तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली महिला टोली क्रिकेटको विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न विफल
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
महिला राष्ट्रिय क्रिकेट टोली फेरि एक पटक २० ओभरको महिला विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न विफल भएको छ।
विगतमा झैँ यस पटक पनि थाईल्यान्ड नेपालको बाधक बन्न पुग्यो।
मलेशियामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल थाईल्यान्डसँग ४६ रनले पराजित भएको हो।
टस जितेको नेपालले पहिले फील्डिङ गर्ने निर्णय गरेको थियो। थाईल्यान्डले २० ओभरमा दुई खेलाडी गुमाउँदै १०५ रन बनायो।
चलेन नेपालको ब्याटिङ
नेपाली बलर कविता कुँवरले ओपनर सुवनन खियाओतोको विकेट पहिलो ओभरमै लिएकी थिइन्।
तर त्यसपछि नानापत कोन्चारेन्काईले सर्वाधिक ५९ रन तथा नाथाकन चान्थमले ३१ रन बनाएपछि थाई टोलीको स्कोर १०० नाघेको थियो। यी दुई खेलाडीले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।
नेपाली ब्याटरहरूले निकै निराशाजनक प्रदर्शन गरे। नेपाली टोली ५९ रनमा अलआउट हुन पुग्यो।
खेलको तेस्रो बलमा नै काजोल श्रेष्ठ खाता नखोलीकनै आउट भइन्।
अर्को ओभरमा दुई विकेट गुम्यो। दोस्रो ओभरको दोस्रो बलमा इन्दु वर्मा तीन रन मात्र बनाएर बाहिरिइन् भने चौथो बलमा कप्तान रुबिना क्षेत्री बिनारन एलबीडब्ल्यू आउट हुन पुगिन्।
सीता रानामगरले केही समय इनिङ्स सम्हालेकी थिइन्। तर चौथो ओभरको दोस्रो बलमा उनी पनि क्याच आउट भइन्। उनले १० बल खेलेर एक चौका प्रहार गरिन्।
पाँच ओभर समाप्त नहुँदै भरपर्दा चार खेलाडी केबल आठ रन बनाएर आउट भएपछि नेपाल दयनीय अवस्थामा पुगिसकेको थियो।
त्यसपछि कविता जोशी र अप्सरी बेगम खेललाई १२ ओभरसम्म लम्ब्याउन सफल भए।
बाह्रौँ ओभरमा कविता जोशी १० रन बनाएर आउट भइन् । लगत्तै आएकी बिन्दु रावल पनि खाता खोल्न नसकी आउट भइन्।
तेह्रौँ ओभरमा अप्सरी बेगम पनि १० रन जोडेर आउट भइन्। पूजा महतो ४ रन, अस्मिता कर्माचार्य ३ रन र खुसी डङ्गोल १ रनमा आउट भए।
कविता कुँवर १७ रनमा अविजित रहिन्। उनलाई साथ दिन कोही भएनन्।
अधुरो सपना
महिला टोली अहिलेसम्म विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेको छैन।
राम्रो प्रदर्शन गरे पनि अन्तिम खड्गोका रूपमा रहेको थाईल्यान्ड वा यूएईलाई पन्छाउन नसक्दा नेपाल निराश हुँदै आएको छ।
दुई वर्षअघि सन् २०२१/२२ मा यूएईमा भएको ग्लोबल छनोटमा पनि त्यस्तै भयो।
लीगको अन्तिम खेलमा यूएईलाई पन्छाउन सकेको भए नेपालको ग्लोबल छनोटको ढोका खुल्थ्यो। तर ४८ रनले पराजित हुँदा नेपालको यात्रा समाप्त हुन पुगेको थियो।
यसअघि नेपाल हङ्कङसँग पनि पराजित भइसकेको थियो।
सो वर्ष आईसीसीले बलियो थाईल्यान्डलाई सीधै ग्लोबल छनोटमा राखेर एसिया क्षेत्रलाई खुकुलो बनाइदिएको थियो। त्यसबाट नेपाललाई फाइदा पुगेको थियो।
तर छनोटमा नेपाल तेस्रो स्थानमा खुम्चियो। यूएई पहिलो तथा हङ्कङ दोस्रो हुँदै छनोट भयो।
सन् २०१८ मा भएको छनोटमा पनि नेपालले त्यस्तै दुर्भाग्य बेहोरेको थियो।
नेपालले लीग चरणका छमध्ये पाँच खेल जिते पनि निर्णायक खेलमा थाईल्यान्डलाई पन्छाउन नसक्दा खाली हात फर्किनुपर्यो।
नेपाल थाईल्यान्डसँग ५७ रनले पराजित भएको थियो।
नेपाल उपविजेता बन्यो। तर त्यो वर्ष आईसीसीले शीर्ष स्थानको एक टोलीलाई मात्र ग्लोबल छनोटमा स्थान दिइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।