दक्षिण कोरियाद्वारा 'लाइभ-फायर' अभ्यास

दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु अस्त्र क्षेत्रमा आक्रमण गरेको प्रतीत हुने गरी 'मिसाइल ड्रिल' अर्थात् क्षेप्यास्त्र अभ्यास गरेको छ।

प्योङयाङले छैठौं पटक परमाणु अस्त्र परीक्षण गरे लगत्तै दक्षिण कोरियाले त्यस्तो अभ्यास गरेको हो।

'लाइभ-फायर' अभ्यासको क्रममा लडाकू विमानबाट रकेट र जमिनबाट बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो।

चिन्ता

उत्तर कोरियाली कदमलाई लिएर चीन र रुसमा गम्भीर चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले पछिल्लो सैनिक अभ्यास गरेको हो।

चीनका राष्ट्रपति सि जिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरियाली प्रायद्वीपमा तनाव कम गर्नु पर्नेमा जोड दिएका छन्।

जापानले चाहिँ पछिल्लो परीक्षण क्षमा गर्नै नसकिने काम भएको बताएको छ।

उत्तर कोरियाको पछिल्लो परीक्षण यो दशकको छैठौं यस्तो खाले परीक्षण हो।

प्रभाव

पछिल्लो परिक्षणका बेला ६ म्याग्नीच्युड भन्दा ठूलो भूकम्पको धक्का महसुस् गरिएको थियो।

त्यो कम्पनको असर उत्तर कोरियासँग जोडिएको चिनियाँ भूभागमा समेत परेको बताइएको छ।

बीबीसीका प्रतिरक्षा तथा कुटनीतिक संवाददाता जोनाथम मार्कस भन्छन्, "वासिङ्टनमा ट्रम्प प्रशासनले जे जस्ता प्रतिक्रिया दिने गरेको भएपनि प्योङयाङले निकै तीव्र गतिका परमाणु अस्त्रको विकास गरिरहेको छ। त्यो धेरैले अपेक्षा गरेभन्दा फरक परिस्थिति हो।"