सुन तस्करीको जालोमा अर्थतन्त्र: एक केजीमा गुम्छ रु १२ लाख राजस्व

भारतको एक सुन पसल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अवैध ढङ्गले ल्याइएका सुन खुला सिमानाबाट भारतीय बजारमा पुग्ने गरेको ठानिन्छ (साङ्केतिक तस्बिर)
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा केही समययता सुन तस्करी ह्वात्तै बढेको ठान्ने अर्थशास्त्री युवराज खतिवडाले त्यसका प्रारम्भिक सङ्केत सीमावर्ती क्षेत्रमा महिनौँ अगाडि देखा परिसकेको बताएका छन्।

“तपाईँले बेलाबेला समाचार पढ्नुभएको थियो होला नि सीमा क्षेत्र र अनौपचारिक बजारमा भारतीय रुपैयाँको विनिमय दर कमजोर भइरहेको छ भनेर। मानिसहरूले १५० को दरले भारु सटही गरेका समाचारको सोझो सम्बन्ध यही सुन तस्करीसँग छ।”

पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र ब्याङ्कका पूर्वगभर्नर युवराज खतिवडाले दशकौँदेखि नेपाली अर्थतन्त्रको नाडी छामेर बसेका छन्।

"अर्थतन्त्र भनेको पनि एक किसिमको इन्जियरिङजस्तै हो," उनी भन्छन्, "यसमा कहाँ कस्ता विचलन भइरहेका छन् भन्ने कुरा कारण र परिणाम हेरेर सहजै थाहा पाउन सकिन्छ।"

विशेषगरी बितेको सात-आठ महिनायता नेपाल-भारत सीमा क्षेत्रमा अनौपचारिक रूपमा कारोबारीहरूले १५० नेपाली रुपैयाँको बदला १०० भारु दिन थालेका र नेरु नै लिन रुचाउन थालेका खबरहरू लगालग आएका थिए। यद्यपि नेरु र भारुबीच १६० को स्थिर विनिमय दर कायम छ।

जानकारहरूका अनुसार त्यसो हुनु भनेको ती कारोबारीसँग अवैध आर्जन गरिएको भारु प्रशस्त भयो भन्ने बुझ्नुपर्छ र त्यसको एउटा प्रमुख स्रोत सुन तस्करी हुनसक्ने अनुमान गरिएको छ।

सुन तस्करीको जालो

नेपालमा अहिले सुनको वैध आयात केवल ब्याङ्कहरूले मात्र गर्न पाउँछन्। त्यसका लागि पनि दैनिक कोटा १० किलोग्रामको सीमा तोकिएको छ।

देशभित्र नै सुनको खपत अहिले उच्च मूल्यका कारण शिथिल भइरहेको व्यवसायीहरू बताउँछन्।

बिहीवार नेपालमा सुनको मूल्यले कीर्तिमान भङ्ग गरेर प्रतितोला १,१३,६०० रुपैयाँ पुग्यो।

अवैध सुन बरामदको आँकडा

“अहिले भारतको बजारसँग यहाँको सुनको भाउ मिलान गर्न भन्दै हाम्रो भन्सार दर बढाइएको छ। अवस्था यस्तो छ कि सुनको भाउ नेपाल र भारतमा उस्तै छ बाँकी जताततै यहाँभन्दा सस्तो छ,” नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले भने।

उनले उदाहरण दिँदै दुबईमा भन्दा नेपालमा सुन प्रतितोला १७,००० रुपैयाँले महँगो पर्ने बताए।

“एक तोलामा त्यति धेरै फाइदा भएपछि तस्करहरूले विभिन्न सेटिङ मिलाएर नाफा बाँड्नेगरी सुन भित्र्याउने भए। त्यसमाथि वैध रूपमा ल्याउँदा तिर्नुपर्ने भन्सार पनि छलिन्छ।”

नेपाल र भारतमा सुनको मूल्य उस्तैउस्तै भएका बेला उतैबाट सरासर आयात नगरी यताबाट अवैध तस्करी गराउनु भनेको त त्यहाँ स्रोत देखाउन नमिल्ने पैसा भएकाहरूले गरेको कारोबार हुनसक्ने जानकारहरू ठान्छन्।

कर नतिरेको, भ्रष्टाचार गरेको, अनि आतङ्ककारी क्रियाकलापसँग सम्बन्धित अर्थतन्त्रसँग यस्ता तस्करी कारोबार जोडिने उनीहरू बताउँछन्।

रेडलाइन
रेडलाइन

अर्थतन्त्रमा यस्ता विचलन

अवैध सुन आयातले देशको अर्थतन्त्रमा माथिदेखि तलसम्म शृङ्खलाबद्ध विचलन ल्याउने जानकारहरू बताउँछन्।

अहिले प्रत्येक एक किलोग्राम सुनमा भन्सार शुल्क मात्र १२ लाख रुपैयाँभन्दा धेरै तिर्नुपर्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए।

सुन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सुनको अवैध कारोबारले अर्थतन्त्रका विविध क्षेत्रमा विचलन ल्याउने जानकारहरूको भनाइ छ (फाइल तस्बिर)

सोझो हिसाबमै पनि एक सय किलो सुन अवैध भित्र्याउँदा १२ करोडको भन्सार नोक्सानी हुन्छ भने त्यस्ता अवैध सुन नेपालभित्रै खपत गर्ने हो भने पनि स्रोत देखाउन नसक्दा वैध बजारमा कारोबार हुन पाउँदैन।

“वैध बजारमा त्यस्ता अवैध सुनले कागजात देखाउन सक्दैनन्। ती अवैध रूपले किनबेच हुन्छन् र कालो धन फैलन्छ। त्यसमा न कसैले आयकर तिर्छ न अन्य कर तिर्छ। सबैतिर छली गरेर कालो धन थुप्रिन्छ,” बज्राचार्यले भने।

त्यसमाथि देशभित्र भन्दा पनि त्यस्ता अवैध सुन खुला सिमानाको दुरुपयोग गर्दै भारत जाने गरेको सबैको जानकारीमा रहेको उनले बताए।

सीमा पार तस्करीको डरलाग्दो परिणाम

भारतको मुम्बईको सुन पसल

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारत सुनका गहना खपत हुने विश्वकै सबभन्दा ठूलोमध्येको बजार मानिन्छ (साङ्केतिक तस्बिर)

सुन तस्करीको अर्को डरलाग्दो पाटो भनेको यसले देशको समष्टिगत आर्थिक स्वास्थ्य अनि अर्थराजनीतिमात्र बिगार्ने होइन कि द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको साख समेत गिराउँछ।

“सुन तस्करीपछाडिको अर्थतन्त्र भनेको हुन्डीको अर्थतन्त्र हो। ब्याङ्कमार्फत् बाहेक कसैले पनि प्रतीतपत्र खोलेर सुन ल्याउन कानुनले दिँदैन। तर यसरी अवैध ल्याएका सुनका निम्ति विदेशी मुद्रा पक्कै तिर्नुपर्छ होला र त्यो यहाँबाट नै तिर्ने होला,” खतिवडाले भने।

यसो हुँदा देशको विदेशी मुद्राको ढुकुटीदेखि भुक्तानी सन्तुलन नै खलबलिन्छ।

वैध आयात भएको मात्रै सुनको परिमाण हेर्दा पनि यो वर्षको ११ महिनामै ४३ अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। रकमको आधारमा सुन पाँचौँ सबैभन्दा ठूलो आयात सामग्री हो।

“त्यसमाथि सुन तस्करीको अर्थतन्त्र भनेको अवैध अर्थतन्त्र, अपारदर्शी अर्थतन्त्र, सम्पत्ति शुद्धीकरण गर्न खोज्नेको अर्थतन्त्र र छिमेकी मुलुकलाई रिस उठाउने अर्थतन्त्र पनि हो।”

अवैध भित्रिएका सुनको अधिकांश हिस्सा भारतमा लगिने र आर्जन गरिएका रकम हातहतियार वा लागुऔषध वा विध्वंस वा आतङ्कवादी क्रियाकलाप वा लोकतन्त्रलाई असर गर्ने अन्य अवैध र अनुचित क्रियाकलापमा समेत प्रयोग हुन सक्ने सम्भावना बलियो हुने उनले औँल्याए।