अमेरिकी लडाकु विमानले खसालेका वस्तुको सम्बन्ध ‘चिनियाँ जासुसीसँग भएको सङ्केत पाइएन’

अमेरिकी सेनाले गत सप्ताहान्त लडाकु जेट विमानहरू प्रयोग गरेर आकाशबाट खसालेका तीनवटा सन्दिग्ध वस्तुको “चिनियाँ जासुसी”सँग सम्बन्ध भएको कुनै सङ्केत नपाइएको ह्वाइट हाउसले जनाएको छ।

ती वस्तुहरू "व्यावसायिक वा अनुसन्धान गर्ने संस्थाहरूसँग सम्बन्धित हुनसक्ने र ती हानिकारक नहुनसक्ने" राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले बताए।

अमेरिका र क्यानडाका अधिकारीहरूले अहिलेसम्म खसालिएका ती तीनवटै वस्तुको कुनै अवशेष फेला पार्न सकेका छैनन्।

बेइजिङको आरोप

बेइजिङले यसअघि अमेरिकालाई "हिंसालाई प्रेरित गर्ने खालको चर्को प्रतिक्रिया" दिएको आरोप लगाएको थियो।

अमेरिकाले यसै महिनाको सुरुमा साउथ क्यारोलाइनाको तटमा एउटा चिनियाँ बलुन खसालेको थियो।

चीनले जासुसीका लागि उक्त बलुन प्रयोग गरेको अमेरिकी आरोप थियो। तर चीनले त्यसलाई अस्वीकार गर्दै त्यो केवल मौसम अनुगमन गर्ने कार्यका लागि प्रयोग भएको बताएको थियो।

मङ्गलवारको दैनिक पत्रकार सम्मेलनमा कर्बीले आकाशबाा खसालिएका सन्दिग्ध वस्तुका अवशेषहरू फेला पारेर तिनको विश्लेषण नभएसम्म ती कुन उद्देश्यले वा कहाँबाट आएका थिए भन्ने निर्धारण गर्न गाह्रो हुने बताए।

अमेरिकी भनाइ

उनले भने, “हामीले यी तीनवटा वस्तु पीआरसी [जनवादी गणतन्त्र चीन] को जासुसी कार्यक्रमको हिस्सा थिए भन्ने कुनै सङ्केत पाएका छैनौँ वा त्यस्तो कुरालाई स्पष्ट औँल्याउन सक्ने केही देखेका छैनौँ ।"

अमेरिकी गुप्तचर निकायहरूले ठानेको भन्दै पहिले आएका कुराबारे उनले स्पष्ट गर्दै भने, "ती केवल व्यावसायिक वा अनुसन्धानसंस्थाहरूसँग सम्बन्धित बलुनहरू हुनसक्छन्। त्यसैले ती हानिरहित हुनसक्छन्।"

तर हालसम्म कुनै पनि कम्पनी, संस्था वा सरकारले ती वस्तुहरू आफूले छाडेको दाबी नगरेको उनले बताए।

‘पहिलो प्रहार असफल’

सबैभन्दा पछिल्लो कारबाहीमा अमेरिकी एफ-१६ लडाकु विमानले ह्यूरन तालमाथि उडिरहेको वस्तुमा साइडविन्डर क्षेप्यास्त्र प्रहार गरेको थियो। तर पहिलो क्षेप्यास्त्रको निसाना चुकेको एक उच्च अमेरिकी सैन्य अधिकारीले पुष्टि गरेका छन्।

मङ्गलवार ब्रसल्स भ्रमणका क्रममा मार्क मिलीले भने, "पहिलो प्रहार सफल भएन। दोस्रोले त्यसमा प्रहार गर्‍यो ।"

हवाईक्षेत्रमा पनि अन्य कुनै क्षति र असर नपर्नेगरी क्षेप्यास्त्र प्रहार गर्ने नीतिअनुसार उक्त वस्तुलाई ह्यूरन तालमा खसालिएको उनले बताए।

चिनियाँ विदेश मन्त्रालयको भनाइ

यसैबीच चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकी प्रतिक्रियाको आलोचना गरेका छन्।

"अमेरिकामा नै धेरैले सोधिरहेका छन्- 'यस्तो महँगो कार्यले अमेरिका र यसका करदाताहरूलाई के फाइदा पुग्छ?'" वाङ वेन्बिनले मङ्गलवार भने।

फेब्रुअरी ४ मा अमेरिकाले खसालेको चिनियाँ जासुसी बलुन भनिएको वस्तुको सेन्सर सोमवार एट्लान्टिक महासागरमा भेटिएको छ र त्यसलाई एफबीआईले विश्लेषण गरिरहेको बताइएको छ।

यूएस नोर्दन कमान्डले साउथ क्यारोलाइनाको तटबाट "सबै प्रमुख सेन्सरहरूसहित महत्त्वपूर्ण अवशेषहरू" फेला पारेको जनाएको छ।

त्यसबारे अमेरिकी सिनेटलाई मङ्गलवार सैन्य अधिकारीहरूले त्यसबारे एउटा गोप्य जानकारी दिएका थिए।

सिनेटका नेता चक शुमरले उक्त बलुन किन पहिले नै पत्ता लागेन भन्नेबारे सिनेटले अध्ययन सुरु गर्ने बताएका छन्।

यसैबीच रोमानियाले युरोपेली आकाशमा प्रवेश गरेको त्यस्तै उडिरहेको नचिनिएको वस्तुलाई खसाल्न आफ्ना लडाकु विमानहरू उडाएको थियो।

तर त्यहाँको रक्षा मन्त्रालयले पाइलटहरूले त्यस्तो वस्तुलाई पत्ता लगाउन असमर्थ भएको र आधा घण्टापछि खोजी अभियान छाडेको जनाएको छ।