तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दर्जनौँ लेखकले विरोध गरेको 'बहिष्कार संस्कार' के हो
'क्यान्सल कल्चर' अर्थात् 'बहिष्कार संस्कार' आधुनिक विश्वको डिजिटल युगमा एउटा नयाँ चलन हो।
यो अभ्यास सामाजिक सञ्जालमा चर्चित छ जहाँ कुनै एक व्यक्ति वा संस्थालाई कुनै आक्रमण वा अस्वीकार्य ठानिएका विचार राखेकै आधारमा एक्ल्याएर निन्दा गरिन्छ।
मानिसहरूले तिनै विचारका कारण ती व्यक्ति वा संस्थासँगको सम्बन्ध भङ्ग गर्छन् वा तिनलाई समर्थन गर्न छोड्छन्।
केहीले यसलाई 'अनलाइन शेमिङ' अर्थात् अनलाइन माध्यममा लज्जित बनाउने कार्य भन्छन्।
आपराधिक क्रियाकलाप वा अस्वीकार्य यौनकार्यमा संलग्न भएको आरोप खेपेका चर्चित व्यक्तिहरूलाई इन्टरनेटमा बहिष्कार गरिएको छ।
अन्यलाई जातिवादी वा समलैङ्गिकताको बारेमा व्यङ्ग्य गरेकोमा बहिष्कार गरिएको छ। तर धारणाहरू फरकफरक छन्।
यस्ता अभियानकर्ताहरू पनि छन् जसले बहिष्कार संस्कारले वैकल्पिक विचार र धारणाप्रति असहिष्णुता ल्याएर अधिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउने ठान्छन्।
के बहिष्कार संस्कार मानिसहरूका लागि शक्तिमा भएकाहरूको अस्वीकार्य अभिव्यक्ति र व्यवहारविरुद्ध बोल्ने बाटो हो? या के यो 'भिडको मानसिकता'सँग नजिक छ?
'तपाईँलाई थाहा भयो म बिउँझेकै छु'
बहिष्कार संस्कारलाई शक्तिमा रहेका व्यक्तिहरूलाई उत्तरदायी बनाउने तरिकाका रूपमा प्रशंसा गरिन्छ। प्रायः सर्वसाधारणका लागि सार्वजनिक व्यक्तित्वको अभिव्यक्ति र व्यवहारमा प्रश्न गर्न सामाजिक सञ्जाल एक मात्र माध्यम हुन्छ। तर यसका बेफाइदा पनि छन्।
बहिष्कार संस्कारका विरुद्धमा बोल्ने चर्चित व्यक्तित्वमध्ये एक अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा हुन्।
"मैले यदि तपाईँले गरेको कुनै कुरा ठिक भएन भने ट्वीट गरेँ भने… म आनन्दले बसेर आफ्नो बारेमा राम्रो महसुस गर्न सक्छु," ओबामाले भने।
"किनभने तपाईँले देख्नुहुन्छ कि म बिउँझेकै छु। मैले तपाईँको कुरो सुनेँ।"
ओबामाका अनुसार मानिसहरू यो संसारमा धेरै कुराहरू अस्पष्ट छ र राम्रो काम गर्ने मानिसहरूमा पनि नराम्रा कुरा हुन सक्छन् भन्ने बिर्सेर अरूमा बारेमा चरम धारणा बनाउन सक्छन्।
उनी थप्छन्ः तपाईँले मन नपराएका मान्छेहरूले आफ्ना बालबच्चालाई माया गर्छन् र तपाईँजस्तै केही कुरा गर्छन्।
सार्वजनिक बेइज्जती
बहिष्कार संस्कारको सिकार भएका व्यक्तिहरूका अनुसार यो संस्कार सार्वजनिक बेइज्जतीको विनाशकारी रूप बन्न सक्छ।
अनलाइन बहिष्कार अभियानले उनीहरूको व्यावसायिक जीवन तहननहस बनाउनुका साथै प्रयोजकहरूलाई टाढा पुर्याएर उनीहरूको जीवनयापनमै समस्या ल्याउन सक्छ।
बहिष्कारमा परेर घृणाको वस्तु बनेका व्यक्ति वा संस्थाहरूका धारणा, विचार, व्यक्तित्व, कार्य र उत्पादनलाई मानिसहरूले नचाहेको देखिन्छ।
अनलाइन बहिष्कार सानोमा सुरु भए पनि छिट्टै हजारौँ मानिसहरूले लागु गर्ने गरेर ठूलो हुन सक्छ।
अभिव्यक्ति स्वतन्त्रतामा आक्रमण?
जेके रोलिङ, सलमान रुस्दी र मार्गरेट एट्वुडसहित झन्डै १५० जना लेखक, प्राज्ञ र अभियानकर्ताले हालै बहिष्कार संस्कारले छलफललाई नियन्त्रण गर्ने भन्दै यसविरुद्ध एउटा खुलापत्र लेखे।
हस्ताक्षरकर्ताहरूले सकारात्मक परिवर्तन ल्याउन सामाजिक सञ्जालको शक्ति रहेको बताउँदै बहिष्कार संस्कारले खुला छलफललाई बाधा पुर्याउने बताएका छन्।
"सूचना र विचारको खुला आदानप्रदान स्वतन्त्र समाजको जीवनसूत्र हो र यो दिनदिनै सीमित बन्दै गएको छ,” उक्त पत्रमा भनिएको छ।
बहिष्कारमा पर्दाको अनुभव
"म बहिष्कार संस्कार कत्तिको विषालु र नरमाइलो हुन्छ भन्ने विषयमा बोल्न चाहन्छु किनभने मैले यसको अनुभव गरेको छु," इन्टरनेटमा दशौँ लाख मानिसले पच्छ्याउने मेकअप कलाकार म्यानी गुटेरेस भन्छन्।
अर्का एक मेकअप कलाकारसँग सन् २०१८ मा अनलाइन विवाद भएपछि आफू अनलाइन आक्रमणको निसानामा परेको र मूल्यवान् प्रायोजन एवम् हजारौँ फलोअर गुमाएको गुटेरेस बताउँछन्।
यसले गर्दा आफ्नो काम र व्यवसायमात्रै होइन गुटेरेसको मानसिक स्वास्थ्यमा पनि असर गर्यो।
"म अरू कसैले मैले सामना गरेको घृणाको एक प्रतिशत पनि घृणा सामना गरेको सोच्न सक्दिनँ," उनले भने। "तपाईँ लामो समयसम्म पराजित मानिसझैँ हुनुहुन्छ।"
"तपाईँले एउटा गल्ती गर्नुभयो भने कहिल्यै फर्किन सक्नुहुन्न।"
गुटेरेस र त्यस्तो अवस्थामा पुगेका अन्य धेरैका लागि समस्या भनेको सारा कुरा एकपक्षीय हुनु र आफ्नो उत्तर दिने अधिकार पनि नहुनु हो।
"त्यहाँ दोस्रो मौका छैन, माफी माग्ने मौका छैन" उनी भन्छन्। "मलाई लाग्छ त्यो ठिक होइन।"