बेलारुस-पोल्यान्ड सीमामा कसरी बढ्यो तनाव, अब के हुन सक्छ

पोल्यान्डको सीमामा खटिएका सैनिक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पोल्यान्डको सीमामा खटिएका सैनिक

बेलारुसी हेलिकप्टरहरूले सीमा नाघेको आरोप लगाउँदै पोल्यान्डले बेलारुससँगको सीमामा थप १०,००० सैनिक तैनाथ गरेको छ।

पोल्यान्ड सरकारले ती सैनिकहरूले बेलारुस पुगेका भाडाका सैनिकहरू उपलब्ध गराउने रुसी वाग्नर समूहविरुद्ध सुरक्षा प्रदान गर्ने बताएको छ।

वाग्नरका लडाकुहरू यतिखेर सीमातर्फ अगाडि बढिरहेको बताइएको छ।

पोल्यान्ड-बेलारुस सीमामा के भयो?

पोल्यान्ड सरकारका अनुसार अगस्ट १ मा बेलारुसी सेनाका दुई हेलिकप्टरहरू कम उचाइमा उड्दै सीमाबाट झन्डै दुई किलोमिटरभित्र पोल्यान्डको ब्याओभ्येजा क्षेत्रमा पुगेका थिए।

त्यस बेला बेलारुसी सैनिकहरू सीमा क्षेत्रमा अभ्यासहरू गरिरहेका थिए।

तर मिन्स्कले "एमआई-८ र एमआई-२४ हेलिकप्टरहरूबाट कुनै सीमा उल्लङ्घन नभएको" भन्दै ती आरोपहरूलाई असत्य भनेको छ। 

पोल्यान्ड-बेलारुस

ब्याओभ्येजा क्षेत्रका बासिन्दाहरूले सामाजिक सञ्जालमा बेलारुसी सङ्केत भएको एउटा एमआई-८ र अर्को एमआई-२४ हेलिकप्टरको तस्बिरहरू पोस्ट गरेका छन्।

ती हेलिकप्टरहरू आफ्नो सहरमाथि उडेको उनीहरूले बताएका छन्।

बीबीसी भेरिफाईले ती हेलिकप्टरहरूमा रहेका सिरिअल नम्बर जाँच्दा ती सन् २०१८ मा त्यहाँबाट नजिकै बेलारुसमा पर्ने मचुलिशी हवाईशिविरमा रहेका हेलिकप्टरसँग मिलेको पाइएको छ।

बेलारुसबाट पोल्यान्डतर्फ हजारौँ आप्रवासीहरूले गैरकानुनी रूपमा सीमापार गरिरहँदा यो सैन्य घुसपेठको घटना सार्वजनिक भएको छ।

पोल्यान्डको दाबीअनुसार सन् २०२१ यता बेलारुसले मध्यपूर्व र अफ्रिकाका मानिसहरूलाई बेलारुस यात्रा गर्न र त्यहाँबाट गैरकानुनी रूपमा सीमापार गर्न उक्साइरहेको छ।

पोलिस बोर्डर गार्ड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पोलिस बोर्डर गार्ड

त्यति हुँदाहुँदै पनि दुई वर्षअघि भन्दा अहिले सीमा पार गर्ने क्रम कम रहेको पोल्यान्डको सीमा सुरक्षा बलले जनाएको छ।

उसका अनुसार यो वर्ष अहिलेसम्म १९,००० आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गरे भने गत वर्ष त्यस्तो प्रयास गर्नेहरूको सङ्ख्या १६,००० थियो।

पोल्यान्ड सरकारले बेलारुसको रणनीतिलाई "हाइब्रिड युद्ध" भनेको छ।

के वाग्नरका लडाकुले पोल्यान्ड प्रवेश गर्ने तयारी गरेको हो?

गत जुनमा रुसको वाग्नर समूहका भाडाका सैनिकहरूले एउटा असफल विद्रोह गरेपछि उसका कैयौँ लडाकुहरू बेलारुस गएका थिए।

बेलारुसका नेता अलेक्जान्डर लुकाशेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संवादमा ठट्टा गर्दै भनेका थिए: "उनीहरू पश्चिम जाने अनुमति मागिरहेका छन्... वार्साको भ्रमणमा जान। तर मैले उनीहरूलाई हामीले सहमति गरे जसरी मध्यबेलारुसमा राखेको छु।"

पोल्यान्डका प्रधानमन्त्री माटयुस मोराभियस्कीले १०० जना वाग्नर लडाकुहरू रहेको एउटा समूह पोल्यान्ड सीमामा पर्ने उत्तर पश्चिमी बेलारुसी सहर ग्राड्नातर्फ अगाडि बढिरहेको बताउँदै उक्त अवस्थालाई "अझ खतरनाक बन्दै" गएको बताएका छन्।

उनले आप्रवासीका रूपमा वाग्नर लडाकुहरू वा बेलारुसी सीमा सुरक्षाकर्मीहरू पोल्यान्ड प्रवेश गर्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार थप गैरकानुनी आप्रवासीहरूले पनि सीमा पार गर्न सहयोग पाउन सक्छन्।

बेलारुसको रक्षा मन्त्रालयले वाग्नर लडाकुहरू ब्रेटिस्की शिविरमा रहेको जनाएको छ। देशको दक्षिणमा पर्ने उक्त शिविर पोल्यान्डसँगको सीमाबाट झन्डै १० किलोमिटर टाढा छ।

त्यहाँ उनीहरूले बेलारुसी सैनिकहरूलाई तालिम प्रदान गरिरहेका छन्।

यूनिभर्सिटी अफ ल्यान्यास्टरमा अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापन गर्ने डा बार्बरा योक्सन भन्छिन्: "भाडाका सैनिकहरू भएका हुनाले उसका लडाकुले सीमामा अवरोधहरू सिर्जना गर्न सक्छन्। त्यसो गर्दा रुस र बेलारुसलाई सोझै दोष दिन मिल्ने छैन।"

उक्त सीमा क्षेत्र किन निकै संवेदनशील छ?

पोल्यान्ड र लिथ्युएनिआबीचको सीमारेखालाई 'सुभाउकी ग्याप' भनिन्छ।

त्यो ९५ किलोमिटर लामो छ। त्यो ठाउँ बेलारुस र रुसको उच्च सुरक्षा हुने एवं मुख्यभूमिभन्दा अलग्गै रहेको कलिनिन्ग्राडबीच जोडिएको छ। कलिनिन्ग्राडको एकातर्फ बाल्टिक सागर छ भने अरूतिर निथ्युएनिया र पोल्यान्ड छन्।

पोल्यान्ड-बेलारुस

कैयौँ सैन्य विश्लेषकहरूका दृष्टिकोणमा यदि नेटो देशहरू र रुसबीच द्वन्द्व हुने अवस्था आएमा सुभाउकी ग्याप युद्ध हुने सम्भावित मुख्य ठाउँ हो।

बेलारुससहित रुसले सैन्य बल प्रयोग गरेर उक्त ग्याप बन्द गरे भने बाल्टिक गणराज्यहरू लिथ्युएनिआ, ल्याट्भिआ र एस्टोनिआ नेटो साझेदारसँगको बाटो टुट्न सक्छ।

"घाँटी निमोठ्नका लागि यी निकै साँघुरो ठाउँ हो," डा योक्सन भन्छिन्।

"रुस र बेलारुस मिलेर नेटोलाई बाल्टिक देशहरूबाट छुट्ट्याउनेगरी अवरोध पुर्‍याउन सक्छन्।"

केही सैन्य विश्लेषकहरूका विश्वासमा यी सन्दिग्ध घुसपैठले रुसले बाल्टिक गणराज्यहरूलाई आक्रमण गर्न लागेको सङ्केत दिन्छ।

यद्यपि थिङ्कट्याङ्क द रोयल यूनाइटेड सर्भिसेस अर्गनाइजेशनका प्राध्यापक माल्कम चाल्मर्स भन्छन्: "यो आंशिक रूपमा को कति पानीमा छ भनेर जाँच्ने रुस र बेलारुसको अभ्यास हो र नेटोले कसरी प्रतिक्रिया जनाउला, वा जनाएन भने नेटो भूभागभित्र घुसपैठ गर्ने योजना हो।"

रुस र बेलारुसले पछिल्ला वर्षमा कैयौँ सैन्य सन्धिहरू गरेका छन्। बेलारुसले रुसी सेनालाई आफ्नो सीमाबाट युक्रेनमा हमला गर्ने अनुमति दिएको छ र उसले आफ्नो भूमिमा रुसका सामरिक परमाणुअस्त्र राख्न दिँदै छ।

अन्तर्राष्ट्रिय मामिल सम्बन्धी थिङ्कट्याङ्क च्याटम हाउसका डा एनिस मरिनले यस सन्दिग्ध घुसपैठ रुसी योजनाअन्तर्गत भएको हुनसक्ने ठान्छिन्।

उनका अनुसार त्यसले "बेलारुस पोल्यान्ड र नेटो दुवैको शत्रु अनि मस्कोको दह्रो सहयोगी रहेको सुनिश्चित" गर्ने छ।

सीमा तनावको उत्तर दिन पोल्यान्डले के गरेको छ?

पोल्यान्डको रक्षा मन्त्रालयले बेलारुसतिरको सीमामा थप १०,००० सैनिक पठाइने जनाउँदै तीमध्ये ४,००० प्रत्यक्ष रूपमा सीमा सुरक्षा बललाई सघाउने भने ६,००० जना जगेडमा रहने बताएको छ।

जुलाईमा त्यहाँको सरकारले वाग्नर लडाकुबाट हुन सक्ने सम्भावित घुसपैठ नियन्त्रण गर्न भन्दै अतिरिक्त १,००० सैनिक पठाएको थियो।

यद्यपि केही राजनीतिक विश्लेषकहरू पोल्यान्डमा छिट्टै चुनाव हुन लागेकाले राजनीतिज्ञहरूले वाग्नर र बेलारुसबाट हुने जोखिमलाई अतिरञ्जना गरेको ठान्छन्।

ती विश्लेषकहरूका भनाइमा यस्ता कदमले नेताहरू सुरक्षा मामिलामा आफूहरू कडा रहेको देखाउन चाहन्छन्।