारतको वाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले चितवन राष्ट्रिय निकुञ्जमा खबर गरेपछि प्राविधिक टोलीहरु त्यता गएर गैंडा नेपाल ल्याइएको हो।
बाढीले बगाएर लगेका मध्ये छुटेका गैंडाहरुको उद्धार गरी ल्याउने काम भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताए।
"त्यतिखेर हामीले देखिएको ल्यायौं। अहिले फेरि फेला परेर खबर आएपछि ल्याउन सम्भव भएको हो।"
उद्धार
गएको भदौ महिनामा पनि भारतका विभिन्न स्थानबाट पटक- पटक गरी १ बच्चा र ७ वयस्क गैंडा उद्धार गरी ल्याइएको उनले बताए।
भारतको वाल्मिकीनगरदेखि करिब ४० किलोमिटर दक्षिण पिपरासीमा अझै एक गैंडा रहेको र त्यसलाई पनि ल्याउने प्रयास भइरहेको बताइएको छ।
निकुञ्जबाट यति धेरै गैंडा बगेर जानुको कारणबारे महानिर्देशक खड्काले भने, "अधिकांश पोथी गैंडा बगाएर भारत पुगेको हामीले पाएका छौं। आफ्ना बच्चा बगाएपछि उनीहरु पनि पछिपछि बगेर गएका हुन सक्छ।"
भारत पुगेका गैंडा उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज बाट ४ हात्तीबाहेक वन्यजन्तु चिकित्सक र प्राविधिक कर्मचारीहरु समेत झण्डै ४० जना खटिएका थिए।
दुई देशका संरक्षण अधिकारीबीचको निरन्तर समन्वय र सहकार्यले गर्दा नेपालबाट भारत पुगेका गैंडा फर्काएर नेपाल ल्याउन सम्भव भएको अधिकारीहरुको भनाइ छ।