तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा मौलाउँदै गरेको 'स्टयान्डअप कमेडी' माथि सेन्सरशिपको अङ्कुश
- Author, वेई वङ
- Role, बीबीसी चाइनिज
गत मे महिनाको मध्यतिर आफ्नो उपनाम ‘हाउस’बाट बढी चिनिने चीनका स्ट्यान्डअप कमेडी कलाकार ली खाउसहले आफूले घरमा ल्याएर पालेका कुकुरबारे एउटा किस्सा सुनाए।
बेइजिङका भरिभराउ दर्शकमाझ उनले आफ्ना कुकुरहरूले “जित्नकै लागि लड्ने र उदाहरणीय संस्कार देखाउने” बताए ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले चिनियाँ सेनाबारे बोल्दा यो पदावली प्रयोग गर्ने गरेका छन्।
यसले दर्शकहरूलाई हँसाउन त हँसायो, तर तीमध्येकै एकले पछि चिनियाँ ट्विटरका रूपमा चिनिएको वेबोमा त्यो किस्सा आफूलाई असहज लागेको कुरा लेखे। उनका अनुसार त्यसले “जनसेना”को अपमान गरेको थियो।
लगत्तै सरकारी सञ्चार माध्यम र अधिकारीहरूले पनि त्यस किस्साले चिनियाँ सेनाको “गम्भीर अपमान” गरेको भन्दै भर्त्सना गरे। लीलाई पक्राउ गरियो। उनले काम गर्ने र चीनकै सबैभन्दा सफल स्ट्यान्डअप कमेडी समूहमध्ये एक शाउग्वलाई झन्डै डेढ करोड चिनियाँ वुआन वा २१ लाख अमेरिकी डलर जरिबाना तिराइयो।
यस घटनाले चीनमा तीव्र विकास भइरहेको जीवन्त स्ट्यान्डअप कमेडी क्षेत्रमा कडा प्रहार गरेको छ।
सीको नियन्त्रणमुखी शासनमा सार्वजनिक अभिव्यक्तिका अन्य क्षेत्र पनि सङ्कुचित भए पनि स्ट्यान्डअप कमेडीको उत्साहजनक विकास भइरहेको थियो र यसमार्फत् युवा पुस्ताले आफ्ना खुसी र दिक्दारीलाई रमाइलोसँग साट्ने गरेका थिए। तर स्वतन्त्रताको त्यो साँघुरो क्षेत्र अब खतरामा परेको हो त?
ली पक्राउ परेपछि हास्यव्यङ्ग्य क्षेत्रमा परेको प्रभावबारे बीबीसीले १३ कलाकार र दुई व्यवस्थापकसँग कुरा गर्न खोज्दा कसैले पनि मानेनन्।
खुलापनको अभ्यास
पश्चिमी जगत्बाट हालसालै आयातित स्ट्यान्डअप कमेडी पछिल्लो समय चिनियाँ युवा पुस्तामा मनोरञ्जनको लोकप्रिय माध्यम बनेको छ। देशका धेरै सहरहरूमा जोसुकैले पनि आफ्नो कला प्रस्तुत गर्न पाउने ओपन माइक कार्यक्रमहरूको सङ्ख्या बढेको छ। सबैभन्दा सस्तो टिकट पाँच वुआन वा ७० अमेरिकी सेन्टभन्दा कम मूल्यको हुँदा कलाकार बन्न चाहने र अन्य दर्शकहरूको ओइरो लाग्ने गरेको छ।
सन् २०२१मा १८ हजार ५०० भन्दा बढी यस्ता प्रत्यक्ष कार्यक्रमहरू भए। चाइना असोसिएशन अफ पर्फर्मिङ आर्ट्सको एक प्रतिवेदनअनुसार ती कार्यक्रममार्फत् झन्डै ४० करोड वुआन वा पाँच करोड ६५ लाख अमेरिकी डलर उठाइयो। त्यस वर्ष चीनभरि कडा लकडाउन भएका हुनाले सन् २०२२ मा कार्यक्रमको सङ्ख्या र रकम दुबै बढे।
“स्ट्यान्डअप कमेडी लट्ठ्याउने औषधिजस्तै हो। यसलाई हटाउनै सकिँदैन,” शाङ्घाईका ३० वर्षे इन्टिरिअर डिजाइनर आरिस* भन्छिन्। आफूलाई स्ट्यान्डअप कमेडीको पुरानो फ्यान मान्ने उनी यसले नै आफूलाई गत वर्षको ६५ दिन लामो कठिन लकडाउनमा दुर्लभ सान्त्वना र सम्बन्धको अनुभूति दिएको हुनाले यसलाई 'लाइफलाइन' मान्छिन्। खाद्य अभाव सिर्जना गरी सर्वसाधारणलाई रिस उठाएको व्यापक र पट्यारलाग्दो लकडाउनका कारण शाङ्घाई अन्तर्राष्ट्रिय समाचारमा छाएको थियो।
“लकडाउनका बेला सबै आफ्नो भावनाबारे कुरा गर्न चाहान्थे। यो साँच्चै गज्जबै हुन्थ्यो, तर उनीहरूलाई त्यसबारे कुरा गर्नुहुँदैन भन्ने पनि थाहा थियो,” उनी भन्छिन्।
तैपनि केही किस्साहरू उनका साथमा थिए। त्यसमध्येको “ब्लाइन्ड बक्स”मा आउने तरकारीबारेको एउटा सानो किस्सा उनी सम्झन्छिन्। सतहमा यो किस्साले आफूलाई थाहा नभएको प्याकेजिङमा आउने खेलौनाप्रतिको आकर्षणबारे कुरा गरेको थियो, तर गहिराइमा यसले दैनिक जीवनका अत्यावश्यक सामग्री किन्न जान पनि रोकी घरमै थुनिएका चिनियाँहरूले सामुदायिक संस्थाले पठाएको तरकारीमा निर्भर रहनुपर्ने अवस्था देखाएको थियो।
बन्द विषयवस्तु
हुन त लीलाई पक्राउ गर्नुअघि नै स्ट्यान्डअप कमेडीको सफलतासँगै नियन्त्रणका तहहरू बढ्दै गएका थिए। अहिले हटाइएको एक वेबो पोस्टमा कमेडी शोका लागि किस्सा लेख्ने एक लेखकले आफूलाई सम्पर्क गरेको एक कम्पनीले समाजमा स्वीकार्य नहुने विषयवस्तुको सूची सार्वजनिक गरेकी थिइन्। सूचीमा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू, विवाहेतर सम्बन्ध, समलैङ्गिक सम्बन्ध, जुवा, गरिबी र कोभिड महामारीलगायतका विषय थिए।
त्यस सूची पठाइएपछि यी किस्साका सम्भाव्य प्रभावसँगै ती कत्तिको संवेदनशील छन् र तिनले कसैलाई अपमानित गर्छन् कि गर्दैनन् लगायतका विषयमा धेरै पटक छलफल भयो। त्यसपछि किस्साको मसौदालाई सम्बन्धित निकायहरूमा बुझाइए पनि अधिकारीहरूले खासै केही भनेनन्। उनीहरूको सुझाव स्पष्ट भएन।
“यो क्षेत्रले आफ्नो ८० प्रतिशत ऊर्जा सामग्री सिर्जनामा खर्चनुपर्छ भने पाँच सय प्रतिशत समय र ऊर्जा सेन्सरशिप झेल्न। यो हाम्रा स्रोतसाधनको ठूलो नाश हो, युवाशक्तिको ऊर्जाको पनि।”
यद्यपि यसले कलाकारहरूलाई ‘मौकामा चौका हान्न’ रोकेको छैन। लैङ्गिक विभेद र युवा बेरोजगारीजस्ता धेरै चिनियाँ चुनौती र कोभिड नियन्त्रणका लागि चालिएका विवादास्पद कदमहरूको खिल्ली उडाउन उनीहरूले भ्याएकै छन्। यी किस्साहरू वेबोमा चर्चित हुन्छन् र विवादमा पर्छन्।
“हेर्दा त ऊ सामान्य देखिन्छ, तर त्यस्तो आत्मविश्वास कसरी आउँछ?” सन् २०२० को एउटा कार्यक्रममा कलाकार याङ लीले भनिन्। “सामान्य तर आत्मविश्वस्त पुरुष” भन्ने पदावली आज अनपेक्षित रूपमा लोकप्रिय भएको छ।
विवाहका लागि सामाजिक दबावलगायतका पारम्परिक विषय यस्ता कलाकारका सहज तारो बन्छन्। “हामीवरिपरिका केही मान्छेहरू दु:ख दिने खालका हुन्छन्। आफू बिहे गर्छन्, अनि अरूलाई पनि बिहे गर भन्छन्। विवाह एउटा रहस्यमय संस्था हो, त्यहाँ पसेपछि तपाईँले अरू सदस्य थप्नुपर्छ, पिरामिड स्कीमजस्तै,” जुम्ल्याहा कलाकार यान यी र यान यूले हँसाए।
केही विषय अझै सीमाबाहिर छन्। राष्ट्रपति सीको पहिचान बनेको 'शून्य कोभिड' नीति र फेब्रुअरीमा उनको अमेरिका भ्रमणका बेला पार्टीको सेन्सरशिपबारे चाई जीले बोल्दा सामाजिक सञ्जालका उनका अकाउन्टहरू तुरुन्त बन्द गरिए।
सजायको डरले चिनियाँ कलाकारहरूलाई सचेत गराएको भए पनि केहीको भनाइमा त्यसले उनीहरूको हास्यचेतलाई कमजोर बनाएको छ।
“उनीहरू खासै महत्त्वपूर्ण नहुने विषयमा कुरा गर्छन्। सरकार तथा पार्टीसँग सम्बन्धित विषयवस्तुलाई चुनौती दिन अनुमति छैन,” हाल आयरल्यान्ड बस्ने चिनियाँ प्राविधिक ल्यान डी* भन्छिन्।
कोभिड महामारीका कारण तीन वर्षपछि पहिलो पटक केही महिनाअघि चीन फर्किँदा ल्यानलाई शाङ्घाईमा शाउग्व समूहको प्रत्यक्ष प्रस्तुति हेर्न मन लाग्यो। तर ती सबै कार्यक्रम रद्द भएपछि उनी दु:खी भइन्।
“ती कार्यक्रम मेरा राजनीतिक खुराक हुन्। म तीबिना बाँच्न सक्दिनँ।”
तर के उनका प्रिय कार्यक्रमहरूले पछिल्लो आँधी थेग्न सक्लान्? “यसको डरलाग्दो प्रभाव रहन्छ,” हङ्कङ ब्याप्टिस्ट यूनिभर्सिटीसँग आबद्ध सञ्चार तथा लोकप्रिय संस्कृतिका विद्वान् शेङ जाऊ भन्छन्।
“पक्कै पनि यस क्षेत्रमा सेल्फ-सेन्सरशिप बढ्ने छ।”
आरिसजस्ता युवा पुस्ताका चिनियाँहरू खासै आशावादी छैनन्। यदाकदा उनीहरूलाई चिनियाँ स्ट्यान्डअप कमेडीको भविष्य नभएको हो कि भन्ने डर लाग्छ।
तर उनको डर गलत होस् भन्ने उनको कामना छ। “म चिनियाँले नै चीनको खिल्ली उडाएको सुन्न चाहान्छु,” उनी भन्छिन्। यस क्षेत्र बाँच्नका लागी सम्झौता अनिवार्य भएको उनको ठहर छ।
“हाउस (ली)ले तीन घण्टासम्म जनमुक्ति सेनाको खिल्ली उडाएको भए त्यसको केही अर्थ हुन्थ्यो। तर उनले त खालि केही शब्द बोलेका थिए।”
उनको भनाइमा लीको किस्सा यसले सिर्जेको दु:खका लागि योग्य थिएन। यस किस्साले सङ्केत गरेको सेनासँग सम्बन्धित नारा आफूले कहिल्यै नसुनेको दाबी गर्ने लीले चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य समेत रहेका आफ्ना साथीले बताएपछि मात्र त्यस किस्साको राजनीतिक संवेदनशीलताबारे पत्ता पाएकी थिइन्।
“स्ट्यान्डअप कमेडी हत्कडी लगाएर नाचेजस्तै हो। तर आफूलाई अभिव्यक्त गर्ने थोरै मात्र अवसर बाँकी रहेसम्म पनि उनीहरू बोल्न चाहन्छन्। यसले मलाई छुन्छ।”
*सुरक्षाका कारण केही नामहरू परिवर्तन गरिएको छ।
बीबीसी चाइनिजका शिजिए शाओबाट थप रिपोर्टिङ