साइबर अपहरण के हो, अमेरिका र अरू देशमा चिनियाँ विद्यार्थी कसरी फस्छन्

ह्याकर

तस्बिर स्रोत, Getty Images

वाशिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकामा रहेका आफ्ना नागरिकलाई “भर्चूअल अपहरण”बारे चनाखो रहन भनेको छ। विशेष गरी विद्यार्थीहरूलाई यसबारे सचेत गराइएको छ।

शैक्षिक आदानप्रदान कार्यक्रमबाट संयुक्त राज्य अमेरिका गएका एक चिनियाँ विद्यार्थी "साइबर अपहरण"मा परेको विवरण सार्वजनिक भएपछि विज्ञहरूले पनि त्यस्तो जोखिमबारे सचेत गराएका छन्।

ती विद्यार्थीलाई अपहरण गरेर उनको परिवारसँग फिरौती मागिएको विवरणसँगै विश्वभरिका अभिभावकहरू यस्तो आपराधिक प्रवृत्तिको सिकार बन्न सक्नेतर्फ सचेत गराइएको छ।

स्थानीय प्रहरीका अनुसार १७ वर्षका काइ जुहाङ अध्ययनरत विद्यालयले उनी सम्पर्कविहीन भएको जानकारी गराएको थियो।

आफ्नो विद्यालयबाट हराएका जुहाङ गत साता अमेरिकाको एउटा ग्रामीण स्थानमा पालभित्र निकै चिसो र डरलाग्दो ठाउँमा भेटिएका थिए। उनलाई अज्ञात ठगहरूले एकान्तमा जान फकाएका थिए।

अपहरणकारीहरू त्यहाँ नभए पनि उनलाई फेसटाइम वा स्काइपजस्ता एपबाट उनीहरूले निगरानी गरिरहेका थिए।

अधिकारीहरूका अनुसार उनी निर्जन स्थानमा पुगेपछि अपहरणकारीहरूले जुहाङ आफैँले खिचेको उनको तस्बिर चीनस्थित उनका आमाबुवालाई पठाएर उनी अपहरणमा परेको भन्दै फिरौती मागेका थिए।

उनलाई मुक्त गर्न जुहाङको परिवारले ८०,००० अमेरिकी डलर तिरेको थियो।

चिनियाँ विद्यार्थी काइ जुहाङ

तस्बिर स्रोत, RIVERDALE POLICE DEPARTMENT

विज्ञहरूले प्रविधिको विकासले अपराधीहरूलाई साइबर अपहरणको योजना बनाउन सहज बनाएको बीबीसीसँग बताए।

यस्ता घटनाहरूबारे स्पष्ट तथ्याङ्क नभए पनि जुहाङको अनुभव अनौठो घटना नभएको बताइन्छ।

“जसरी धेरै घटनाहरूमा यो तरिका देखा परेको छ, जो पनि यसमा पर्न सक्छ,” व्यावसायिक घराना र सरकारी निकायहरूलाई साइबर सुरक्षाको परामर्श दिने जोसेफ स्टेन्बर्गले भने।

“यस्ता अपराधहरू अझै धेरै लक्षित र अझै धेरै महँगो हुँदै गएका छन्।”

लन्डन आई र बिग बेन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूकेमा पनि चिनियाँ विद्यार्थीहरू साइबर अपहरणमा परेका छन्

साइबर अपहरण के हो?

गत डिसेम्बर २० मा अमेरिकाको ग्रामीण यूटा क्षेत्रमा क्याम्पिङ उपकरणहर सहित देखा परेका १७ वर्षे किशोर अपहरणकारीहरूको बहकाउमा परेको प्रहरीको अनुमान छ।

साइबर अपहरणका घटनामा अपराधीहरूले पीडितका आफन्तहरूलाई फोन वा सन्देशमार्फत् उनीहरू अपहरणमा परेको भान पार्छन्। तर वास्तवमा ती व्यक्ति सुरक्षित नै हुने स्टेन्बर्ग बताउँछन्।

आफन्तलाई फोनमा चिच्याएको सुनाउँछन् र अपहृत व्यक्ति‍को ज्यान खतरामा रहेको दाबी गरेर फिरौती असुल्छन्।

“उनीहरूले तपाईँलाई फोनमै भुलाउन जे पनि गर्छन्,” जोन जे कलेज अफ क्रिमिनल जस्टिसको सेन्टर फर साइबरक्राइम स्टडिजकी निर्देशक भारी-हेलेन मारस भन्छिन्।

“फोन चलाउन छोड्नुभयो वा अरू कसैलाई सम्पर्क गर्ने प्रयास गर्नुभयो भने उनीहरू तपाईँलाई हानि पुग्ने चेतावनी दिन्छन् र आफ्नो निसानामा रहेका व्यक्तिलाई हतारमा निर्णय लिन डर देखाउँछन्।”

साइबर अपहरणका घटनाहरू अध्ययन गरेकी मारसका अनुसार विद्यार्थी आदानप्रदान कार्यक्रममा अमेरिकाजस्तै क्यानडा, अस्ट्रेलिया र अरू देश पुगेका चिनियाँ विद्यार्थीहरूलाई आफ्नै अपहरण गर्न बाध्य पारेर परिवार र आफन्तबाट पैसा असुलिएको छ।

यसअघि यूकेको साउथ योर्कशर प्रहरीले अध्ययनका लागि उत्तरी इङग्ल्यान्डमा आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चनाखो रहन सावधान गराएको थियो।

प्रहरीका अनुसार गठहरूले यूकेमा विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई निसाना बनाएका थिए।

धेरैजसो ठगहरूले चिनियाँ दूतावास, भन्सार, अध्यागमन, चिनियाँ प्रहरी वा रोयल मेलबाट फोन गरिएको भन्दै पीडितहरूलाई सम्पर्क गर्ने गरेका थिए।

उनीहरूले अन्तर्राष्ट्रिय अपराधको अनुसन्धान भइरहेको र जाँचका लागि भन्दै ठूलो मात्रामा रकम चीन पठाउन पीडितहरूलाई आग्रह गर्ने गरेका छन्।

योर्कशर प्रहरीका अनुसार कतिपय अवस्थामा अपराधीहरूले पीडितलाई धम्की पनि दिने गरेका छन्। अनि त्यसबारे कसैलाई केही नबताउन भन्ने गरेका छन्।

यस्तो घटना कति सामान्य हो?

साइबर अपहरणमा परेकी महिला

तस्बिर स्रोत, New South Wales police

भर्चूअल माध्यमबाट भएका अपहरणका घटनाहरूबारे कुनै तथ्याङ्क उपलब्ध छैन। यस्ता धेरै घटनाबारे सम्बन्धित निकायलाई जानकारी नै नहुने विज्ञहरू बताउँछन्।

यद्यपि उनीहरूका अनुसार प्रविधिको विकासले यस्ता अपराधहरू सहज बनाएको छ।

स्टेन्बर्ग आर्टिफिशल इन्टेलिजन्सको प्रयोगबाट कसैको आवाजको नक्कल गर्न र ती व्यक्ति अपहरणमा परेको भ्रम सिर्जना गराई फिरौती असुल्न बाध्य पार्न सकिने चिन्ता व्यक्त गर्छन्।

“प्रविधि यस्तो बिन्दुमा पुगिसकेको छ कि आफ्ना बच्चालाई असाध्यै माया गर्ने र उनीहरूबारे राम्रो थाहा हुने अभिभावकहरूलाई पनि झुक्क्याउन सकिने भएको छ,” उनी भन्छन्।

यस्ता घटनाहरूमा अपराधीहरूले पीडितहरूका सामाजिक सञ्जालबाट महत्त्वपूर्ण व्यक्तिगत जानकारी लिएर उनीहरूलाई सम्पर्क गर्छन्।

“अपराधीहरूले तपाईँकै जस्तो देखाउन नम्बरहरू पनि नक्कल गर्न सक्छन्,” मारस भन्छिन्। “उनीहरू ठगी गर्न अझै निखारिँदै गएका छन्।”

स्टेन्बर्ग यस्ता अपराधहरूका पीडितहरूले भुक्तानी गर्नुपर्ने रकमको मात्रा पनि बढ्दै गइरहेको औँल्याउँछन्। उनका अनुसार यस प्रकारका अपराधमा दोषी पहिचान भएका उदाहरण निकै दुर्लभ छन्।

चिनियाँ विद्यार्थी काइ जुहाङ

तस्बिर स्रोत, RIVERDALE POLICE DEPARTMENT

तस्बिरको क्याप्शन, चिनियाँ विद्यार्थी काइ जुहाङ साइबर अपहरणमा परेको ठानिएको छ

यसअघि अपराधीहरूले जोखिमयुक्त वर्गमा पर्ने मानिसलाई तारो बनाउने गरेका थिए। उनीहरूको निसानामा बसोबास अनुमति नभएका आप्रवासीहरू र अङ्ग्रेजी राम्रोसँग नजान्ने व्यक्तिहरू पर्थे र त्यस्ता व्यक्तिहरूसँग थोरै रकम असुल हुने उनी बताउँछन्।

तर जुहाङको घटनामा उनका अभिभावकबाट ठूलो रकम असुल भएको पाइएको अधिकारीहरू बताउँछन्।

“साइबर अपराध सबैभन्दा राम्रो असुली हुने अपराध हुनुपर्छ,” स्टेन्बर्ग भन्छन्।

“विभिन्न भाषामा मानिसहरूलाई निसाना बनाउन सकिन्छ र जहाँसुकैबाट यो काम गर्न सकिन्छ।”

अपराध कसरी रोक्न सकिन्छ?

विज्ञहरूका अनुसार जो व्यक्ति पनि भर्चूअल अपहरणमा पर्न सक्ने जोखिम छ। तर सुरक्षित हुन केही कदमहरू चाल्न सकिन्छ।

सबैभन्दा पहिलो समस्याबारे जानकार रहनु हो र कुन व्यक्तिगत सूचना सार्वजनिक गर्ने भन्नेबारे विचार पुर्‍याउँदै त्यस्ता गतिविधिबारे चनाखो रहनु हुने स्टेन्बर्ग बताउँछन्।

अमेरिकाको हकमा यस्तो निसानामा परेका व्यक्तिहरूले एफबीआईको इन्टरनेट क्राइम कम्प्लेन्ट सेन्टरमा सबैभन्दा पहिले उजुरी गर्नुपर्छ।

आपत्कालीन फोन वा सन्देरश पाइसकेपछि परिवारका सदस्य वा प्रियजनले अपहरणमा परेका व्यक्ति रहेको ठाउँ पत्ता लगाउने र पुष्टि गर्ने प्रयास गर्नुपर्ने स्टेन्बर्ग बताउँछन्।

परिवारले यस्तो अवस्थामा अपराधीहरूले थाहा नपाउने वा नबुझ्ने भाषा वा सङ्केत प्रयोग गर्नु उपयुक्त हुने उनको सुझाव छ।

उनका अनुसार सुरक्षा निकाय र दूरसञ्चार कम्पनीहरूले यस्ता अपराध न्यूनीकरणमा योगदान गर्न सक्छन्। त्यसका लागि फोन आउने ठाउँ र आधिकारिकता पत्ता लगाउने व्यवस्थामा सुधार गर्नुपर्ने उनी ठान्छन्।

यस्ता घटनामा पीडित हुनेको सङ्ख्या थाहा हुन नसके पनि यस्ता ससाना कदमले भविष्यमा हुने घटनामा कमी आउने विज्ञहरू बताउँछन्।

“वास्तविकता के हो भने हामीजस्तै मानिसहरू पनि …यस्तो घटनाको सिकार भएका छन्,” स्टेन्बर्ग भन्छन्। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।