'अवैध सुनको प्रमुख गन्तव्य भारत'

बारम्बार ठूलो परिणाममा अवैध सुन बरामद गरेको नेपाल प्रहरीका अधिकारीहरुले मूल रुपमा भारत लग्ने उद्देश्यले सुन तस्करी भइरहेको बताएका छन्।
प्रहरीले काठमाण्डूमा तस्करी गरेर ल्याइएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा बरामद गरिएको सुन महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार सार्वजनिक गरेको थियो।
प्रहरीले गाडीमा लुकाइएको अवस्थामा बरामद गरेको झण्डै ८८ किलो सुनसँगै गाडी चालकलाई पनि गिरफ्तार गरेको छ।
संगठीत अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डिआईजी पुष्कर कार्की भन्छन्, ''खाडी मुलुक र चीनबाट अवैध सुन नेपाल भित्रिन्छ। त्यहाँ सुन बाहिर लैजान कुनै प्रतिबन्ध छैन। भन्सार नतिरेर भित्र्याइने त्यस्तो सुन थोरै नेपालमा र बाँकी सबै भारतमा खपत हुन्छ।''
भारतले विदेशी मुद्राको खर्च कटौती गर्न सुनको आयातमा कडाइ गरेपछि भारतीयले सुन खरिद गरेर सञ्चित गर्न खोज्ने प्रवृति बढेकाले नेपाल हुँदै सुन तस्करी बढेको जानकारहरुको भनाइ छ।
कारण
सीमा नाकामा हुने फितलो जाँच र कमजोर अनुगमन प्रणालीका कारण पटक-पटक विभिन्न परिमाणमा अवैध सुन बरामद हुने गरेको अधिकारीहरु बताउँछन्।
खासगरी दुई ठूला मुलुकसँगको सिमानामा तस्करी नियन्त्रणका लागि चाहिने उपकरण, विज्ञ जनशक्ति र सूचना लिन गर्नुपर्ने लगानीको अभाव सुन तस्करीको मुख्य कारण भएको उनीहरुको भनाइ छ।
अधिकारीहरुका अनुसार प्रहरी अनुसन्धानले नेपालबाट हुने अधिकांश सुन तस्करीमा भारतीयको लगानी रहने र सीमित मात्रामा नेपाली पनि संलग्न रहेको देखाउँछ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, "चीन र भारतको तुलनामा भन्सार दर नेपालमा बढी भएकाले पनि यहाँ अनुचित काम त्यसले प्रोत्साहन गरेको बताइन्छ।''
खपत
नेपाल राष्ट्र ब्याङ्कले दैनिक १५ देखि २० किलो सुन, व्यवसायीलाई कोटा प्रणालीका आधारमा उपलब्ध गराउँदै आएको छ।

तस्बिर स्रोत, Nepal Police
दैनिक ३० केजी सम्म खपत भईरहेको र बढीमा ५० केजीसम्म खपत हुने महासंघले जनाएको छ।
बजारमा अवैध सुन खपतबारे यथार्थ तथ्याङ्क नभएको बताउँदै राष्ट्र ब्याङ्कका प्रवक्ता नारायण प्रसाद पौडेल भन्छन्, ''अवैध रुपमा भित्रिएको सुनका कारण अलिकति असर सुनको माग-आपूर्तिमा परेको छ।''
आशंका
विगतमा बरामद भएका ठूला परिमाणका सुन र त्यसमा रहेको भनिएको संलग्नताबारे जानकारहरु पछिल्लो ८८ किलो सुन तस्करीमा पनि उच्च तहको मिलेमतो रहेको लख काट्छन्।
गत वर्ष ३३ किलो सुन बरामद हुँदा पनि ठूलै सञ्जाल सक्रिय रहेको र त्यसमा उच्च तहको संलग्नता रहेको चर्चा भएको थियो।
तर ठूल्ठूला सुन तस्करी प्रकरणमा चर्चा हुने गरेका ठूला हैन साना माछा मात्र प्रहरीको हात पर्ने गरेको आरोप लाग्ने गरेको छ।








