म्यानमारमा रोहिंज्याको 'जातीय सफाया जारी'

म्यानमारले रखाइन राज्यमा रोहिंज्या मुसलमानहरूको जातीय सफाया गर्ने क्रम नरोकेको संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलवार बताएका छन्।

सैनिक दमन हुँदा रोहिंज्या मुसलमानहरूको सामूहिक बहिर्गमन भएको छ महिनापछि राष्ट्रसंघका ती दूतले निरन्तर चलेको 'आतंक र भोकै पार्ने अभियान' को समीक्षा गरेका हुन्।

गत अगस्ट महिनायता झन्डै सात लाख रोहिंज्या मुसलमानहरू म्यानमारबाट भागेर छिमेकी देश बांग्लादेशमा पुगेका छन्।

उनीहरूका अनुसार सैनिक र भिजिलान्तेहरूले रोहिंज्या मुसलमानहरूको हत्या र बलात्कार एवम् उनीहरूविरुद्ध आगजनी गर्ने गरेका थिए।

म्यानमारको सेनाले रखाइन राज्यमा रोहिंज्या लडाकुहरूसँग लडिरहेको तर गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्ने गरेको छ।

'रूप फेरियो'

"म्यानमारका रोहिंज्याको जातीय सफाया चलिराखेको छ," राष्ट्रसंघीय मानवअधिकार आयोगका सहायक महासचिव एन्ड्रु गिल्मोरले बताए।

"दक्षिण बांग्लादेशको कक्स् बजारमा मैले जे देखेको र सुनेको छु, त्यसबाट हामी अन्य निष्कर्ष पुग्न सक्छौँ जस्तो मलाई लाग्दैन।"

कक्स् बजारमा पाँच लाख शरणार्थीहरू रहेका छन्।

"गत वर्षका भयानक रक्तपात र सामूहिक बलात्कारपछि हिंसाको रूप परिवर्तित भएर आतंक र भोकै राख्ने अभियानमा आइपुगेको छ," समाचार संस्था एएफपीका अनुसार गिल्मोरले शरणार्थी शिविरमा भर्खर आइपुगेका रोहिंज्याहरूसँग कुराकानी गरेपछि भने।

बांग्लादेश र म्यानमारका अधिकारीहरूले शरणार्थी फर्काउनेबारे वार्ता गर्दै आएका थिए। तर गत हप्ता सीमामा म्यानमारको सेनाको तैनाथीपछि केही आशंका बढेको छ।

"कुनै पनि रोहिंज्यालाई रखाइन राज्यमा निकट भविष्यमा 'सुरक्षित, सम्मानजनक र दीर्घकालीन' तरिकाले फिर्ता हुने कुरा अकल्पनीय छ," उनले भने।

"म्यानमारको सरकार विश्वलाई फिर्ता आएका रोहिंज्या स्वीकार गर्न तयार रहेको बताउन व्यस्त छ, अनि उही बेला उसको सेना रोहिंज्याहरूलाई निरन्तर बांग्लादेशतिर लखेट्दैछ।"