'जेठी छोरी सिन्ड्रोम' देखि 'विद्रोही कान्छी'सम्म: के जन्मको क्रमले तपाईँको व्यक्तित्व निर्धारण गर्छ?

    • Author, मोली गोर्मन

के जन्मको क्रमले कुनै व्यक्तिको व्यक्तित्व निर्धारण गर्छ? यो प्रश्नले परिवार र मनोविद्हरूलाई वर्षौँदेखि विस्मयमा पारेको छ। तर जबाफ त्यति सिधा छैन।

दुई दिदी बहिनीमा जेठी म, समाजमा भनिँदै आए जस्तै जिम्मेवार, कर्तव्यनिष्ठ र सबै काम राम्ररी गर्न सक्ने भन्ने प्रचलित मान्यतासँग जोडेर हेरिन्छु।

मेरी आमा पनि जेठी छोरी, ती गुणहरू उहाँमा पनि छन्। तर मेरी बहिनी भने अलि बेपरवाह छिन्। जबकि हामी एउटै परिवारका हौँ, एउटै बाबाआमाका सन्तान हौँ, हामी एक आपसमा नजिक पनि छौँ, तर हाम्रो व्यक्तित्व फरक छ।

हामी बीचको फरक हाम्रो जन्म क्रमका कारण आएको हो र? भन्नेबारे म घोत्लिने गर्छु - जेठो वा कान्छो सन्तान वा एक्लो सन्तान हुनुले हाम्रो चरित्र निर्धारण गर्छ? वा जन्म क्रमकै कारण संसारमा हामी कसरी अगाडि बढ्छौँ भन्ने फरक हुने गर्छ?

शताब्दी लामो रहस्य

वैज्ञानिक समुदाय वा आम समुदायमा १०० वर्षभन्दा बढी समयदेखि विमर्श हुँदै आए पनि जन्मको आधारमा व्यक्तित्व बन्छ भन्ने कुरा बहसकै विषय रहँदै आएको छ।

अनुसन्धानको इतिहास हेर्दा त्यसबाट एउटै प्रकारको निष्कर्ष निस्केको छैन। त्यसो हुनुमा थुप्रै कारण छन् र यसलाई सजिलो भाषामा भन्दा यो नाप्न मुस्किल छ।

ह्युस्टन विश्वविद्यालय टेक्ससमा असोसिएट प्रोफेसर अफ साइकोलोजी, रोडिका डामिएन अघिल्ला अध्ययनहरूले सानो स्याम्पल साइज अर्थात् सानो सङ्ख्यामा मानिसहरूको अध्ययन गरेको बताउँछिन्।

अनि व्यक्तित्वसम्बन्धी यस्ता अनुसन्धानहरूमा प्रयोग भएका मानिसहरूले आफ्नो व्यक्तित्वबारे आफैँ बताउने हुन्, त्यसले गर्दा परिणाम आग्रह ग्रसित पनि हुन सक्ने उनको भनाइ छ।

"पाँच मुख्य आधार"

जन्म क्रमबारे अनुसन्धान गर्ने मनोवैज्ञानिकहरूले दिदीबहिनी दाजुभाइलाई तल दिइएका संरचनामा आधारित भएर हेर्ने गर्छन्:

  • बहिर्मुखी वा अन्तर्मुखी
  • मिलनसार
  • बुद्धिमत्ता
  • भावनात्मक स्थिरता
  • अनुभवप्रति खुलापन

पछिल्ला अध्ययनले देखाएका छन् - हरेक व्यक्ति जन्म क्रमकै कारण चरित्र विकास गर्छन् भन्ने विषय भनिए जति व्यवस्थित छ कि छैन भन्ने जाँच्ने कार्य विभिन्न कारणले कठिन छ। दाजुभाइ दिदीबहिनीको कुल सङ्ख्या जाँचको एक उपाय हुन सक्छ। उदाहरणका लागि दुई बच्चा भएको परिवारका बच्चाहरूको चरित्र र सात बच्चा भएका परिवारको बच्चाहरूको चरित्र फरक हुन्छ भन्ने हामीले देखेको कुरा हो। यस्तो खाले फरक सङ्ख्या भएको परिवारका जेठो र कान्छो सन्तानको चरित्र फरक हुन सक्छ र सीधा तुलना गर्न नमिल्ने पनि हुन सक्छ।

परिवारको सदस्य सङ्ख्या र कुनै परिवारको सदस्य हुनुको अनुभवमा विभिन्न अन्य तत्त्वहरू जेलिएको हुन सक्छ - जस्तो कि परिवारको सामाजिक आर्थिक अवस्था (सामाजिक आर्थिक स्थिति उच्च भएका धनी परिवारले कम बच्चा जन्माउन सक्छन्)। र व्यक्तिको उमेर र लिङ्गका कारण पनि परिवारभित्र र बाहिरको उनीहरूको अनुभव फरक हुन सक्छ।

यो सन्दर्भमा अनुसन्धानकर्ताहरूले जन्मको क्रमले व्यक्तित्व फरक पार्छ भन्नेबारे कुनै निष्कर्ष निकाल्न सकेका छैनन्। तर त्यसको अर्थ जन्म क्रमको कुनै महत्त्व छैन भन्ने होइन। यसले निश्चित परिवार र संस्कृतिमा ठूलो भूमिका खेल्न सक्छ।

लाइपजिग विश्वविद्यालय, जर्मनीमा कार्यरत व्यक्तित्व अनुसन्धानकर्ता जुलिया रोहरर भन्छिन्, "मलाई लाग्छ मानिसहरूमा भएका कैयौँ मान्यताहरू पुराना भएका छन् वा ती मान्यताहरू ठिक हुन् भन्ने आधार यथेष्ट छैनन्।"

उदाहरणका लागि 'जेठी छोरी सिन्ड्रोम' असाध्यै ठूलो कुरा हो - निश्चित रूपमा, महिलाहरूको भूमिका धेरै प्रकारको हुने गर्छ र उनीहरूबाट धेरै देखभालको अपेक्षा राखिन्छ।

उनी भन्छिन्, "पहिले जन्मिनेहरूले पछि जन्मिनेको देखभाल गर्नुपर्ने अपेक्षा राखिन्छ।"

"केही महिलाको यस्तै अनुभव हुन सक्छ तर अरूका लागि फरक पनि हुन सक्छ किनभने हरेक परिवार फरक हुन्छ।"

अर्को शब्दमा भन्दा सबै जेठी छोरीले देखभालको काम गर्नै पर्छ भन्ने होइन तर केहीका लागि जेठी छोरी सिन्ड्रोम सत्य साबित हुन पनि सक्छ किनभने उनीहरू आफ्ना भाइबहिनी देखभाल गर्दै हुर्किएका हुन्छन् र त्यो अनुभवले उनीहरूको व्यक्तित्व बनेको हुन्छ।

रोहरर र उनका सहकर्मीहरूले जन्म क्रमले "व्यक्तिको व्यक्तित्वमा स्थायी प्रभाव नपर्ने" पाए। उनीहरूले यूके, अमेरिका र जर्मनीका हजारौँ व्यक्तिसँग गरिएको तीन ठूला डेटासेटमा आधारित सर्भेहरूको अध्ययन गरेर त्यसो भनेका हुन्। तर उक्त अध्ययनले जन्म क्रम र बुद्धिमत्ताबारेको यस अघिका निष्कर्षलाई नै बल पुर्‍यायो।

बुद्धिमत्ता एउटा जटिल कुरा हो र अध्ययन क्रममा लिइएका परीक्षणहरूमा गरिने प्रदर्शनका आधारमा र आफैँ रिपोर्ट गरेको बुद्धिमत्ताको मात्रै उक्त अध्ययनले मापन गरेको हो। "हामीले गरेको अध्ययनमा पहिलो बच्चाको रूपमा जन्मनेहरूले वस्तुनिष्ठ रूपमा मापन गरेको परीक्षामा उनीहरूले उच्च अङ्क पाउने पुष्टि भयो र स्व रिपोर्ट गरेको बुद्धिमत्ताबारे पनि त्यस्तै पाइयो" रोहरर र उनका सहकर्मीले अध्ययन रिपोर्टमा लेखेका छन्। अघिल्ला शोधहरूमा "बुद्धि परीक्षणमा पहिलो बच्चा जम्नेपछिका बच्चाहरूले केही कम क्षमता प्रदर्शन गर्ने" लेखिएको थियो।

जन्म क्रम र व्यक्तित्वबारे रोहरर भन्छिन्- कुनै व्यक्तिको अनुभवबारे हेर्नु अर्थपूर्ण हुन्छ तर संसारभरि एउटै प्रवृत्ति पाइन्न। "यसले एउटा स्थान दिएको हुन्छ जहाँ तपाईँले तपाईँको जस्तै परिस्थितिमा हुर्केका व्यक्तिहरूसँग अनुभव शेअर गर्न सक्नुहुन्छ जस्तो कि जेठी छोरी हुनुको लक्षण जस्ता कुरा। संसारभरको अनुभव एउटै हुन्छ भन्ने नमानीकनै त्यसबारे कुरा गर्नु कुनै गलत होइन।"

डामिएनको सहमति छ: "व्यक्तित्वमा एकदम व्यवस्थित रूपमा फरक हामी पाउँदैनौँ तर त्यसको अर्थ खास परिवार वा संस्कृतिमा जन्मका आधारमा व्यक्तित्व फरक हुँदैन भन्ने पनि होइन।"

उदाहरणका लागि यूकेमा ऐतिहासिक रूपमा पुरुषलाई महत्त्व दिने गरी जेष्ठाधिकार संस्कृति छ त्यसको अर्थ हो जेठो बच्चा नै परिवारको सम्पत्ति, जग्गाजमिन वा उपाधि विरासतका रूपमा पाउनेमा सबभन्दा अगाडि हुन्छन्।

सन् २०१३ मा मात्रै 'सक्सेसन टु द क्राउन एक्ट'ले राजशाहीभित्र जेष्ठाधिकार हटायो र जेठी छोरी भए पनि त्यसमा अधिकार हुने बनायो। जेष्ठाधिकार आश्चर्यजनक रूपमा व्यापक र निरन्तर छ: एचबीओको व्यङ्ग्यात्मक हास्य नाटक 'सक्सेसन'मा एक परिवारद्वारा मिडिया साम्राज्यमा कब्जा गर्नेबारे एक पात्र अन्तिम भागमा चिच्याएर भन्छन् - म सबभन्दा जेठो छोरा हुँ। उनी आफ्नो जन्म क्रमका कारण उनका बाबुको सीईओ पद सम्हाल्ने अधिकार दिइनुपर्ने तर्क गर्छन्। (उनी वास्तवमा दोस्रो छोरा हुन् तर त्यसबारे हामी यहाँ चर्चा गर्दैनौँ।)

डामिएन भन्छिन् "यदि सामाजिक अभ्यास जन्म क्रमका आधारमा गर्ने गरिएको छ भने निश्चित रूपमा परिणाम जन्म क्रममा आधारित हुन्छ।

उमेर भनेको सङ्ख्या मात्रै हो?

अनुसन्धानकर्ताहरू भन्छन् उमेरका आधारमा प्राप्त अनुभवलाई जन्मक्रमका आधारले बनेको व्यक्तित्व वा बानी बेहोरा भनेर बुझ्ने गरिएको पनि हुन सक्छ।

यस अघिको जेठी 'जिम्मेवार व्यक्ति'को उदाहरण लिउँ त, डामिएन भन्छिन् : "मानिसको उमेर बढ्दै गएपछि उनीहरू बढ्ता जिम्मेबार र आत्म नियन्त्रित बन्दै जान्छन्। र पहिले जन्मेको बच्चाको उमेर पहिले नै बढ्ने गर्छ त्यसैले आफ्ना बच्चाहरू हुर्कँदै जाँदा जेठा बच्चाहरू बढ्ता जिम्मेदार लाग्छन्।"

अर्को कुरा मानिसहरूको उमेर बढ्दै जाँदा व्यक्तिहरू आफैँ सचेत बन्दै जान्छन्, उनी थप्छिन्- त्यसैले दोस्रो बच्चा चाहिँ बढ्ता सामाजिक वा कम स्वकेन्द्रित देखिन सक्छन् किनभने १० वर्षे बच्चा बढ्ता खुशी र आफैँमा मस्त देखिन सक्छन् जबकि १४ वर्षे बच्चाको समस्या सबै सबै कुरामा देखिन सक्छ किनभने उनीहरूबीच फरक फरक चुनौती छन्।

बच्चाहरूको मित्र वृत्तले पनि फरक पार्छ। थुप्रै अध्ययनले देखाएका छन् कि अपराधी मित्रहरू छन् भने आपराधिक व्यवहार देखिन सक्छ - उदाहरणका लागि जेठो बच्चाका मित्र मण्डली कस्ता छन् त्यसकै आधारमा उ नियम तोड्ने खालको बन्न सक्छ।

चलाख भाइबहिनी

यस अघि भनिए झैँ अहिलेसम्म आएको निष्कर्ष के हो भने जन्म क्रमबारेको अनुसन्धानबाट जन्म क्रम र बुद्धिमत्ताबारे कुनै सम्बन्ध छ भन्ने होइन। विभिन्न परीक्षामा पहिले जन्मिएकाहरूले पछि जन्मिएकाले भन्दा अलि धेरै नम्बर ल्याउँछन्।

"धेरैजसो मौखिक बुद्धि परीक्षण र परिणाममा यसको असाध्यै कम प्रभाव हुन्छ," भन्छिन् डामिएन। साथै "यदि तपाईँले दोस्रो पटक परीक्षा दिँदै हुनुहुन्छ भने त्यो दिन वा मुडमा आधारित भएर पनि नम्बर थप घट हुन सक्छ जस्तो कि त्यो बिहान तपाईँले के खानु भयो वा कति घण्टा सुत्नुभयो भन्ने कुराको प्रभाव पर्न सक्छ।

जीवनका अघिल्ला वर्षहरूमा संज्ञानात्मक उत्प्रेरणाबाट पनि यसबारे विवरण निकाल्न सकिन्छ।

डामिएन भन्छिन्, एक घरमा एक बच्चाका लागि कति जना वयस्क छन् र जति बढी वयस्क छन् उनीहरू त्यति बढी परिपक्व भाषा र शब्दावलीमा परिचित हुने छन्।

तर एउटा परिवारमा धेरै दाजुभाइ दिदीबहिनी भए भने संज्ञानात्मक उत्प्रेरणा घटन सक्छ।

त्यसैले उनीहरू आनुवंशिक रूपमा अधिक बुद्धिमान हुन् भन्ने होइन वा उनीहरूको सम्भावना धेरै छ भन्ने होइन कि उनीहरू परीक्षणमा उच्च तहको मौखिक आईक्यूमा धेरै नम्बर ल्याउन सक्छन् किनभने उनीहरूले धेरै शब्द जानेका छन् किनभने धेरै वयस्कहरूले उनीहरूसँग कुरा गरेका हुन्छन्।

दुई बच्चा भएपछि बाबुआमाले उनीहरूलाई पढेर सुनाइदिने समय दुई बच्चाको अन्तरक्रिया व्यवस्थापन गर्नमा खर्च हुन्छ।

दाइले भाइलाई कुरा सिकाउँछन् भने पनि तिनले थप संज्ञानात्मक श्रोत उपयोग गर्छन्।

अनौठो कुरा यो छ कि - बुद्धिमत्ताको प्रवृत्ति संसारभर एउटै छैन। विकसित देशको तथ्याङ्क विकासशील देशको तथ्याङ्कभन्दा फरक छ। इन्डोनेसियामा पछाडि जन्मेको बच्चालाई अघिल्लो बच्चाभन्दा शिक्षाको धेरै अवसर हुन सक्छ किनभने ठूला बच्चाहरूले कमाएर परिवारमा आर्थिक रूपमा योगदान गर्न थालेपछि परिवारको आर्थिक समस्या अलि सजिलो हुँदै जान्छ त्यसैले।

डामिएन र उनका सहकर्मीका अनुसार जन्म क्रमको असर करिअरमा असाध्यै कम हुन्छ। विगतमा वैज्ञानिकहरूमा एउटा विचार प्रचलित थियो कि जेठा बच्चाहरू एकेडेमिक वा वैज्ञानिक करिअरमा जाने र साना बच्चा बढ्ता सृजनात्मक हुने हुन्छन्। तर डामिएनले त्यसको विपरीत पाइन्। उनको अध्ययनमा अमेरिकामा सन् १९६० तिरका हाइस्कूलका छात्रहरूको तथ्याङ्क हेर्दा र ६० वर्षपछि तिनै सहभागीको सर्भे गर्दा जेठा बच्चाहरू बढी रचनात्मक करिअरमा रहेको पाइयो।

एकमात्र बच्चा स्वार्थी ?

दाजुभाइ भएका बच्चाभन्दा एक मात्र बच्चाले धेरैजसो स्वार्थी भएको भन्ने पूर्वाग्रह भोग्नुपर्छ किनभने उनीहरूले आमाबाबुको ध्यान खिच्न सङ्घर्ष गर्नुपर्दैन। पछिल्ला अध्ययनले भने त्यस्तो नहुने देखाउँछ र एक्लै हुर्किँदा स्वार्थी हुने वा आत्म केन्द्रित हुने देखाउँदैन। र अन्य अनुसन्धानले पनि एक्लो बच्चाको सामाजिक व्यवहार दाजुभाइ वालाको जस्तो व्यापक खालको हुँदैन तर उमेर बढ्दै जाँदा त्यस्तो बानी घट्दै जान सक्ने देखाउँछ।

जन्मक्रम अनुसन्धानले एक मात्र बच्चालाई अनुसन्धानमा सहभागी बनाएको छैन किनभने दाजुभाइ दिदीबहिनी भएका बच्चासँग उनीहरूको तुलना गर्न मिल्दैन।

तर ब्रोक युनिभर्सिटी क्यानडामा मनोविज्ञानका प्रोफेसर माइकल एस्टन र क्यालगरी क्यानडाका प्रोफेसर किबीओम लीले गरेको एक अनुसन्धान रिपोर्ट अनुसार दाजुभाइ वाला र एकल बच्चाको व्यक्तित्व तुलना गर्न सम्भव छ।

उनको अध्ययनले केही नयाँ र रमाइलो परिणाम प्रस्तुत गर्‍यो। त्यसले व्यक्तित्व जन्म क्रम र दाजुभाइको सङ्ख्याबारे ७ लाख वयस्कहरूलाई अनलाइन सर्भे गरेको थियो अर्कोमा ७० हजारको अध्ययन गरिएको थियो।

बीचमा जन्मेका र अन्त्यमा जन्मेका बच्चाहरूले "इमानदारिता - नम्रता" र मिलनसारीताको स्केलमा उच्च अङ्क पाएका थिए।

इमानदारी-नम्रताले व्यक्ति कति इमानदार र नम्र छ भन्ने मापन गर्छ। उच्च अङ्क पाउनेले अरूको शोषण गर्ने वा नियम तोड्ने वा आफ्नो हक जमाउने कुरा गर्दैन। कम अङ्क पाउनेले नियम तोड्ने हुन सक्छ वा उसमा स्व-महत्त्वको अनुभव तीव्र हुन सक्छ। मिलनसारीताको स्केलमा उच्च अङ्क पाउने व्यक्ति अरूलाई माफ गर्न सक्ने र अरूलाई न्याय दिने कुरामा लचक हुने, सन्तुलित र सम्झौता गर्न इच्छुक हुन सक्छ। जबकि कम अङ्क पाउने व्यक्ति जिद्दी अरूप्रति रिस राग राख्ने, आक्रोशित र अरूप्रति आलोचक हुन्छ।

"खासगरी बराबर बच्चा सङ्ख्या भएका परिवारमा यी फरकहरू आकारमा निकै साना थिए," एसटन र लीले इमेलमा भने। यसको विपरीत एक मात्र बच्चा भएको परिवार र धेरै बच्चा भएका परिवारका व्यक्तिमा उल्लेखित विषयमा निकै ठूलो अन्तर थियो ।

मेरो प्रश्न छ- के जन्म क्रमको प्रभाव केबल एउटा 'जोम्बी' सिद्धान्त हो- एक अवधारणा जुन गलत छ तर हराएर जान इन्कार गर्छ?रोहरर सहमत छैनन्।

"त्यसलाई जोम्बी सिद्धान्त भन्नेबारे म निश्चित छैन," उनी भन्छिन्। " वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, यसबारे लेखिएका कुराहरू निकै अगाडि बढिसकेका छन्।"

कुनै दिन हामीलाई जेठी छोरी हुनुको महत्त्व के हुन्छ भन्ने कुराको स्पष्ट जबाफ मिल्न सक्छ। त्यस बेलासम्म म मेरी बहिनीलाई यही विश्वास दिलाइरहने छु कि म जन्मगत रूपमा उनीभन्दा धेरै समझदार छु।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।