तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डुङ्गा दुर्घटना हुँदा ९० आप्रवासी डुबेको आशंका
संयुक्त राष्ट्रसंघको आप्रवाससम्बन्धी निकाय आइओएमले लिबियाबाट समुद्री मार्ग हुँदै युरोप जाँदै गरेको डुङ्गा दुर्घटनाग्रस्त भएको बताएको छ।
दुर्घटनामा डुङ्गामा सवार कम्तीमा ९० आप्रवासी डुबेको आशंका गरिएको छ।
जीवित रहेका तीन जनाले डुब्नेहरुमध्ये अधिकांश पाकिस्तानी नागरिक रहेको जनाएका छन्।
समुद्र हुँदै दक्षिणी युरोप पुग्न खोज्ने आप्रवासीहरुका लागि लिबिया वर्षौदेखि एउटा प्रमुख मार्ग बन्दै आएको छ।
मतभेद
युरोपेली संघ (इयु) मा आवद्ध मुलुकहरुबीच आप्रवासी संख्या कम गर्ने विषयमा मतभेद छ।
साथै युरोप प्रवेश गर्ने बित्तिकै कुन मुलुकले आप्रवासीहरुबारेको विवरण जाँच गर्ने भन्ने विषयमा पनि उनीहरुको मत बाझिएको पाइन्छ।
आप्रवासीलाई रोक्न र उनीहरुलाई लिबिया फर्काउन सहयोगका लागि इयुले लिबियाली तटरक्षकसँग गत वर्ष सम्झौता गरेको थियो।
सहायता संस्थाहरु र राष्ट्रसंघले युरोपेली सरकारहरुले अमानवीय रवैया अपनाएको आरोप लगाएका थिए।
डुबेको डुङ्गाबाट दुई जनाले पौडिएर आफ्नो ज्यान बचाएको र अर्कोलाई माछा मार्ने डुङ्गाले उद्धार गरेको विवरणहरुमा जनाइएको छ।
दशवटा शव बगेर लिबियाली समुद्रतटमा पुगेको आइओएमद्वारा जारी वक्तव्यमा उल्लेख छ।
अनौठो
ज्यान जाने मानिसहरुको सूचीमा लिबियाली पनि छन्।
डुङ्गामा लिबियालीको उपस्थितिलाई अनौठो मानिएको छ।
जोखिम हुँदाहुँदै पनि लिबियालीले आफ्नो देशबाट दक्षिणी युरोपमा डुंगा यात्रा विरलै गर्छन्।
आइओएमका अनुसार अघिल्लो वर्ष युरोप जान चाहने आप्रवासीहरुको सूचीमा पाकिस्तानीहरु १३ औं स्थानमा थिए।
यसवर्ष तिनीहरु तेस्रोमा छन्।
आइओएमको यस वर्षको प्रतिवेदन अनुसार ६६ सयभन्दा बढी आप्रवासी समुद्री बाटो हुँदै युरोप पुगेका छन्।