तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘बोनसमा जिन्दगी’ पाएका एक युवा जो कान सुन्दैनन् तर लोकसेवामा एक नम्बरी
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
विकट कालिकोट तिलागुफाका लोकेन्द्र न्यौपानेले आफ्नो जिन्दगी पुरानै लयमा फर्कने आशा मारिसकेका थिए। २०७६ सालको कृष्ण जन्माष्टमीका दिन, एक्कासि दुवै कानले सुन्न छोडेपछि उनले ठानेका थिए- “अर्कै ग्रहमा पुगेँ। अब यो कोलाहलबाट हराउनेछु। म बाँचे के? नबाँचे के?”
तर, आत्मविश्वास र आफ्नाहरूले दिलाएको भरोसाका कारण उनको जीवनमा जादुमयी परिवर्तनहरू भयो।
यस वर्षको सुरुवातमा सङ्घीय लोकसेवाले लिएको परीक्षामा उनले खुलातर्फबाट पहिलो नम्बरमा नाम निकाले। नेपाल कृषि सेवा भेटेरिनरी समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको पशु चिकित्सक भए। अहिले उनी कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका डाक्टर हुन्।
यहाँसम्म आइपुग्दा उनले भोगेको उतारचढावको ग्राफ भने असामान्य छ।
आवाज हराएको त्यो क्षण
२०७६ सालको जेठ महिनामा न्यौपानेले चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिट्यूटबाट पशु विज्ञानमा स्नातक तहको पढाइ सके। त्यसपछि उनले त्यहीँ पढाउन थाले।
सोही वर्ष भदौ ६ गते बिहान कृष्ण मन्दिर पुगे। पूजा गरे। त्यसपछि सधैँझैँ कलेजतिर सोझिएका उनले सोचेका थिएनन्- त्यहाँबाट उनको यात्रा कोठाको साटो अस्पतालको शय्यातर्फ मोडिन्छ भन्ने।
“म आस्तिक हुँ। भगवानको पूजा गरेर हिँडेकाले बेग्लै ऊर्जा महसुस गरेको थिएँ। कक्षामा पढाइ राख्दासम्म सबै कुरा सामान्य नै थियो। तर अचानक सन्नाटा छायो,” उनले आफ्नो जीवनमा आएको अप्रत्याशित मोडबारे सुनाए।
कसैले पछाडिबाट कुममा कोट्याएपछि आफू झस्किएको उनी सम्झन्छन्। सहकर्मी रहेछन् जसले केही भनिरहेका थिए तर न्यौपानेले सुनेका थिएनन्।
“टीभी म्युट गरेर हेर्दा कस्तो हुन्छ? ठ्याक्कै त्यस्तै।“
साथीहरूको सहयोगमा नारायणी अस्पताल हान्निएका न्यौपानेलाई त्यहाँबाट चितवन मेडिकल कलेज पठाइयो। विज्ञ डाक्टरले सेन्सोरिन्यूरल हेअरिङ लस (एसएनएचएल) पहिचान गरे।
सामान्यतया कान र मस्तिष्क जोड्ने नशा चुँडिएपछि त्यस्तो समस्या देखिने बताउँछन् नाक/कान/घाँटी विशेषज्ञ डा. काशीराज ज्ञवाली। उनका अनुसार अचानक एसएनएचएल हुनुको कारण थाहा हुँदैन।
”समयमै उपचार गर्दा केहीको श्रवण शक्ति फर्कन्छ भने कतिपय अवस्थामा सुन्ने क्षमता सधैँका लागि गुम्छ,“ उनले भने।
डाक्टरले भनेजस्तै भयो। भदौ ७ गते बिहान न्यौपानेले डाक्टरको सुझाव सुने, कोठामा सँगै बोल्ने साथीको अभिव्यक्त खुसी सुने। घरमा सम्पर्क गरेर आफ्नो खबर सुनाए। दङ्ग पर्दै बुबा कर्णाखरलाई भने- ‘हजुर आउनु पर्दैन बुवा। म ठीक भएँ।’
तर, त्यो “चमत्कार” धेरैबेर टिकेन। केही घण्टामै उनले पुनः सुन्न छोडे। त्यसपछिको गन्तव्य बन्यो- काठमाण्डू।
सुसाइड नोटमा हस्ताक्षर
डाक्टरले न्यौपानेको मुहारमा केहीबेर एकटक हेरे। त्यसपछि उनका कौतूहल बुवातर्फ सोझिँदै पुनः पुष्टि गरिदिए- तपाईँको छोराले अब कान सुन्दैनन्।
केही आशा र अनेक जिज्ञासा बोकेका उनका बुवाले डाक्टरसँग लामै छलफल गरे। त्यहीँ भएर पनि त्यो कुराकानीको विषयबारे बेखबर उनले अस्पतालबाट फर्कँदै गर्दा निरस देखिएका बुबालाई सोधे- के भयो?
सुन्धारास्थित आकाशे पुलमा टक्क अडिएका बुबाले आँखाको आँसु थाम्दै कापीमा लेखेको अक्षरहरू सम्झन्छन् उनी- “कानमा मेशिन राखेर सुन्ने बनाउन मिल्छ रे। पैसा चाहिँ थुप्रै लाग्ने रैछ।”
“कति पैसा लाग्छ सोधिनँ। मैले ‘बुबा म काम नलाग्ने भएँ। मेरो उपचार गर्नुको साटो भाइ/बहिनीमा लगानी गर्नु। उनीहरूले आमा र तपाईँलाई हेर्छन्’ भनेँ। बोली नसक्दै बुबाले मलाई गमलङ्ग अङ्गालो हालेर रुनु भयो,” न्यौपानेले सुनाए।
त्यसपछि अन्योल, भय र पीडाले अति पिरोलेको उनले सुनाए।
“मनमा अनेक तर्कना आए। बाँचेर पनि के नै गर्न सक्छु र? भन्ने प्रश्न आफैलाई सोध्थेँ। अनेक उपायहरू कल्पन्थेँ। अन्त्यमा कान नै सुन्दिनँ भन्ने यथार्थले झस्काउँथ्यो।”
त्यसयता उनको कसैसँग अन्तर्क्रिया गर्ने एउटै माध्यम कापी थियो जसमा साथीभाइले उनले सोधेका प्रश्नहरूको जवाफ लेखिदिन्थे।
त्यही कापीमा उनले एक दिन आफैलाई अभिव्यक्त गरे। उनले आफ्नै “अस्तित्वमाथि प्रश्न गरेँ र सुसाइड नोट लेखेँ।”
“कान गयो, विचार गयो, जीवन जिउँदो लास जस्तो भयो।
हाँस्न पनि नसकिने, रुन पनि नसकिने, के भयो भयो।”
अपहेलित हुने, दयाको पात्र बनिने र बिस्तारै सबै टाढिने त्रासले आफूलाई गाजेको बेला उनले ”उत्पादन नदिने वृक्षलाई कसले पो सम्हालेर राखेको छ र?” लेखे र टिपोटमुनि हस्ताक्षर गरे।
जीवनको २४ वर्षसम्म स्वस्थ छोराको विचलित अवस्थाले उनका बाबुआमालाई गाह्रो बनायो। आमा धनलक्ष्मीले रुँदै सम्झाएकी थिइन्- “तिमीलाई हेर्दा मात्र पनि हामीलाई आँट आउँछ। अन्यथा कदम नचाल्नु बाबु। तिमीले हामीलाई धेरै आशा दिएका छौँ।“
आमाको आँसुले आफूलाई “गलत कदम लिनबाट रोकेको” उनको भनाइ छ।
घडेरी बेचेर उपचार
चिकित्सकको सल्लाह बमोजिम न्यौपानेको कानमा ‘ककलियर इम्प्लान्ट’ नामक उपकरण राख्ने योजना थियो। त्यसका लागि बुबा कर्णखरले ऋण जुटाए। समस्या पहिचान भएको करिब ५ महिनापछि पुस महिनामा शल्यक्रिया भयो।
देब्रे कानमा जडित चुम्बकीय उपकरण शल्यक्रिया भएको एक महिनापछि अन गरियो।
“ठप्प भएको कानमा अचानक फलाम ठोकेजस्तो आवाज सुनिन थाल्यो। कोही बोल्दा केही नबुझिने कर्कश आवाज सुनिन्थ्यो,” उनले अनुभव सुनाए।
आफ्नो उपचारमा कुल १८ लाख रुपैयाँ खर्च भएको उनी बताउँछन्।
“बुबाले आफन्त र साथीभाइसँग लिनु भएको थियो। पछि त्यो तिर्न आफ्नो जिन्दगीभरको कमाइ खर्चेर मान्मामा जोड्नु भएको घडेरी बेच्नुभयो,” उनले बुवाको व्यवहारिक कठिनाइबारे सुनाए।
केही महिना वा वर्षमा उक्त उपकरणले पूर्ण रूपमा काम गर्ने आशा बोकेर उनी सुर्खेत गए। त्यस सहर जहाँबाट उनी २०६८ सालमा इन्जिनियर बन्ने उद्देश्य बोकेर काठमाण्डू जाने बस चढेका थिए।
काठमाण्डूमा प्लस टूको पढाइ सकिएपछि उनले सम्भावना भएका विषयहरूबारे खोजे। हाल चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन होमबहादुर बस्नेतसँगको परामर्शपछि उनको रुचि पशु चिकित्सातर्फ ढल्कियो।
योजना अनुरूप पढे। पढाइ सकिनासाथ श्रवण शक्ति गुमाए। ठूलो सपना बोकेर सुर्खेतबाट हिँडेका उनी सानो मन लिएर त्यहीँ फर्किए।
त्यति बेला आफूमा “कान नसुन्ने मान्छे कहीँ काम लाग्दिनँ” भन्ने सोच हाबी भएको उनले बताए। तर, उनी त्यहाँ रहँदा कर्णाली प्रदेशले करारमा पशु चिकित्सक माग गर्यो। उनले आँट गरेर आवेदन दिए। अन्तर्वातासम्म पुगेका उनलाई लेखेरै प्रश्न सोधियो।
“मैले अन्तर्वार्ता राम्रो गरेँ। प्रश्न सोध्नेहरूले तारिफ गर्नु भएको थियो। त्यसपछि मेरो आत्मविश्वास र आँट बढ्यो,” उनले भने।
त्यही अन्तर्वार्ताको आधारमा उनी पशुपन्छी विकास निर्देशनालयका पशु चिकित्सक भए। काम सुरु गर्नुअघि त्यहाँका तत्कालीन कानुन अधिकृतले सोधेका थिए- कानमा समस्या रहेछ। गाह्रो हुन्छ कि?
“मैले सरल जवाफ दिएँ- ‘गाह्रो हुन्छ। तर हार्दिनँ।‘ मैले टाउको जुधाई जुधाई आफ्नो बाटो आफै बनाएँ।“
त्यहाँ उनले नौ महिना काम गरे। सरकारी सेवामा प्राविधिक जनशक्तिको आवश्यकताबारे बुझे। र, लोकसेवाको तयारी गर्ने उद्देश्य बोकेर चितवन फर्किए।
“त्यति बेलासम्म अलिअलि सुन्न थालेको थिएँ। आफू खुम्चिएको र अब क्षमता विकास गर्नु पर्छ भन्ने लागेपछि राम्रै जागिर छोडेँ,” उनले भने।
लोकसेवा यात्रा
२०७८ सालदेखि चितवनमा उनले पुनः पढाउने काम थाले। लोकसेवा परीक्षा दिने योजनाबारे भने उनमा द्विविधा निम्तियो। किनकि तयारी कक्षा अनलाइन सञ्चालन हुन्थ्यो। कानको समस्याका कारण त्यसरी पढेर बुझ्नु उनको हकमा सम्भव थिएन।
“प्राविधिक कुरा त ब्याचलर्समा पढेकै थिएँ तर प्रशासनसम्बन्धी धेरै कुरा कठिन हुन सक्थ्यो,“ न्यौपानेले भने।
हतोत्साहित उनलाई डा. अच्युत आचार्य र नवराज श्रेष्ठले हौसला र साथ दिए। “उहाँहरूले नोट बनाउन सिकाउनु भयो। यो पछि त्यो गर्ने भनेर निर्देशन दिनुभयो। मैले उहाँहरूको सुझाव अनुरूप स्वअध्ययन गरेँ।“
२०७८ सालकै कार्तिक महिनामा भएको लिखित परीक्षामा उनको नाम निस्कियो। दुर्भाग्यवश चैत १५ मा भएको मौखिक अन्तर्वार्ता कटाउन सकेनन्। त्यसको २० दिनपछि अर्थात् २०७९ को वैशाख ५ मा पुनः परीक्षा दिए। यस पटक खुलातर्फ पहिलो नम्बरमा उनको नाम प्रकाशित भयो।
अहिले नेपालमा कुल १,७८० पशु चिकित्सक छन्। तीमध्ये न्यौपाने विकट जिल्ला कालिकोटका पहिलो र एक मात्र पशु चिकित्सक भएको बताउँछन् नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठ।
”श्रवणसम्बन्धी अपाङ्गता भएका व्यक्ति सरकारी पशु चिकित्सक बन्नु प्रेरणादायी विषय हो,” श्रेष्ठले भने। आफ्नो यस उपलब्धि अन्य अपाङ्गता भएका मानिसहरूको लागि प्रेरणा बन्न सक्ने न्यौपाने स्वयंको विश्वास छ।
नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको पक्षधर राष्ट्र हो। नेपालको विभिन्न ऐनहरूले पनि अपाङ्गता भएका मानिसको रोजगारीको विषय सुनिश्चित गरेको छ।
तर, नेपाल सरकारको तथ्याङ्क अनुसार स्थानीय तहका सहित देशभर ९० हजारको हाराहारीमा निजामती कर्मचारी छन्। तीमध्ये करिब एक प्रतिशत मात्र मात्र अपाङ्गता भएकाहरू हुन्।
क्षमता र योग्यता भएर पनि कतिपयले अपाङ्गता भएकै कारण सरकारी सेवामा प्रवेश नगरेको हुनसक्ने न्यौपानेको बुझाई छ।
“सुरुमा म पनि त डराएको थिएँ। तर हिम्मत हार्नु हुँदैन रहेछ। प्रयास गर्नु पर्ने रहेछ,” न्यौपानेले भने।
चुनौतीहरूको सामना गर्न परिवार र साथीभाइको हौसला र स्नेह मूल मन्त्र बनेको उनको भनाई छ। यद्यपि, सरकारको साथ र सहयोग भए “कार्यसम्पादनमा शत प्रतिशत दिन सकिने” उनको बुझाई छ।
बुबाको हस्ताक्षर र जीवनसुत्र
लोकसेवाको परीक्षामा उत्कृष्ट ठहरिनुको खुसी बोकेर न्यौपाने कालिकोट गएका थिए। त्यहाँको स्थानीय विद्यालयमा शिक्षक रहेका उनका अभिभावकका लागि “आफ्नै छोरा विद्यार्थीहरूलाई देखाउने उदाहरण” बनेका रहेछन्।
“उहाँहरू बलियो नबनिदिएको भए म कमजोर हुन्थेँ र आज जहाँ छु त्यहाँ हुन्नथेँ,” उनी गौरवान्वित सुनिए।
गाईबस्तु बिरामी हुँदा होस् वा भीरबाट खसेर घाइते हुँदा कहिल्यै डाक्टरलाई नदेखाएका गाउँलेहरूसमेत उनको प्राप्तिको लागि खुसी देखिए। उनले मनमनै ठाने- “ऐया-आत्था भन्न नसक्ने वस्तुहरूका लागि खट्नुले मलाई झन् सन्तुष्टि दिनेछ।”
उनी पहिलेजस्तै प्रस्ट कान सुन्दैनन् तर शब्द र ओठको चाल मजाले ठम्याउन सक्ने भएका छन्। बोलेको कुरा भेउ पाउने छोरालाई बुबाले बधाई दिने शैली भने केही फरक रह्यो।
उनले न्यौपानेको अन्तर्क्रिया गर्ने त्यो पूरानो कापी निकाले। छोराले लेखेको सुसाइड नोटको पाना पल्टाए। त्यसको ठिक पछाडि सन्देश लेखे:
“कान गयो र के भयो विकल्प आयो,
यस्तो अवस्थाको मान्छे लोकसेवा टपर भयो,
धैर्यता नै बल हो, जस्तोसुकै अवस्थामा पनि खप्न सक्नुपर्छ। त्यसपछि दिन फर्केर आउँछ भन्ने सबुत प्रमाण।”
बुबाले यति लेखेर अन्त्यमा हस्ताक्षर गरे र कापी न्यौपानेलाई थमाए।
त्यति बेला उनलाई बुवाले भनेका थिए: ‘बोनसमा जिन्दगी पाएको छस्। खुसीसँग बिता। मर्नको लागि नबाँच्’।
“अहिले बुवाका ती शब्द नै मेरो जीवनसुत्र बनेका छन्,” डा. लोकेन्द्र न्यौपानेले भने।