कहिले राजाका अगाडि नाराबाजी, कहिले खुर्सानीको धुलो : नेपालको संसद्‌मा भएका थिए यस्ता घटना

संसद् हल

तस्बिर स्रोत, Parliament Secretariat

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भारतको तल्लो सदन लोकसभामा दुई व्यक्ति दर्शकदीर्घाबाट हाम फालेर सांसदहरू बस्ने ठाउँमा गई ग्यास फ्याँकेको विषय विश्वभरि समाचारको विषय बनेको छ। ती व्यक्ति कसरी त्यहाँसम्म पुग्न सके र उनीहरूको उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

नेपालको संसद् भवनमा पनि विगतमा सुरक्षा व्यवस्थाप्रति प्रश्न उत्पन्न हुने गरी केही घटनाहरू भएका छन्।

जानकार र अधिकारीहरूका अनुसार बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि २०४८ सालको संसद्‌मा यस्तै प्रकृतिका केही घटना नेपालको संसद्‌मा भएका थिए।

राजा वीरेन्द्रका अगाडि नाराबाजी

संसद् सचिवालयका भूतपूर्व महासचिव सूर्यकिरण गुरुङका अनुसार विसं २०४८ सालतिर नेपालको संसद्‌मा दर्शक बनेर गएका लक्ष्मण सिंह खड्काले राजा वीरेन्द्र बाहिरिन लागेको बेला नाराबाजी गरेका थिए।

“त्यस बेला राजाले नीति तथा कार्यक्रम पेस गर्ने चलन थियो। राजा वीरेन्द्र नीति तथा कार्यक्रम पेस गरेर फर्कन लाग्दा दर्शकदीर्घाबाट ‘सरकार वाग्मती फोहोर भयो, सफा गर्नुपर्‍यो भन्दै’ लक्ष्मण सिंह खड्का कराए,” गुरुङ स्मरण गर्छन्।

“उनलाई तत्कालै सुरक्षाकर्मीले समातेर बाहिर निकाले।”

सिंहदरबारस्थित पुरानो संसद् भवन

तस्बिर स्रोत, Ashok Dahal / BBC

तस्बिरको क्याप्शन, सिंहदरबारस्थित पुरानो संसद् भवन

संसद् चलिरहेको बेला एक कर्मचारीको अस्वाभाविक गतिविधि

लामो समय संसद्‌ सचिवालयमा बिताएका गुरुङका अनुसार एक कार्यालय सहयोगी पनि संसद् बैठक चलिरहेको समयमा सभामुख बस्ने ठाउँमा गएका कारण पक्राउ परेका थिए।

“उनी संसद् चलिरहेका बेला हिँड्दै आए। केही टिपोट लिएर आएको होला भन्ने हामीले ठान्यौँ, त्यस कारण कसैले रोकेन। उनी त सरासर सभामुख बस्ने आसन पछाडि पुगेर जीउ तन्काएर बोल्न खोजेपछि मात्रै सबै जना झस्कियौँ,” गुरुङ सुनाउँछन्।

उनका अनुसार ती व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। उनको मानसिक स्वास्थ्यमा समस्या रहेको ठानेर जाँच गराइएको उनले बताए।

सांसद बस्ने ठाउँमा गाविस अध्यक्ष

नेपालको संसद्‌मा सांसदजस्तै बनेर एक पटक गाउँ विकास समितिका अध्यक्ष प्रवेश गरेको विषय पनि चर्चा हुने गरेको छ।

सांसदको जस्तै देखिने लोगो र कोट लगाएका उनलाई सुरक्षाकर्मीहरूले सांसद ठानेर नरोकेको हुन सक्ने संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्मा बताउँछन्।

“उनलाई मर्यादापालकले बाहिर निकालेका थिए। आफूलाई थाहा नभएर सांसदको ठाउँमा गएको भनेपछि त्यत्तिकै छोडिएको थियो,” शर्माले भने।

संसद् भवन

तस्बिर स्रोत, RSS

संविधानसभा भवनमा खुर्सानीको धुलो

नेपालको संविधान निर्माणका लागि गठन भएको संविधानसभामा नयाँ संविधानका कतिपय विषयवस्तु माथि दलहरूबीचको मतभेद उत्कर्षमा पुगेको बेला विसं २०७१ माघ ८ गते संविधानसभा भवनभित्र खुर्सानीको धुलो भेटिएको थियो।

संसद्का पूर्वसचिव शर्माका अनुसार संविधानसभाको बैठक बस्नुअघि तालिमप्राप्त कुकुर लगाएर चेकजाँचका क्रममा खुर्सानीको धुलो फेला परेपछि सभासद् र अन्य व्यक्तिहरूको सुरक्षाजाँच कडा बनाइएको थियो।

“कुकुरले सुँघ्ने क्रममा १० पोका खुर्सानीको धुलो भेटिएको थियो। सुरक्षा पार गरेर सदनभित्र भेटिएको त्यो खुर्सानी कसले र किन लगेको भन्ने पत्ता लागेन,” शर्माले भने।

उनका अनुसार भवनभित्र सीसीटीभी क्यामरा नभएका कारण पनि खुर्सानीको धुलो लैजाने व्यक्ति पहिचान गर्न कठिन भएको थियो।

अधिकारीहरूले कुनै सांसदले आफ्नो गाडीमा लिएर गएका कारण खुर्सानीको धुलो सुरक्षाजाँच पार गरेर भवनभित्र पुर्‍याउन सफल भएको आकलन गरेका थिए।

संविधानसभामा हुन लागेका कतिपय निर्णयको विपक्षमा माओवादी भएका कारण अधिकारीहरूले माओवादी सांसदहरूले नै खुर्सानीको धुलो लिएर गएको आशङ्का गरेका थिए। तर खुर्सानीको रहस्य अझै कायम छ।

माओवादी सांसदसँग पेस्तोल

विसं २०६२-६३ को आन्दोलनपछि प्रतिनिधिसभा पुनः स्थापित भयो। संसद्‌मा शान्तिप्रक्रियामा आइसकेको नेकपा माओवादीलाई पनि सहभागी गराइयो।

माओवादीको हतियार शिविरमा राखिएको भए पनि माओवादीका नेताहरूको सुरक्षामा हतियारसहित पूर्वलडाकुहरू परिचालित थिए।

त्यस बेला संसद् सिंहदरबार परिसरमा थियो। संसद् जान हिँडेका माओवादी सांसद नेता लोकेन्द्र बिष्ट मगरको साथमा पेस्तोल बरामद भएपछि ठूलो हलचल मच्चिएको थियो।

लोकेन्द्र बिष्ट मगर

तस्बिर स्रोत, Lokendra Bista Magar / Facebook

तस्बिरको क्याप्शन, लोकेन्द्र बिष्ट मगरले पछि माओवादी पार्टी परित्याग गरे

तात्कालिक सभामुख सुवास नेम्वाङले बोलाएको सर्वदलीय बैठकमा अन्य दलका सांसदहरूले माओवादी नेताहरूले हतियार बोकेर हिँडेको विषयमा प्रश्न उठाएका थिए।

उक्त बैठकमा सहभागी रहेका बिष्टले "मसँग अहिले पनि पेस्तोल छ" भन्दै आफूलाई कारबाही गर्न चुनौती दिएको त्यस बेला संसदीय पत्रकारिता गरिरहेका राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाँलले बताउँछन्।

पछि माओवादी पार्टीको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उक्त प्रकरणमा माफी मागेका थिए। तर उनले बिष्ट नियतवश हतियार लिएर संसद् नगएको दाबी गरेका थिए।

'पर्चा छर्ने योजना'

प्रतिनिधिसभाको बैठक कक्ष

तस्बिर स्रोत, Parliament Secretariat

गत असार महिनामा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसिरहेका डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न दबाव दिन प्रतिनिधिसभाको बैठकमा पर्चा फ्याँक्ने योजना बनाइएको उक्त अभियानमा संलग्न व्यक्तिले बताएका छन्।

उक्त योजना बनाउनेमध्ये आफू पनि भएको जगन्नाथ लामिछानेले बताए।

चलचित्र निर्माता रवीन्द्रसिंह बानियाँले आफूसहित लामिछाने र अक्षय अधिकारी असार १० गते आफूहरू त्यस्तो योजनासहित सदनभित्र पुगेको भन्दै तस्बिर सार्वजनिक गरेका थिए।

त्यस दिन केसीसँग भएको सम्झौताअनुसार विधेयक पास नभए दर्शकदीर्घाबाट पर्चा फालेर विरोध जनाउने योजना रहेको लामिछानेले बताए। आफूहरू पक्राउ पर्नका लागि पनि तयार भएरै गएको उनको भनाइ छ।

"हामीले भित्री वस्त्रमा केही पर्चाहरू लुकाएर लगेका पनि थियौँ। तर त्यस दिन संसद् बैठकमा विधेयक माथि छलफल नै भएन र हामी यत्तिकै फर्कियौँ," लामिछानेले भने।

संसद्‌भित्र झडप र तोडफोड

संसद्‌मा भएको तोडफोड

तस्बिर स्रोत, Reuters

नेपालको संसद् भवनमा सांसदहरूबाटै तोडफोड र हातपातका घटनाहरू भने बारम्बार भएका छन्।

बजेट पेस गर्ने क्रममा तात्कालिक अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रीफकेस माओवादीका सांसदहरूले खोस्ने प्रयास गरेका थिए। संविधानसभामा माओवादीका सांसदहरूले तोडफोड गर्दै कुर्सी उचालेर फालेका तस्बिरहरू अझै पनि इन्टरनेटमा भेटिन्छन्।

संविधानसभा सदस्य सञ्जय साहले संसद्को माइक भाँचेपछि उनलाई जरिवाना गर्ने निर्णय भएको थियो। तर अदालतले उनलाई गरेको जरिवानाको सजाय उल्टाइदिएको थियो।

पहिलो संविधानसभामा एमाले सभासद् कमला शर्माले नेपाली कांग्रेसका पूर्णबहादुर खड्कामाथि चप्पल प्रहार गरेकी थिइन्।

त्यसअघि २०५० सालमा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल मन्त्री रहेका समयमा उनलाई एमालेबाट राष्ट्रिय सभामा सांसद बनेका गोल्छे सार्कीले झापड हानेका थिए।

एक पटक प्रतिनिधिसभा बैठकमा तात्कालिक गृहमन्त्री शेरबहादुर देउवालाई ताकेर एमाले संयुक्त जनमोर्चाका सांसद कमान सिंह लामाले जुत्ता प्रहार गरेका थिए।

नेपालको संसद् भवनमा सुरक्षा व्यवस्था कस्तो छ?

सङ्घीय संसद्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाइल तस्बिर

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिएर नेपालको सङ्घीय संसद्‌ले प्रयोग गरिरहेको छ। विसं २०६५ सालमा उक्त भवन भाडामा लिनुअघि संसद्‌को बैठक सिंहदरवारमा रहेको राणाकालीन भवनमा बस्ने गरेको थियो।

सरकारले सङ्घीय संसद्‌को आफ्नै भवन उच्च सुरक्षायुक्त ठानिएको सिंहदरबार परिसरको उत्तरपूर्वी भागमा बनाउँदै छ।

अहिलेको संसद् भवनमा तीन तहको सुरक्षा व्यवस्था गरिएको भवनभित्रको सुरक्षा हेर्ने मर्यादापालकका प्रमुख सानुभाइ खड्काले बताए।

उनका अनुसार संसद् भवनको बाहिरी भागमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन्। संसद् भवनको भित्री सुरक्षामा भने नेपाल प्रहरीबाट खटाइने विशेष प्रशिक्षण प्राप्त मर्यादापालकहरू खटाइन्छन्।

मर्यादापालकहरू विशिष्ट व्यक्तिको सुरक्षाका लागि विशेष तालिम लिएका प्रहरीहरूबाट खटाइने र उनीहरूलाई संसद्‌भित्रको सुरक्षाबारे थप प्रशिक्षण पनि दिइने खड्काले बताए।

“हाम्रो संसद् भवनभित्र जाने दर्शकहरूले कम्तीमा दुई तहको सुरक्षा जाँच पार गर्नुपर्छ। दुवै ठाउँमा मेटल डिटेक्टरसहितका उपकरणहरूबाट जाँच हुन्छ,” उनले बीबीसी न्यूज नेपालीसँग भने।

प्रतिनिधिसभामा मर्यादापालकहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, संसद्‌भित्र सुरक्षाका लागि मर्यादापालकहरू हुन्छन्

खड्काका अनुसार नेपालको संसद् भवनको बाहिरी गेटबाट प्रवेश गर्ने क्रममा दर्शकहरूका झोला र साथमा कुनै वस्तु रहे वा नरहेको जाँच गरिन्छ। साथमा कुनै धातुजन्य वस्तु भए नभएको पत्ता लगाउन प्रयोग गरिने मेटल डिटेक्टर गेटबाट दर्शकहरू भित्र प्रवेश गर्नुपर्छ।

“भवनभित्र प्रवेश गरिसकेपछि पनि सभाहलको पछाडिपट्टि माथिल्लो तल्लामा रहेको दर्शकदीर्घामा दर्शकहरू जाने ठाउँमा फेरि सुरक्षाजाँच गर्छौँ। त्यहाँ मेटल डिटेक्टर र मर्यादापालकहरूबाट शरीरको खानतलासी पनि लिन्छौँ,” खड्काले भने।

नेपालको प्रतिनिधिसभा र राष्ट्रिय सभामा सांसदहरू वा संसद् सचिवालयबाट जारी हुने एकदिने प्रवेशपास लिएर मात्रै दर्शकहरू जान पाउँछन्।

त्यसरी जाने दर्शकलाई धातुका कुनै वस्तु र डटपेन तथा नोटकपी पनि लैजान नदिइने खड्काले बताए।

“उनीहरूलाई प्रवेशअघि दर्शकदीर्घामा बस्दा पालना गर्नुपर्ने अनुशासन र गर्न हुने नहुने कामबारे पनि हामी जानकारी गराउँछौँ,” खड्काले भने।

संसद्को नयाँ भवनमा कस्तो सुरक्षा प्रबन्ध

संसद्को नयाँ भवन

तस्बिर स्रोत, KAMAL RAJ BHATTA

तस्बिरको क्याप्शन, संसद्को नयाँ भवन निर्माण भइरहेको छ

सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार आगामी वर्षबाट सञ्चालनमा आउने अपेक्षा गरिएको नयाँ संसद् भवनमा अहिलेको भवनभन्दा थप एक तहको सुरक्षा व्यवस्था हुने छ।

नयाँ संसद् भवन नेपाली सेना पनि रहने सिंहदरबारभित्र भएकाले त्यहाँ सेनाको सुरक्षा निगरानीमा सेना पनि संलग्न हुन्छ।

नयाँ संसद् भवनको मुख्य प्रवेशद्वारमै स्क्यानर लगाएर सवारी र मानिसहरूको जाँच गर्ने प्रबन्ध गरिएको छ। "दर्शकदीर्घासम्म पुग्दा सेन्सरसहितका एक्सरे उपकरणबाट हुने जाँच पार गरेपछि सुरक्षाकर्मीहरूले पनि खानतलासी गर्छन्,” धमलाले भने।

सिंहदरबारभित्र भएकाले संसद्का सुरक्षाकर्मीले भन्दा अगाडि सिंहदरबारका सुरक्षाकर्मीहरूले पनि चेकजाँच गर्ने उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।