हमासले रकेट प्रहार गरेपछि रफाहमा इजरेली हवाई हमला, शरणार्थी शिविरमा 'दर्जनौँ मानिस हताहत'

रफाहस्थित शरणार्थी शिविरमा भएको आगलागी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रफाहस्थित शरणार्थी शिविरमा भएको आगलागीमा दर्जनौँ मानिस हताहत भएको बताइएको छ

रफाहस्थित एउटा शरणार्थी शिविरमा आइतवार भएको विस्फोटनमा दर्जनौँ मानिसहरू हताहत भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले रफाहमा हमासले प्रयोग गरेको एउटा ठाउँलाई निसाना बनाउँदै हमला गरिएको जनाएको छ। आईडीएफले उक्त घटनाको समीक्षा भइरहेको जनाएको छ।

त्यसअघि हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो। ज्यानुअरी महिनायता हमासले उक्त इजरेली सहरमा गरेको पहिलो लामो दूरीको आक्रमण हो।

दक्षिणी गाजा स्ट्रिपबाट प्राप्त भिडिओमा ठूलो विस्फोटन भएको र आगो लागेको देखिन्छ।

हमासले रफाहको पश्चिमोत्तर भागमा भएका विस्थापित प्यालेस्टिनीहरूको शिविरमाथि हवाई हमला गरिएको जनाएको छ। उक्त क्षेत्र हालै सैन्य कारबाही भएका ठाउँभन्दा पर सुरक्षित क्षेत्र तोकिएको ठाउँमा पर्ने हमासको भनाइ छ।

मृत्यु हुनेमा महिला र बालबालिका रहेको हमासले जनाएको छ।

इजरेली सेना के भन्छ

आईडीएफले उक्त क्षेत्रमा हमासका लडाकुलाई निसाना बनाइएको र त्यसका लागि निश्चित ठाउँमा प्रहार गरिएको जनाएको छ।

आईडीएफले "पश्चिमोत्तर रफाहमा गरिएको आक्रमणमा" हमासका दुई वरिष्ठ नेताहरू मारिएको आईडीएफएको दाबी छ। हमासको स्वास्थ्य मन्त्रालयले एउटा इजरेली आक्रमणमा ३५ जनाको मृत्यु भएको र अरू दर्जनौँ मानिस घाइते भएको जनाएको छ।

मृतकको सङ्ख्या बढ्ने सम्भावना भएको विवरणहरू आएका छन्।

इजरेली हवाई हमलाका कारण लागेको आगोले सर्वसाधारणलाई हानि पुगेको विवरणबारे आफू अवगत रहेको आईडीएफले जनाएको छ। उक्त घटनाबारे समीक्षा भइरहेको उसको दाबी छ।

शुक्रवार 'इन्टर्न्याश्नल कोर्ट अफ जस्टिस' (आईसीजे)ले इजरेललाई रफाहमा आक्रमण रोक्न भनेको भए पनि इजरेलले सैन्य कारबाही जारी राखेको छ।

आइतवारको रकेट हमलाका बेला हर्ज्लियामा जोगिन खोज्दै दुई इजरेली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आइतवार हमासले गरेको रकेट हमलाका बेला भुइँमा बस्दै इजरेलीहरू

हमासबाट कस्तो खतरा

त्यसअघि आइतवार मध्यइजरेलमा रफाहनजिकैबाट हमासले रकेट गर्दा तेल अभिभनजिकै रहेका क्षेत्रमा चेतावनी दिन साइरन बजाइएको थियो।

हमासले प्रहार गरेका रकेटहरूलाई या त हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएका थिए वा ती खुला ठाउँमा खसेका थिए।

हमासले गरेको रकेट हमलाका कारण इजरेलपट्टि कोही हताहत भएका विवरण नआएको भए पनि इजरेलवासीहरूमा अझै हमासबाट खतरामा रहेको देखिन्छ।

अहिले इजरेली सेना हमासलाई "सखाप पार्न" भन्दै दक्षिणी गाजातर्फ अघि बढिरहेको छ। उक्त क्षेत्र हमासको पकडमा रहेको अन्तिम ठाउँ भएको उसको दाबी छ। तर हमासले तेल अभिभतिर गरेको रकेट आक्रमणले इजरेली सेनाले कस्ता चुनौती खेप्नुपर्छ भन्ने सङ्केत गर्छ।

वार्ता के हुँदै छ

अर्को साता पुनः इजरेल र हमासबीच युद्धविरामसम्बन्धी वार्ता सुरु हुने अपेक्षा भइरहँदा यी घटनाहरू भएका हुन्।

हमासको सैन्य एकाइले "नागरिकहरूको नरसंहार"को प्रत्युत्तर दिन आफूले आक्रमण गरेको जनाएको छ।

रफाहमा तीन साताअघि इजरेलले लामो समयदेखि गर्ने भन्दै आएको सैन्य आक्रमण सुरु गरेको हो। इजरेलले त्यहाँ हमासद्वारा बन्धक बनाइएका आफ्ना नागरिकहरूलाई राखिएको जनाएको छ।

उक्त सैन्य कारबाही सुरु भएयता आठ लाखभन्दा धेरै प्यालेस्टिनीहरूले रफाह छाडेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

गाजामा अन्यत्र लडाइँ हुँदा भागेर आएका झन्डै १५ लाख मानिसले रफाहमा शरण लिएका थिए।

अक्टोबर ७ मा दक्षिणी इजरेलमा १,२०० जनाको ज्यान जाने र अन्य २५२ जनालाई बन्धक गराउने गरी हमासका लडाकुहरूले आक्रमण गरेका थिए। त्यसलगत्तै इजरेलले गाजामा हमला सुरु गरेको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली सैन्य कारबाहीमा अहिलेसम्म गाजामा झन्डै ३६,००० प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।