आर्क्टिक क्षेत्रमा चीनले जासुसी गरिरहेको प्रमाण भेटियोः क्यानडा

क्यानडाको सेनाले हालै आर्क्टिक क्षेत्रमा चीनले "जासुसी गर्ने प्रयास गरेको" प्रमाण भेटिएको दाबी गरेको छ।

सुरुमा क्यानडाको पत्रिका द ग्लोब एन्ड मेलले त्यसबारे समाचार प्रकाशन गरेको थियो। त्यसले पृथ्वीको सुदूर उत्तरमा चिनियाँ गतिविधिमाथि प्रश्न उठाइदिएको छ।

केही दिनअघि अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरी अमेरिका र क्यानडाको आकाशमा उडेको एउटा सन्दिग्ध चिनियाँ जासुसी बलुन खसालिदिएको थियो। अहिले क्यानडाको सेनाले चीनले आर्क्टिक क्षेत्रमा निगरानी गर्ने प्रयास गरेको बताएको हो।

क्यानडामा भएको निर्वाचनमा हस्तक्षेप गरेको आरोप पनि चीनलाई लागेको छ।

यद्यपि चीनले त्यसको खण्डन गरिसकेको छ।

के भेट्यो क्यानडाले?

क्यानडाको सेनाले जल, स्थल र आकाशबाट देशलाई हुनसक्ने खतरा पहिचान गर्न ‘अपरेशन लिम्पड’ नामक अभियान सञ्चालन गरेको छ।

उक्त अभियानका क्रममा चीनले निगरानी गर्न परिचालन गरेका पानीमा तैरिने उपकरणहरू गत शरद्‌याममा समुद्रमा फेला परेको उसको दाबी छ।

क्यानडाको डिपार्टमन्ट अफ न्याश्नल डिफेन्सका प्रवक्ता डेनियल ल बुथिएले एउटा वक्तव्यमा भनेका छन्, "चीनले क्यानडाको आकाश र समुद्री क्षेत्रमा निगरानी गर्न हालै गरेका प्रयासबारे सेनालाई पूर्ण जानकारी छ।"

उनले चीनले "दोहोरो उद्देश्य भएका प्रविधि"को प्रयोग गरेर त्यसो गरेको दाबी गरेका छन्।

अर्थात् चीनले त्यसबाट प्राप्त विवरण अनुसन्धान र सैन्य निगरानी दुवैका लागि प्रयोग गर्न सरक्छ।

आर्क्टिक क्षेत्रमा चीनको चासो कस्तो?

डेनियल ल बुथिएले सेनाले सन् २०२२ देखि नै क्यानडाली भूभागमा निगरानी गर्ने त्यस्ता प्रयासलाई रोकेको बताए। तर उनले त्यसबारे विस्तृत विवरण दिएनन्।

चीनले आर्क्टिक क्षेत्रमा लामो समयदेखि चासो देखाउँदै आएको छ।

उसले विगत दुई दशकमा त्यस क्षेत्रमा ३३ पटक उच्चस्तरीय व्यक्तित्वहरू पठाएको छ। चीन धेरैवटा प्रमुख आर्क्टिक संस्थामा सहभागी हुँदै आएको छ।

उसले प्राय: पृथ्वीको उत्तरी क्षेत्रमा अनुसन्धानका लागि टोलीहरू पठाउने गरेको छ।

जलवायु परिवर्तनका कारण बरफ पग्लिने क्रम बढेको अवस्थामा चीनले यस क्षेत्रबाट युरोपसम्म जानका लागि छोटो व्यापारिक मार्ग खोल्ने आशा राखेको छ।

त्यसका साथसाथै त्यहाँ उपलब्ध विभिन्न प्राकृतिक स्रोतमा पनि उसको चासो छ।

अन्य देशको चासो

आर्क्टिकमा सैन्य गतिविधिका लागि सर्वेक्षण गर्ने प्रयासका रूपमा उक्त क्षेत्रमा अनुसन्धान गर्ने चीनको चासो दोबर भएको विज्ञहरूको धारणा छ।

त्यस क्षेत्रमा हालसम्म थाहा नभएका प्राकृतिक स्रोतप्रति आर्क्टिक देशहरू अमेरिका, क्यानडा, फिनल्यान्ड, रुस, नर्बे, स्वीडन आदिको पनि उत्तिकै चासो छ।

"यो संसारको एउटा यस्तो भाग हो त्यसलाई अन्य अक्षांशमा जस्तै नक्साङ्कन गर्न र अन्य क्षेत्रको जस्तै विवरण प्राप्त गरेर बुझ्न सकिएको छैन," सेन्टर फर इन्टरन्याश्नल गभर्नन्स इनोभेशनका वरिष्ठ शोधार्थी रोबेर्टो माजोलिनले भने। उनी क्यानडाका सुरक्षा निकायबाट सेवानिवृत्त भएका वरिष्ठ अधिकारी हुन्।

उनका भनाइमा क्यानडाले ऐतिहासिक रूपमा आर्क्टिकलाई खतराको कम सम्भावना भएको सुरक्षित क्षेत्रको रूपमा हेरेको छ।

तर त्यस क्षेत्रमा रुस र हालै चीनले देखाएको चासोले त्यसमा परिवर्तन गरिदिएको छ।

उनका अनुसार क्यानडाले आफ्नो सुरक्षा र सैन्य रक्षाको कुरालाई दृष्टिगत गरेर विभिन्न गतिविधिमाथि निगरानी गर्नुपर्ने अवस्था आएको छ।

के भन्छ क्यानडा?

बुधवार क्यानडाकी विदेशमन्त्रीले सीएनएनसँग आफूले चीनलाई “विध्वंशक” शक्तिको रूपमा हेरेको बताएकी थिइन्।

उनले क्यानडाको हवाईक्षेत्रको सुरक्षा र आर्क्टिकको स्वाधीनताका लागि अमेरिकासँग मिलेर काम गर्ने बताइन्।

क्यानडाको सङ्घीय निर्वाचनमा चिनियाँ हस्तक्षेप भएको भनेर त्यहाँ छानबिन भइरहेका बेला यो नयाँ प्रकरणले चीन उत्तर अमेरिकामा पुन: एक पटक विवादमा आएको छ।

यद्यपि क्यानडामा रहेका चिनियाँ अधिकारीहरूले त्यहाँको निर्वाचनमा आफूहरूले कुनै हस्तक्षेप नगरेको बताउँदै आएका छन्।

यसै महिनाको सुरुमा चिनियाँ जासुसी बलुनहरू अमेरिका तथा क्यानडाको आकाशमा उडेका भन्ने खबरहरू आएका थिए।

आकाशमा उडिरहेका कतिपय सन्दिग्ध वस्तुलाई अमेरिकाले सैन्य विमान प्रयोग गरेर खसालेको थियो।

यद्यपि चीनले ती बलुन जासुसीका लागि नभई अनुसन्धानका लागि प्रयोग भएको दाबी गर्दै क्यानडा र अमेरिकाले लगाएको आरोपको खण्डन गर्दै आएको छ।