एर्मा आँधी अमेरिकाको फ्लोरिडामा

फ्लोरिडा

तस्बिर स्रोत, AFP

क्यारिबियन टापुहरु र क्युबामा व्यापक विनाश निम्त्याएको शक्तिशाली एर्मा आँधी अमेरिका प्रवेश गरेको छ।

अमेरिकाको फ्लोरिडा राज्यको दक्षिणी टापुहरुमा ठूलो हावाहुरी आएको बताइएको छ।

फ्लोरिडाको दक्षिणी टापुमा उच्चतम खतरा रहेको 'क्याटेगोरी फाइभ'को भन्दा केही क्षीण 'क्याटेगोरी फोर'को आँधीको रुपमा एर्माले प्रवेश गरेको छ।

हावाको गति २०९ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ।

चिन्ता

फ्लोरिडाका गर्भनर रिक स्कटले उक्त राज्यको पश्चिमी तटीय क्षेत्रलाई लिएर आफू अत्यन्त चिन्तित रहेको बताएका छन्।

अब एर्मा फ्लोरिडाको पश्चिमी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।

६३ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा जान भनिएको छ।

१० लाखभन्दा बढी घर बिजुलीविहीन भएका छन्।

एर्माले क्यारिबियन क्षेत्रमा व्यापक क्षति पुर्याउँदै कम्तीमा २५ जनाको ज्यान लिएको थियो।

क्युबा
तस्बिरको क्याप्शन, फ्लोरिडामा पुग्नुअघि एर्माले क्युबामा व्यापक क्षति निम्त्याएको थियो।

सचेत

फ्लोरिडाका एक अधिकारीले अवस्था अत्यन्तै खतरापूर्ण रहेको बताएका छन् र स्थानीय बासिन्दाहरुलाई आश्रय लिन सचेत गराएका छन्।

करिब ५० हजार मानिसले अस्थायी आश्रयस्थलहरुमा शरण लिइरहेको बताइएको छ।

एक जना स्थानीय बासिन्दाले रुखहरु उडाएर घर र बिजुलीको तारहरुमा पुर्याएको बीबीसीलाई बताए।

पूर्वमा मायमी शहर धेरै मानिसले छाडिसकेका छन्।

प्रभाव

बहामासबाट प्राप्त तस्बिरहरुमा, एर्मा आँधीपछि त्यहाँको समुद्रको आकार घटेको देखिएको छ।

प्रत्यक्षदर्शीहरुले एउटा टापु वरपरको पानी अकस्मात हराएको बताएका छन्।

विज्ञहरुले आँधीले उत्पन्न गराएको अति न्यून चापका कारण समुद्रको आकार घटेको र त्यसको सबैभन्दा तल्लो हिलाम्मे सतह बाहिर देखिएको जनाएका छन्।