राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल को हुन् ?

तस्बिर स्रोत, RSS
मङ्गलवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायण दाहाल ३९ मतका साथ निर्वाचित भएका छन्।
उनले मङ्गलवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन्।
यसअघि दिउसो भएको मतदानमा ६८ वर्षीय दाहालले नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गरेका हुन्।
शर्माको उम्मेदवारीको पक्षमा केवल १७ मत खसेको थियो। राष्ट्रियसभामा मङ्गलवार भएको निर्वाचनमा ५६ सदस्य उपस्थित थिए।
राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचन हुनु केही समय अगाडि पाँचवटा राजनीतिक दलबीच ताजा सहमति भएको थियो।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी नेपाल बीच भएको उक्त सहमतिमा राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो।
यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल समेत फागुन २० मा सकिएपछि राष्ट्रियसभामा नयाँ प्रमुख चयन गरिएको हो।
नयाँ बनेको गठबन्धनमा माओवादी केन्द्रले माथिल्लो सदनको सबैभन्दा ठूलो दलको हैसियतमा अध्यक्ष पद दाबी गरेको जनाउँदै आएको थियो।
राष्ट्रियसभामा हाल माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी)का ८, जनता समाजवादी पार्टी, नेपालका ३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १, राष्ट्रिय जनमोर्चाका १, राष्ट्रपतिद्वारा मनोनित दुई गरी ५८ सदस्य बहाल छन्।
राष्ट्रपतिबाट एकजना मनोनित हुन बाँकी छ।
को हुन् माथिल्लो सदन प्रमुख दाहाल?

तस्बिर स्रोत, RSS
भरतपुर महानगरपालिकाको भिमसेन नगरका दाहालले यसअघि २०७३ सालमा दोस्रोपटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रशासनिक सल्लाहकारका रूपमा काम गरेका थिए।
उनी २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदमा नै सदस्य भएका थिए भने २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन चितवन-३ बाट निर्वाचित भएका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए।
उनी २०५७ सालदेखि माओवादी पार्टीमा केन्द्रीय सदस्य छन्।
राजनीतिक गतिविधिमा २०३६ सालयता पूर्णकालीन कार्यकर्ताका रूपमा उनले काम गरेको संसद् सचिवालयमा उनले बुझाएको विवरणमा उल्लेख छ।
त्यसको झण्डै एक दशकअघि अनेरास्वियूको सदस्य भएको उक्त विवरणमा उल्लेख छ।
उनले सङ्घीय संसदको लेखा समितिमा चार वर्ष काम गरेका छन्।
परिवारवादको आरोप

तस्बिर स्रोत, RSS
नाताले उनी प्रचण्डका काकाका छोरा हुन्। तर संसदको विवरणमा २०३५ सालयता उनी पार्टी सदस्य भएको उल्लेख छ।
सोमवार उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग बोल्ने क्रममा उनले अन्तरिम व्यवस्थापिका संसदमा सदस्य भए देखि नै 'पार्टीको कुनै पनि जिम्मेवारी लिनुपर्दा' आफूलाई त्यस्तो आरोप लाग्नेगरेको बताए।
उनले भने: “यो बेला यदि दाजुभाइको हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दा दाइ हिडिँरहेकोले हिँड्नु पर्दैन भनेर कसैले भनेन।”
राष्ट्रियसभामा चाहिँ उनी मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने मनोनयन अन्तर्गत नियुक्त भएका हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








