बरामद भएको तस्करीको सुन तौलिन किन ढिलाइ

बरामद सुन

पछिल्लो सुन तस्करी प्रकरणमा झण्डै एक क्विन्टल सुन बरामद भएको भन्ने खबरले सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो भन्ने अझैँ निश्चित भइरहेको छैन।

अधिकारीहरूका अनुसार बरामद गर्ने निकाय राजश्व अनुसन्धान विभागमा त्यसबारे धेरैले चासो राखेको पाइएको छ।

गत साता मङ्गलवार बरामद गरिएको उक्त सुन बिहीवार राष्ट्र ब्याङ्कलाई बुझाइएको थियो। राष्ट्र ब्याङ्कको टक्सार महाशाखाको सेफमा त्यसलाई सुरक्षित राखिएको बताइएको छ।

‘ब्रेक शू’ भनेर ल्याइएको सुनको जम्मा वजन १४५ किलो रहेको बताइएको थियो। ‘ब्रेक शू’बाट छुट्टाएर सुन पगालेपछि त्यसको तौल लिने अधिकारीहरूले बताएका थिए।

राजश्व विभागको पत्र कुर्दै राष्ट्र ब्याङ्क

साउन २ गते मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भई बाहिर निकालिएका बेला राजश्व अनुसन्धान विभागले त्यस्तो सुन बरामद गरेको थियो।

सुनको तौल करिब १०० किलो भएको जनाएको विभागले त्यसको तौल लिन ४ गते बिहीवार राष्ट्र ब्याङ्कमा पठाएको हो।

ब्याङ्कका अधिकारीहरूका अनुसार विभागले तौल लिने प्रक्रिया अघि बढाउन पत्र पठाएपछि एक हप्ताभित्र उक्त प्रक्रिया पूरा गर्न सकिने बताएका छन्।

सुनको हिसाब

तस्बिर स्रोत, Reuters

ब्याङ्कको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार पत्र पाएपछि नेपाली सेना, हाम्रा सुरक्षाकर्मी, मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा, आन्तरिक लेखा परीक्षण र राजश्व विभागका प्रतिनिधिको रोहबरमा सुन राखिएको पोका खोलिने छ। र सुनलाई अलग गरेर गलाइन्छ।

त्यो सुन भए वा नभएको अथवा सुनको शुद्धता वा गुणस्तर पहिचानको निम्ति नमुना निकालेर प्रयोगशालामा परीक्षण गरिन्छ।

किन ढिला गरिरहेको छ, राजश्व विभागले?

“परीक्षणको परिणाम आएपछि तौल अनुसार हामीले नेपाल सरकार राजश्व अनुसन्धान विभागलाई भुक्तानी दिन्छौँ,” टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले भने, “हामी त संरक्षक मात्र हौँ। त्यो राजश्व अनुसन्धान विभागको सम्पत्ति हो, पत्र आएपछि करिब एक हप्तामा सबै प्रक्रिया पूरा गर्न सक्छौँ।”

विभागको कार्यालय

तस्बिर स्रोत, DoRI

उनले राजश्व अनुसन्धान विभागले पत्र पठाए लगत्तै प्रक्रिया सुरु गर्न सकिने बताए।

विभागले राष्ट्र ब्याङ्कलाई अहिले सम्म किन पत्र पठाएन?

त्यसबारे सर्वसाधारणले पनि चासो राखेको र सोधखोज भइरहेको विभागले जनाएको छ।

“बरामद भएको सामानसँग अनुसन्धानको प्रक्रिया पनि जोडिन्छ, त्यसको एउटा चरण पार गरिसकेपछि हामी पत्र पठाउँछौँ,” विभागका महानिर्देशक नवराज ढुङ्गानाले भने, “सकेसम्म हामी छिटो गर्छौँ।”

Redline
Redline

अनुसन्धानकर्ताहरूको टिम पनि पूरा भइसकेको र तौलको निम्ति केही दिनमै प्रक्रिया सुरु हुनसक्ने अधिकारीहरूले जनाएका छन्।

उक्त सुन तस्करी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ।

राजनीति तताएको मुद्दा

एमाले अध्यक्ष केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा १-१ जना भारतीय र चिनियाँ नागरिक अनि एक भन्सार अधिकृत सहित तीन जना कर्मचारी पनि छन्।

अहिलेसम्म एकै पटक फेला परेको यो नै सबैभन्दा ठूलो परिमाणको सुन भएको बताइएको छ।

उक्त तस्करी प्रकरण राष्ट्रिय राजनीतिको मुद्दा पनि बन्न पुगेको छ।

रेडलाइन
रेडलाइन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिनमा दोषी देखिने कसैलाई नछाड्ने बताएका थिए।

त्यस क्रममा उनले कुनै (बालुवा) टार, (बाल) कोट वा पार्टी नहेरी अनुसन्धान गर्ने भनी दिएको दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ

तस्बिर स्रोत, RSS

उनले गृहमन्त्रीको भनाइ गैर जिम्मेवार भएको आरोप लगाए। उनको दलले सुन प्रकरणलाई लिएर सरकारमाथि दबाव बढाउने निर्णय लिएको देखिन्छ।

उच्च अधिकारी, ठूला व्यापारी र राजनीतिक व्यक्तिहरूको संलग्नता बिना त्यति ठूलो तस्करी सम्भव नहुने आम प्रतिक्रिया सार्वजनिक भइरहेको पाइन्छ।

विगतका सुन तस्करीमा पनि भरिया वा कमजोर आर्थिक हैसियतका व्यक्तिहरू मात्र पक्राउ पर्ने गरेको पृष्ठभूमिमा पछिल्लो प्रकरणमा भइरहेको अनुसन्धानबारे धेरैको चासो पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।