तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरी खसाल्यो चौथो सन्दिग्ध ‘मानवरहित’ वस्तु
अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा नचिनिएको ‘मानवरहित वस्तु’लाई खसालेको छ।
अमेरिकाले यसै महिनाभित्र गरेको यस्तो खालको यो चौथो सैन्य कारबाही हो।
राष्ट्रपति जो बाइडेनले आइतवार दिउँसो क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमा त्यो उडिरहेको वस्तु खसाल्न आदेश दिएका थिए।
पेन्टागनको वक्तव्यमा त्यो अज्ञात वस्तुले २० हजार फिट (६,१०० मिटर) उचाइमा यात्रा गर्दा व्यावसायिक हवाई उडानलाई असहज बनाएको हुनसक्ने जनाएको छ।
उसका अनुसार त्यो वस्तुलाई शनिवार पहिलो पटक मोन्टनाका संवेदनशील क्षेत्रमाथि उडिरहेको पत्ता लगाइएको थियो।
चौथो सन्दिग्ध वस्तु
त्यसलाई रक्षा अधिकारीहरूले मानवरहित, अष्टभुज आकारको र सैन्य खतरा नभएको वस्तुका रूपमा वर्णन गरेका छन्।
उक्त वस्तुलाई एफ-१६ लडाकु विमानले त्यहाँको समयअनुसार आइतवार दिउँसो २ बजेर ४२ मिनेटमा खसालेको हो।
यो घटनाले उत्तर अमेरिकामा यसै महिनाभित्र खसालिएका निकै माथिको उचाइमा उडाइएका वस्तुहरूबारे थप प्रश्नहरू खडा भएका छन्।
अमेरिकी महाद्वीपमा धेरै दिन घुमिसकेपछि एउटा सन्दिग्ध जासुसी बलुनलाई साउथ क्यारोलाइनाको तटमा फेब्रुअरी ४ मा पहिलो पटक खसालिएको थियो।
अधिकारीहरूले पछि त्यो चीनमा बनाइएको र जासुसीका लागि प्रयोग गरिएको बताएका थिए।
तर चीनले उक्त वस्तुलाई जासुसीका लागि प्रयोग गरिएको अस्वीकार गर्दै त्यो मौसम अनुगमन गर्ने उपकरण भएको बताएको थियो।
उक्त घटना र त्यसपछिका तनावपूर्ण आरोप प्रत्यारोपले वाशिङ्टन र बेइजिङबीच तनाव बढाएको छ।
कस्ता कस्ता छन् ती वस्तु?
त्यसपछि अमेरिकी लडाकु जेट विमानहरूले थप तीनवट उच्च उचाइमा देखा परेका उस्तै खाले वस्तुहरू खसालेका छन्।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले अलास्कामा एउटा वस्तुलाई खसाल्न आदेश दिएका थिए।
शनिवार उत्तर-पश्चिमी क्यानडामा त्यस्तै वस्तुलाई खसालिएको थियो।
अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान गरिएको सार्वजनिक रूपमा बताएका छैनन्।
अमेरिका र क्यानडा दुवैले अहिले पनि ती वस्तुका अवशेषहरू प्राप्त गर्नका लागि काम गरिरहेका छन् तर अलास्कामा खोजीका लागि त्यहाँको मौसमी अवस्थाले साथ दिएको छैन।
"ती वस्तुहरू हेर्दा मिल्दाजुल्दा जस्ता थिएनन् र [४ फेब्रुअरी] को बलुन भन्दा धेरै सानो थिए अनि हामी ती वस्तुका अवशेष प्राप्त नगरेसम्म निश्चित रूपमा ती वस्तुबारे केही पनि भन्न सक्दैनौँ," ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी प्रवक्ताले भने।
त्यस्ता वस्तु कहिले कहाँ खसालियो?
- फेब्रुअरी ४: अमेरिकी सेनाले साउथ क्यारोलाइनाको तटमा शङ्कास्पद जासुसी बलुनलाई खसाल्यो। त्यो अमेरिकामा धेरै दिनसम्म उडेको थियो र अधिकारीहरूका भनाइमा त्यसलाई चीनबाट पठाइएको थियो। उसले संवेदनशील क्षेत्रहरूको निगरानी गरिरहेको थियो।
- फेब्रुअरी १०: अमेरिकाले उत्तरी अलास्कामा अर्को वस्तुलाई खसाल्यो। अधिकारीहरूका अनुसार त्यसमा कुनै नियन्त्रणको प्रणाली थिएन।
- फेब्रुअरी ११: एउटा अमेरिकी लडाकु जेटले क्यानडाको युकन क्षेत्रमा "उच्च उचाइमा उडिरहेको वस्तु"लाई खसाल्यो। त्यो पहिलो बलुनभन्दा बेलनाकार र सानो भएको बताइएको थियो।
- फेब्रुअरी १२: अमेरिकी जेटले ह्युरन ताल नजिकैको चौथो उच्च उचाइमा उडिरहेको वस्तुलाई "सावधानी अपनाएर" खसालेको जनाइएको छ।
बलुन नै भएको दाबी
त्यसअघि आइतवार शीर्ष डेमोक्र्याट नेताहरूले शुक्रवार र शनिवार खसालिएका वस्तुहरू पनि जासुसीका लागि प्रयोग गरिएका बलुनहरू रहेकोमा गुप्तचर अधिकारीहरू विश्वास्त रहेको बताएका थिए।
"हो, उनीहरू विश्वास गर्छन् ती [बलुनहरू] थिए," सिनेटका डेमोक्र्याट नेता चक शुमरले एबीसी न्यूजलाई भने।
उनका भनाइमा ती साउथ क्यारोलाइनाको तटमा खसालिएको पहिलो बलुभन्दा "धेरै साना" थिए।
"… केही महिना अघिसम्म हामीलाई यी बलुनबारे थाहा थिएन," उनले भने।
उनले ती बलुनका टुक्राहरूलाई एक बनाएपछि के भइरहेको थियो भन्ने पत्ता लाग्ने उनको भनाइ छ।
रिपब्लिकनहरूले चाहिँ बाइडन प्रशासनले समयमै ती वस्तुहरूलाई खसाल्न नसकेको भन्दै आलोचना गरेका छन्।