मरिया आँधी ‘अति खतरनाक’ अवस्थामा

तस्बिर स्रोत, NASA
अमेरिकी मौसमविद्हरुले समुद्री आँधी मरिया लीवार्ड आइल्याण्ड्समाथि दवाव बढाइरहँदा अति खतरनाक 'क्याटेगोरी फोर' अर्थात् चौथो वर्गको भएको बताएका छन्।
लीवार्ड आइल्याण्ड्समा अमेरिकी तथा ब्रिटिश भर्जिन आइल्याण्ड्स लगायतका टापुहरु पर्दछन्।
समुद्री आँधीसम्बन्धी अमेरिकी राष्ट्रिय केन्द्र (एनएचसी) ले मरिया अबको केही घण्टाभित्र डोमिनिका टापु नजिकबाट अघि बढ्ने जनाएको छ।
आँधीको गति अहिले प्रतिघण्टा २ सय किलोमिटर रहेको छ।
खतरा
मार्टिनिक टापुले उच्च तहको सतर्कता अपाउन र मानिसहरुलाई घरबाहिर ननिस्किन भनेको छ।
फ्रान्सको ग्वाडुलुप टापुले मानिसहरुलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको छ।

तस्बिर स्रोत, Reuters
यसै महिनाको शुरुतिर विध्वंशकारी एर्मा आँधीको चपेटामा परेकै टापुहरुमा मरिया आँधीले खतरा उत्पन्न गराइरहेको छ।
एनएचसीका अनुसार मरिया मंगलवार उत्तर-पूर्वी क्यारिबियन सी तथा बुधवार पुएर्टो रिको र भर्जिन आइल्याण्ड पुग्नेछ।
आपतकाल
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी भर्जिन आइल्याण्ड्समा सोमवार आपतकालीन अवस्था घोषणा गरेका छन्।
एनएचसीले मरिया आँधीले विनाशकारी बाढी तथा पहिरो निम्त्याउन सक्ने चेतावनी दिएको छ।
ब्रिटिश आइल्याण्ड्समा अधिकारीहरुले एर्मा आँधीले थुपारेका भग्नावशेषलाई मरियाले उडाउने सक्ने खतरा औंल्याएका छन्।
क्यारिबियन क्षेत्रमा हालै आएको एर्मा आँधीका कारण कम्तीमा ३७ जनाको ज्यान गएको थियो भने अर्बौं डलर बराबरको क्षति पुगेको थियो।








