तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'एफबिआइका उपनिर्देशकले पद छाडे'
संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) का उपनिर्देशक एन्ड्रयु मकेबले दुई महिना लामो बिदा लिंदै आफ्नो जिम्मेवारी छाडेको समाचारहरुमा जनाइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए।
सिबिएस न्युजले आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुनलागेका मकेबलाई पद छाड्न वाध्य पारिएको जनाएको छ।
राष्ट्रपति ट्रम्पले एक साता अघि नै मकेबलाई पद छाड्न भनेको पनि बताइएको छ।
बर्खास्त
राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआइका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा पनि काम गरेका थिए।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारे छानबिन गरिरहेको बेला ट्रम्पले कोमीलाई पदबाट बर्खास्त गरेका थिए।
राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेप सम्बन्धी आरोपहरुको सधैं खण्डन गर्ने गरेका छन्।
उनले एक ट्वीट गर्दै मकेब कोमीको साथी भएको आरोप पनि लगाएका थिए।
मकेबकी श्रीमती डा. जील मकेबले भर्जिनिया राज्यमा डेमोक्रयाट पार्टीको तर्फबाट अमेरिकी सिनेटको चुनाव लडेकी थिइन्।
भोट
गत साता द वाशिङटन पोष्ट समाचारपत्रले अमेरिकी राष्ट्रपतिको कार्यालयमा चिनजान गर्न डाकिएको एक बैठकमा राष्ट्रपति ट्रम्पले मकेबलाई सन् २०१६ को चुनावमा उनले कसलाई भोट हालेका थिए भनी सोधेको वर्तमान तथा भूतपूर्व अधिकारीहरुले जनाएको उद्धृत गरेको थियो।
उनले आफुले कसैलाई पनि मतदान नगरेको भन्ने जवाफ दिएको पनि समाचारमा जनाइएको थियो।
गत जुलाई महिनामा एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, "समस्या के हो भने एफबिआइका कार्यवाहक निर्देशक एन्ड्रयु मकेबले हिलरी क्लिन्टनबाट आफ्नी श्रीमतीकालागि सात लाख डलर सहायता लिएका थिए।"
ती आरोपहरुबारे मकेबले सार्वजनिकरुपमा कुनै टिप्पणी गरेका थिएनन्।
संवाददाताहरु भन्छन्, राष्ट्रपति ट्रम्पमाथि कार्यकाल सकिन झण्डै दुई महिनामात्रै बाँकी रहेका एक वरिष्ठ अधिकारीलाई पद छाड्न वाध्य पारेको आरोप लाग्नसक्छ।
मकेब आफ्नो पदावधि नसकिंदासम्मकालागि बिदामा बसेको पनि समाचारहरुमा जनाइएको छ।