तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली क्रिकेट टोलीको विश्वभरि प्रशंसा, भारतीय खेलाडीले के भने
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
भारतसँगको खेलपछि नेपाली क्रिकेटरहरूको भारतीय खेलाडीहरूसँग मैदानबाहिर पनि पुनः भेट भयो।
उत्कृष्ट ब्याटिङ गरेको भन्दै भारतीय स्टार विराट कोहली, हार्दिक पान्ड्या र प्रशिक्षक राहुल द्रविडले आशिफ शेख, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीलाई 'तक्मा' दिए।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले उक्त अवसर सिर्जना गरेका थिए।
भारतीय खेलाडीहरूले नेपाली खेलाडीहरूको प्रशंसा गरिरहेका थिए, खेलका 'टिप्स' बाँडिरहेका थिए।
नेपाली खेलाडीहरू अटोग्राफ लिइरहेका थिए। ड्रेसिङ रूमको दृश्य निकै रमाइलो थियो।
त्यहाँबाट निस्केपछि रवीन्द्र जडेजाले सञ्चारमाध्यमलाई भने, "मलाई नेपाली खेलाडीहरूले म्याचअघि के गर्नुहुन्छ भनेर सोधे? मैले 'जे नियमित काम गरिन्थ्यो त्यसैलाई निरन्तरता देऊ, गीत सुन, रमाइलो गर। आफूलाई दबावमा नराख' भनेँ।"
एशिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग खेलेपछि नेपाली टोलीको प्रदर्शनको विश्वभरिबाट प्रशंसा भइरहेको छ।
सम्भावित डर र देखिएको आत्मविश्वास
भारतसँग नेपाली ब्याटरहरू आत्मविश्वाससहित ब्याट घुमाइरहँदा टेलिभिजनका लागि खेलको प्रत्यक्ष प्रसारणमा उद्घोषण गरिरहेका भारतीय पूर्वखेलाडीहरूले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
तीव्र गतिका पूर्वबलर इरफान पठानले भने, "कुशल भुर्तेल, आशिफ शेख र सोमपाल कामीले जसरी ब्याटिङ गरे, त्यो प्रशंसायोग्य छ। नेपाल रक्षात्मक होइन, आक्रमण गर्न आएको छ। 'रनिङ बिट्वीन द विकेट' पनि राम्रो छ। हेरेर बडा रमाइलो लाग्यो।"
पूर्वकप्तान गौतम गम्भीरले पनि निरन्तर नेपालको प्रशंसा गरिरहे। उनी भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका सांसद पनि हुन्।
उनले भने, "तपाईँसँग तीव्र गति छ भने विपक्षीलाई तर्साउन शर्ट बल फ्याल्ने हो। तर नेपाली खेलाडीहरू शर्ट बलमा दबावमा देखिएनन्। बरु मोहम्मद शामी वा मोहम्मद सिराजजस्ता विश्वस्तरीय बलरसामु खुलेर खेले। मैले धेरै समयपछि कुनै पनि एशियाली टीमले शर्ट बलमा यति राम्रो खेलेको देखेँ। युवा नेपाली टीमको लागि यो साँच्चै नै राम्रो सङ्केत हो।"
एशिया कपमा छनोट भएर पहिलो पटक भारत र पाकिस्तानजस्ता प्रतिद्वन्द्वीको सामना गर्न पाउने निश्चित भएदेखि नै नेपाली टोलीको सम्भावित प्रदर्शनबारे अनेकौँ अनुमान गरिँदै आएको थियो।
ठूलो मञ्चमा नेपालीहरू निरीह होलान् वा नेपालले लज्जास्पद हार बेहोर्ला भन्ने डर समर्थकहरूमा देखिएको थियो।
तर ठिक विपरीत नेपालले पाकिस्तानविरुद्ध सुदृढ बलिङ तथा भारत विरुद्ध आत्मविश्वासयुक्त ब्याटिङ गर्यो।
नेपाली टोली उद्देश्यअनुरूप विश्वक्रिकेटमा राम्रो छाप छोड्न सफल देखियो।
नेपालको एशिया कप यात्रा
एशिया कप क्रिकेटमा सहभागी छवटा राष्ट्रमध्ये नेपाल सबैभन्दा कान्छो र तुलनात्मक रूपमा कमजोर टोली हो। तर एशिया कपमा छनोट हुनुको अर्थ नेपाल कमजोर राष्ट्र थिएन।
भारतीय खेलाडी रविचन्द्रन आश्विनले सामाजिक सञ्जालमा लेखे, "नेपालले वास्तवमै इमर्जिङ राष्ट्रहरूको बीचमा नेपाल किन अब्बल छ भन्ने प्रमाणित गरिदियो।"
मुल्तान पुग्दा नेपाली टोलीको स्वागत र सम्मानमा आयोजक पाकिस्तानले कुनै कमी गरेको थिएन।
अझ भारतविरुद्ध खेल्नुअगाडि पाकिस्तानका विश्लेषकहरूले त नेपालले कसरी राम्ररी खेल्नुपर्छ भनेर नेपाली टोलीको सूक्ष्म विश्लेषण गरेका थिए।
क्रिकेटसम्बन्धी सामग्री प्रकाशित गर्ने वेबसाइट ईएसपीएन क्रिकइन्फोलाई दिएको एउटा अन्तर्वार्तामा भारतका भूतपूर्व राष्ट्रिय खेलाडी रविन उथप्पाले भने, "उनीहरूले विश्वका ठूला प्रतिद्वन्द्वीविरुद्ध उही तहमा खेले। त्यसले उनीहरूको आत्मविश्वास बढाएको छ र भोलिका दिनमा नेपाल अझै अगाडि आउन सक्छ।"
नेपाली समर्थकमाझ चर्चामा रहेका क्रिकेट समीक्षक एन्ड्रू लियोनार्डले लेखेका छन्, “नेपालको पहिलो एशिया कप अभियान धेरै सकारात्मक कुराहरूसहित टुङ्गियो। पाकिस्तान र भारतसँग हार्नु कुनै लाजको विषय होइन र नेपालले दुवै खेलका स्वस्थ चरणहरूमा देखाएको छ कि उनीहरू यस स्तरमा द्रुत गतिमा सुधार गरिरहेका छन्। खेलाडीहरूको प्रदर्शनमा राष्ट्रले गर्व गर्नुपर्छ।"
भविष्यको यात्रामा 'भारतको सहयोग'
भारत र पाकिस्तानसँग खेल्नुअगाडि नेपालका पूर्व कप्तान पारस खड्काले लेखेका थिए, "यो त केवल एउटा थालनी हो, इतिहास रच्ने हाम्रो अनवरत यात्राको थालनी हो।”
त्यो प्रारम्भबिन्दुलाई नेपाली खेलाडीहरूले सदुपयोग गरे।
खेलपछि कुशल भुर्तेलले लेखेका छन्, "एशिया कपमा राष्ट्रको प्रतिनिधित्व गर्नु सम्मानको विषय हो। ठूला टीमहरूविरुद्ध खेल्नु चुनौतीपूर्ण थियो र मलाई विश्वास छ हामीले अझ राम्रो गर्न सक्छौँ।"
नेपाली खेलाडीहरू र प्रशंसकहरूले एशिया कपको 'महोत्सव' मज्जाले मनाए। सोमपाल कामीले विराट कोहलीसँग जुत्तामा अटोग्राफ लिए र सामाजिक सञ्जालमा लेखे, "कोहली एक क्रिकेटर मात्र होइनन्, उनी एउटा भावना हुन्।"
अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको २७ वर्षपछि पाएको यो उपलब्धिलाई थप उचाइ दिन खेलाडीहरूको मेहनतलाई निरन्तरता दिन पर्ने त छँदै छ सरकारले पनि त्यसमा लगानी बढाउनुपर्ने विश्लेषकहरू ठान्छन्।
भारतीय क्रिकेट कमेन्टेटर आकाश चोपडाले नेपालको प्रगतिमा छिमेकी देश भारतले समेत साथ दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा लेखेका छन्, "भारतले नेपाली क्रिकेटलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो माथि लैजाने जिम्मेवारी लिनुपर्छ। [भारतको] ए टीम नेपाल पठाऊ। नेपाललाई भारतको घरेलु क्रिकेट प्रणालीमा संलग्न गराउनुपर्छ। (मलाई भारत-एले वेस्ट इन्डिजमा पहिलो श्रेणीको क्रिकेट पूरा सीजन खेलेको सम्झना छ।) नेपालको क्रिकेटप्रतिको अनुराग अद्वितीय छ र उनीहरूमा सम्भावना पनि छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।