'विध्वंश मच्चाउँदै मरिया आँधी'

तस्बिर स्रोत, AFP/Getty
पूर्वी क्यारिबियन क्षेत्रस्थित डोमिनिका टापुमा प्रति घण्टा २ सय ६० किलोमिटरको वेगमा आएको मरिया नामक शक्तिशाली आँधीका कारण व्यापक क्षति भएको ठानिएको छ।
छिमेकी टापु ग्वाडलुपमा पनि उक्त आँधीले विध्वंश मच्चाइरहेको छ।
चेतावनी
अमेरिकी राष्ट्रिय आँधी केन्द्रले सो क्षेत्रमा मानवीय क्षति निम्त्याउने गरि पहिरो, बाढी तथा उच्च वेगको हुरी आउन सक्ने चेतावनी दिएको छ।
प्रारम्भिक विवरणहरुका अनुसार डोमिनिकामा मरिया आँधीका कारण व्यापक विनाश भएको त्यहाँका प्रधानमन्त्री रुजभेल्ट स्केरिटले बताएका छन्।
सत्तरी हजार भन्दा बढीको बसोबास रहेको डोमनिकामा आँधीका कारण सञ्चार सम्पर्क विच्छेद भएको छ।
सामाजिक संजाल फेसबुकमा राखिएको सन्देशमा प्रधानमन्त्री स्केरिटले भनेका छन्- "हामीले पैसाले किन्न सक्ने सबै थोक गुमाएका छौँ।"
साथै अविरल वर्षाका कारण गएको हुन सक्ने पहिरोले गम्भीर भौतिक क्षति र सम्भावित मृत्युका समाचारहरु भोलि उठ्दा सुन्नु पर्ने हुनसक्ने डर आफूलाई लागेको उनले उक्त फेसबुक सन्देशमा लेखेका छन्।
आँधीका कारण प्रधानमन्त्री स्केरिटको आफ्नै घरको छाना पनि उडेको थियो र उनलाई पनि उद्धार गरिएको थियो।
खतरनाक
सबभन्दा खतरनाक स्तर क्याटगरी पाँचको उक्त आँधी रातिको समयमा डोमिनिका प्रवेश गरेको थियो।
डोमिनिकाको राजधानी रोजोस्थित एकजना पत्रकार कर्टीस म्याथ्यूले स्थिति एकदम छिटै खराब भएको बताएका छन्।

तस्बिर स्रोत, AFP/Getty
त्यहाँ सबै बन्दरगाह र विमानस्थलहरु बन्द गरिएको र तटीय क्षेत्र आसपासका वासिन्दाहरुलाई सरकारी आश्रयगृहहरुमा जानका लागि भनिएको छ। यसैबीच हाल उक्त आँधी छिमेकी ग्वाडलुपमा प्रवेश गरेको बताइएको छ।
फ्रान्सेली भूभाग ग्वाडलुपमा अधिकारीहरुले कतिपय स्थानमा आँधी साम्य हुँदै गए पनि मानिसहरुलाई घर भित्रै बस्नका लागि चेतावनी जारी गरेका छन्।
त्यहाँका घरहरुमा बिजुली छैन र भीषण बाढी आएको विवरणहरुमा उल्लेख छ।
आँधी मरिया हालपोर्तो रिको र भर्जिन आईल्याण्ड्सतर्फ अघि बढिरहेको छ।
यसै महिना क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली एर्मा आँधी हिँडेकै बाटो हुँदै मरिया आँधी अघि बढिरहेको छ।
एर्मा आँधीका कारण ३७ जनाको ज्यान गएको थियो भने अर्बौं डलर बराबरको क्षति भएको थियो।








