एशिया कप: भारत-पाकिस्तानको क्रिकेटमा किन सदाबहार आकर्षण छ?

    • Author, सुरेश मेनन
    • Role, खेल विश्लेषक

क्रिकेटमा विश्वकप र एशिया कप प्रतियोगिताहरू भारत र पाकिस्तानलाई एक अर्काविरुद्ध खेल्ने अवसर दिनका लागि मात्र अस्तित्वमा रहेकोझैँ देखिन्छ।

उनीहरू आफ्ना देशमा भेट्दैनन् तर उनीहरूबीचको खेललाई टेलिभिजनमा निकै धेरैले हेर्छन्।

परमाणु अस्त्र सम्पन्न दक्षिण एशियाली छिमेकीहरूबीचको तनावले सधैँ उनीहरूबीचको क्रिकेट सम्बन्धमा समेत असर पारेको छ।

सन् २०१२ यता यी टोलीले आपसी सिरिज खेलेका छैनन्।

तर पाकिस्तानका लागि भारत क्रिकेट शक्ति राष्ट्रको रूपमा रहनु आवश्यक छ जुन कुरा भन्ने मौका उसको छिमेकीले कहिल्यै छौड्दैन। जबकि भारतलाई चाहिँ आफ्नो सफलता पूर्ण गराउन समेत पाकिस्तान आवश्यक पर्छ।

उनीहरू उत्कृष्ट प्रतिद्वन्द्वीहरू हुन् जसले खेलको एउटा एकदमै महत्त्वपूर्ण पक्ष प्रस्तुत गर्छन्: दुई चिर प्रतिद्वन्द्वी।

जित र पराजय निरन्तर चलिरहने प्रक्रिया हो - कहिले एक टोली अगाडी हुन्छ त कहिले अर्को।

हारको डर र जितको उन्मादबिच आलोचक हुन सजिलो छ।

तर तपाईँ विश्वका केही महान् खेलाडीहरू रहेका टोलीहरूबीचको प्रतिस्पर्धालाई अस्वीकार गर्न सक्नुहुन्न।

१६औँ एशिया कपको जस्तो तालिकालाई कसैले गुनासो गर्दैन जहाँ शनिवार उक्त टोलीहरू भेट्दैछन्।

एकै समूहमा रहेका भारत र पाकिस्तानले टेलिभिजन दर्शकहरूलाई उनीहरूबीचमा कम्तीमा एक खेल हुने सुनिश्चितता दिएका छन्।

उनीहरूको समूहमा यसपटक उक्त प्रतिस्पर्धाका लागि छनौट भएको सबैभन्दा कमजोर टोली नेपालसँग राखिएको छ।

समूह चरणबाट प्रत्येक समूहका दुई टोली "सुपर फोर" भनिएको अर्को राउन्ड रोबिन चरणका लागि योग्य हुनेछन्। र, फेरि राउन्ड रोबिन चरणमा पुगेका चार टोलीमध्ये हरेक प्रतिस्पर्धीले अर्को टोलीसँग खेल्नेछ - अर्थात् यी दुई टोलीको दुई पटक भेट हुनेछ।

फाइनलमा तेस्रो पटक भेट्ने आशा नै त्यस्ता योजनाको अन्तर्यमा छ।

क्रिकेटमा बहु टोलीहरू सामेल भएका प्रतियोगितामा अस्वाभाविक रूपमा विविध टोलीहरू एकै समूहमा पर्न सक्छन् - जहाँ अन्य टोलीहरूले आफूहरू किनारामा पारिएको महसुस गर्न सक्छन्।

भारत र पाकिस्तानलाई उस्तै उस्तै भनिन्छ - साझा संस्कृति, भावना, लगावबिच विभाजित देशहरूबीचको प्रतिस्पर्धालाई यसरी उछालिन्छ कि टेलिभिजनमा विज्ञापन दिन तँछाडमछाड हुन्छ अनि राजनीतिकर्मीहरूले पनि काम पाउँछन्।

इतिहास, भूगोल, अर्थशास्त्र, मनोविज्ञान सबैले भारत-पाकिस्तान सम्बन्धलाई विभिन्न समयमा भिन्न ढङ्गले आकार दिन भूमिका खेलेको छ।

पाकिस्तानमा पूर्व कप्तान शाहिद अफ्रिदीलाई एक पटक लाहोर उच्च अदालतमा कानुनी नोटिस पठाइएको थियो। त्यसको कारण उनले आफूलाई भारतमा बढी माया गरिन्छ भन्नु थियो।

भारतमा एशिया कपको खेलमा अफ्रिदीका पक्षमा चिच्च्याएको भन्दै मेरठको एक विश्वविद्यालयका ६७ जना विद्यार्थीलाई निलम्बन गरिएको थियो। तिनीहरूमाथि झन्डै देशद्रोहको आरोपमा मुद्दा चलाइएको थियो।

क्रिकेटले नसुल्झने सम्बन्धको भार बोक्नु हुँदैन। तर यो भइरहेको छ।

खेललाई प्रायः आफूबाहेक अरूको लागि खडा हुन भनिन्छ।

तर भारत–पाकिस्तान क्रिकेटलाई खेलकुद प्रतियोगिताको हैसियतभन्दा बढी महत्त्व दिइएको छ ।

जित वा हारलाई देशको राजनीतिक प्रणाली, साहित्यिक धरोहर, ताज विजेता सुन्दरीहरू वा उनीहरूका देशका बाँधको शक्तिसँग जोडेर प्रतिक्रिया जनाउने विषयको रूपमा हेर्न सकिँदैन।

तर त्यो त्यस्तै छ।

शनिवार एउटा तटस्थ स्थानको रूपमा श्रीलङ्काको खेल मैदानमा पाकिस्तान र भारत भिड्दैछन्।

पाकिस्तानले आयोजना गरेको प्रतियोगितामा भारतले खेल्न सहमत हुन सक्ने यो एक मात्र तरिका थियो।

विश्वभरका क्रिकेट प्रशासकहरूलाई थाहा छ कि भारतले नरम स्वरमा बोल्दा पनि ऊसँग ठूलो आर्थिक शक्ति छ, त्यसैले उसको कुरा सुनिन्छ।

दुवै देशको उस्तै खाले समस्या छन् - ब्याटिङमा अत्यधिक भर पर्नु, मध्य क्रम अस्थिर पाइनु, र केही तेज गतिका बलरहरूमा भर पर्नु।

नेपालविरुद्ध इफ्तिखार अहमदको निर्मम शतकले पाकिस्तानको मध्यक्रमको खाँचो पूरा गरेको हुनसक्छ।

जबकि बाबर आजमले जुन तरिकाले ब्याटिङ गरे त्यसले विराट कोहलीका प्रशंसकहरूलाई समेत शनिवारको खेलमा पाकिस्तान हारेपनि बाबरले धेरै रन बनाउन् भन्ने आश लागेको हुनुपर्छ।

यदि भारतले आफ्नो बायाँ हाते खेलाडी र आक्रामक शैलीका लागि चिनिएका ईशान किशनलाई ३ नम्बरमा र विराट कोहलीलाई ४ नम्बरमा ब्याटिङ गर्न मैदानमा उतारेर उनलाई मध्यक्रमको प्रदर्शनलाई निर्देशन गर्न दिने हो भने उनीहरूको ब्याटिङको असन्तुलनलाई केही समाधान गर्न सकिन्छ।

यो रणनीति खासगरी केएल राहुल चोटका कारण खेल खेल्न नसक्ने अवस्थाका लागि सोचिएको छ।

किनभने टोलीका शीर्ष पाँच ब्याटरमध्ये कसैले बलिङ नगर्दा त्यहाँ अप्ठ्यारो पर्न सक्ने अवस्था छ।

जसले गर्दा पछिल्ला आधा खेलाडी रहँदा एकनासले रन जोड्न सक्नेहरूको कमी देखिन्छ।

भारत आफ्नो पहिलो खेलमा आफ्नो उत्कृष्ट टोली लिएर खेल्न बाध्य छ।

अर्को चरणमा पुग्ने लगभग ढुक्क भए तापनि भारत नौला प्रयोग गर्न इच्छुक नहुन सक्छ।

भारतले यसलाई एक पटकमा एक कदम चाल्ने रणनीति भन्नेछ।

अर्थात् भारतले धेरै अगाडि सोच्ने छैन र हरेक खेल जित्ने प्रयास गर्नेछ।

उनीहरूले जित्नै पर्ने एक मात्र खेल नेपालविरुद्धको हो। जुन टोली पाकिस्तानसँगको पहिलो खेलमा पराजित भएको थियो।

त्यसैले प्राविधिकरूपमा शनिवारको खेल उनीहरूका लागि केही नयाँ प्रयास गर्ने उत्कृष्ट मौका त हो।

किनकि शनिवारको नतिजाले प्रतिस्पर्धामा उत्रने कुनै टोलीलाई फरक पार्दैन।

तर वास्तविकरूपमा भने त्यसले दुवै टोलीलाई एकदमै फरक पार्छ - यी दुई टोलीबीचको हरेक खेलको नतिजाले एकदमै फरक पार्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।