तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय विमानस्थलमा पक्राउ पर्दै 'नक्कली दस्तावेज' बोकेका नेपाली
- Author, विष्णु पोखरेल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
भारतीय बाटो प्रयोग गरी अरब देशहरूमा जान लागेका केही नेपाली नागरिकहरू "नक्कली कागजपत्र बनाएको" आरोपमा भारतीय विमानस्थलहरूमा पक्राउ पर्न थालेपछि नेपाली अधिकारीहरूले त्यस्ता आपराधिक गतिविधि नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्।
विगतका केही साताहरूमा भारतको राजधानी दिल्ली र मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतका अन्य क्षेत्रबाट समेत केही नेपालीहरू पक्राउ परेको विवरण आएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीहरूले गत साता मात्र १० जना नेपाली नागरिकहरूलाई त्यस्तो आरोपमा पक्राउ गरेको जनाएका छन्।
कतिपय खबरहरूमा केहीसँग 'नेपाल र भारत दुवैतर्फका कागजातपत्रहरू पाइएको' पनि जनाइएको छ।
दिल्लीस्थित नेपाली दूतावासले पनि "झूटा कागजात पेस गरेको" आरोपमा केही नेपाली नागरिकहरू पक्राउ परेको पुष्टि गरेको छ र त्यस्तो क्रम बढ्दै गएको देखिनु चिन्ताको विषय भएको जनाएको छ।
विशेषगरी वैदेशिक रोजगारीका लागि विभिन्न अरब देशहरू जान चाहने नेपालीहरू भारतीय भूमिमा पक्राउ परिरहेको अधिकारीहरू बताउँछन्।
नेपाली श्रम अधिकारीहरूले "यसरी पक्राउ पर्ने अवस्था आउन नदिन" वैदेशिक रोजगारीमा जान चाहने नागरिकहरूलाई आग्रह गरेका छन्।
पछिल्लो अवस्था के हो?
जानकारहरूका अनुसार भारतीय बाटो प्रयोग गरेर नेपालीहरू वैदेशिक रोजगारीका लागि खाडी राष्ट्र जाने प्रचलन नौलो होइन।
भारतस्थित नेपाली दूतावासले यही जेठ ५ गते जारी गरेको एउटा सूचनामा भनिएको छ, "पछिल्लो समयमा भारतीय विमानस्थलहुँदै मध्यपूर्वका केही मुलुकहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति र नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाई अध्यागमन पार गर्न खोज्नेको सङ्ख्या बढिरहेको जानकारी भारत सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त हुन आएको छ।"
"यसरी नक्कली कागजातहरू प्रयोग गर्न खोज्ने व्यक्तिहरूलाई भारतीय अध्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा पठाउने र त्यस्ता व्यक्तिहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै गइरहेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ।"
द टाइम्स अफ इन्डियाले भारतीय अधिकारीहरूलाई उदृद्ध गर्दै गत सोमवार लेखेअनुसार गत साता मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीहरूले १० जना नेपालीलाई "नक्कली कागजात प्रयोग गरेको" आरोपमा पक्राउ गरेका छन्।
उनीहरू उक्त विमानस्थलहुँदै यूएई र कतार जान लागेको पनि उक्त समाचारमा जनाइएको छ। उक्त पत्रिकाको अनलाइन संस्करणमा पक्राउ परेका १० मध्ये दुई जनाले "नक्कली कागजातका आधारमा" भारतीय राहदानी पनि प्राप्त गरेको दाबी गरिएको छ।
यद्यपि दिल्लीस्थित नेपाली दूतावास र नेपालस्थित अधिकारीहरूले आफ्ना नागरिकले नक्कली कागजातका आधारमा भारतीय राहदानी लिएको विषयबारे थाहा नभएको बताए।
तर उनीहरूका भनाइमा नेपाली नागरिकहरूले "नक्कली श्रम स्वीकृति" बनाएर गएको पाइएका केहीलाई भने भारतीय अधिकारीहरूले पक्राउ गरेको जानकारी आएको बताएका छन्।
दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले "पछिल्लो समय केही नेपालीहरूको हातमा श्रम स्वीकृति हुने तर त्यसलाई रुजु गर्दा त्यो नक्कली देखिएपछि" भारतीय अधिकारीहरूले नियन्त्रणमा लिएको जानकारी आएको बताए।
यद्यपि दूतावासका अधिकारीहरूले पछिल्लो समय त्यस्तो आरोपमा कति नेपालीलाई भारतीय अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भन्ने यकिन तथ्याङ्क भन्न नसकिने बताएका छन्।
नक्कली कागजातबारे कसरी थाहा भयो?
पहिले भारतीय बाटो हुँदै कामदारका रूपमा तेस्रो मुलुक जाने नेपालीहरूले दिल्लीस्थित दूतावासबाट नो अब्जेक्सन रिपोर्ट, एनओसी, लिनुपर्ने नियम लगाइएको थियो।
तर त्यसले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई "अनावश्यक झन्झट थपेको" गुनासो आएपछि त्यसलाई परिवर्तन गरेर उनीहरूको 'श्रम स्वीकृति' हेरेर जान मिल्ने व्यवस्था मिलाइएको थापाले बताए।
थापाले भने, "जोसँग वैध श्रम स्वीकृति छ त्यसले अहिले एनओसी लिनु पर्दैन। सीधै विमानस्थलमा गएर त्यहाँ भारतीय अध्यागमन अधिकारीहरूलाई देखाएपछि हाम्रो वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर त्यसलाई रुजू गर्न सकिने व्यवस्था रहेको भारतीय पक्षलाई हामीले जानकारी गराएका छौँ।"
"त्यसैअनुसार अहिले पनि काम भइरहेको छ र त्यसरी रुजू गर्ने क्रममा कतिपयको नभेटिने अवस्था आएपछि त्यो नक्कली रहेको थाहा भएको हो।"
पहिले भारतीय अधिकारीहरूले त्यस्ता कागजातहरू बोकेका व्यक्तिलाई फिर्ता मात्र पठाइदिने गरेको तर पछिल्ला दिनमा पक्राउ नै गर्न थालिएको बुझिएको छ।
दूतावासले जेठ ५ मा जारी गरेको सूचनामा पनि एनओसीको प्रावधानबारे जानकारी गराइएको छ।
त्यसमा भनिएको छ, "भारतहुँदै एनओसीको आवश्यकता पर्ने मुलुकहरूको भ्रमणमा जाँदा वैदेशिक रोजगार विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा जारी भएको एनओसी लिएर मात्र यात्रा गर्नु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।"
भारतीय सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार पक्राउ परेका व्यक्तिहरूले नेपालमा नै दलाललाई रकम बुझाएर भारत पुगेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
उनीहरूले भारतमै भिसा लाग्ने प्रलोभन देखाएर नेपालीहरूलाई उक्त बाटो हुँदै पठाउनका लागि वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति नलिइकन "नक्कली कागज हातमा राखिदिएर पठाएको" हुन सक्ने नेपाली दूतावासका अधिकारीहरूको भनाइ छ।
यस्तो अवस्था उत्पन्न हुन नदिने कसरी?
"नक्कली श्रम स्वीकृति पेस गरेको आरोपमा केही नेपालीहरू पक्राउ परेको" जानकारी आएलगत्तै सचेत रहन भारतस्थित नेपाली दूतावासले सूचना जारी गरेको भए पनि त्यस्तो क्रम नरोकिएको जानकारहरूको भनाइ छ।
भारतका अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, अन्य क्षेत्रबाट पनि केही नेपालीलाई त्यस्तै आरोपमा पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
यस्तो अवस्थामा भारतीय बाटो हुँदै खाडी राष्ट्रमा वैदेशिक रोजगारीमा जान परेका नेपालीहरूले कसरी वैधानिक तरिका अपनाउनु पर्छ भनेर बीबीसीले वैदेशिक रोजगार विभागका अधिकारीहरूलाई सोधेको थियो।
विभागका प्रवक्तासमेत रहेका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले भने, "नागरिक तहमा हाम्रा दाजुभाई दिदीबहिनीहरूले केही सावधानीहरू अपनाएमा यस्तो अवस्था आउँदैन। म सबैलाई सावधानी अपनाउन आग्रह गर्छु।"
विभाग तथा दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार नेपाली नागरिकहरूले आफ्नो यात्रा वैधानिक छ भनेर यकिन गर्न अपनाउन सक्ने मुख्य पाँच सावधानी यस्ता छन्:
१. प्रक्रियाबारे राम्ररी बुझ्ने
विभागका उपमहानिर्देशक शिवाकोटी वैदेशिक रोजगारीमा जान चाहनेहरूले सुरुमा कुन देशमा कस्तो प्रक्रियाबाट जान पाइन्छ भन्ने बुझ्नु जरुरी हुन्छ।
नेपालमा मुख्यत: तीन प्रकारले वैदेशिक रोजगारीमा जान सकिन्छ।
पहिलो भनेको सरकार-सरकारबीचको सम्झौताअन्तर्गत कोरियाको ईपीएस प्रणालीजस्तै माध्यमबाट जान सकिन्छ।
त्यस्तै दोस्रो- सकारबाट इजाजत पाएका म्यानपावर कम्पनीहरूमार्फत् र तेस्रो आफैँले विदेशस्थित कम्पनीहरूसँग व्यक्तिगत पहल गरेर पनि जान सकिन्छ।
यी तिनै माध्यमबाट वैदेशिक रोजगारीमा जाने प्रक्रियाहरू प्राय: समान नै हुन्छन् तर केही प्रक्रियागत कुराहरू फरक पर्न पनि सक्छन्।
"म सबैलाई आग्रह गर्छु- विदेश जाने सोच बनाएपछि तपाईँले त्यसको सम्पूर्ण प्रक्रियाबारे बुझ्नुहोस् नत्र तपाईँ फस्ने सम्भावना हुन्छ," उनले भने।
वैदेशिक रोजगारीमा कसरी जान सकिन्छ र त्यसका प्रक्रियाहरू कस्ता छन् भनेर मानिसहरूले आफ्नै जिल्लामा पनि बुझ्न सक्छन्।
राहदानी बनाउँदा जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय जाँदा ती कार्यालय हाताभित्र रहेका आप्रवासी स्रोत केन्द्रहरूमार्फत् तपाईँले त्यसबारे जानकारी लिनु सबैभन्दा उपयुक्त हुन्छ।
त्यसका अतिरिक्त तपाईँले वैदेशिक रोजगार विभागको बेवसाइटमा रहेको जानकारी पनि हेर्न सक्नु हुन्छ।
२. आधिकारिक निकाय वा संस्थाबाट मात्र प्रक्रिया थाल्ने
वैदेशिक रोजगारीमा जान चाहनेहरूले जति सक्दो चाँडो विदेश जाने प्रलोभनमा अनधिकृत संस्था, निकाय वा व्यवसायीबाट पनि त्यसको प्रक्रिया सुरु गर्ने गरेका उदाहरणहरू छन्।
त्यसले गर्दा विदेश जाने क्रममा अहिले भारतमा नेपालीहरू पक्राउ परेजस्तै कानुनी फन्दामा पर्नेदेखि विदेश पुगेर बेचिने र मानव तस्करीमासमेत पर्ने गरेका सयौँ घटनाहरू रहेका छन्।
शिवाकोटी भन्छन्, "वैदेशिक रोजगारीमा जान चाहने सबैले इजाजत प्राप्त सङ्घसंस्था हो कि होइन भन्ने बुझ्नु पर्यो।"
"कतिपय देशहरू र कम्पनीहरूलाई रोक्का राखिएको हुन्छ। त्यो देश रोक्कामा परेको छ कि छैन पनि थाहा पाउनु पर्यो अनि पठाउनेले विभागबाट स्वीकृति लिएको छ कि छैन जाँच गर्नु पर्यो। अहिले कुनै पनि विज्ञापन गलत रहेछ भने त्यसबारे मोबाइलबाट एसएमएस गरेर पनि जाँच गर्न सकिन्छ।"
नेपालले हाल १०८ वटा देशहरूमा काम गर्न जान पाउनेगरी खुला गरेको छ। कुल खुला गरिएका देशको सङ्ख्या १११ भए पनि अफगानिस्तान, इराक र लिबियामा हाललाई वैदेशिक रोजगारीमा जान रोक लगाइएको छ।
३. भारत गएपछि भिसा आउँछ भन्ने प्रलोभनमा नपर्ने
दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख थापा कतिपय नेपालीहरूलाई भारतमा पुगेपछि भिसा आउँछ भन्ने बहानामा लैजाने गरिएको पाइएको बताउँछन्।
त्यस्तो प्रलोभनमा नपर्न दूतावासले पनि पटकपटक सार्वजनिक रूपमा नै भनिसकेको उनको भनाइ छ।
कतिपय जानकारहरूका अनुसार त्यसरी भारतमा पुगेर भिसा दिलाउने प्रलोभन देखाइएका व्यक्तिहरूलाई त्यहीँ नक्कली श्रम स्वीकृति बनाइदिने व्यक्तिहरू पनि सक्रिय भएका देखिन्छन्।
"त्यस्तो प्रलोभनमा पर्नुभयो भने तपाईँ अवश्य फस्नु हुन्छ। त्यसैले यस्ता कार्यमा त लाग्नै हुँदैन," विभागका उपमहानिर्देशक शिवाकोटीले भने।
"कतिले भारतमा नै हामीले श्रम स्वीकृति पनि जारी गराइदिन्छौँ भन्न सक्छन् तर हाम्रो विभागबाहेक दूतावासहरूबाट श्रम स्वीकृति हुँदैन भन्ने जानेहरूले बुझ्नु पर्छ।"
"धेरै मानिसहरू यस्तै लोभमा परेर तत्काल जानका लागि भन्दै त्यताको बाटो रोज्दा पनि फसेका छन्," उनले थप जोड दिँदै भने।
४. कागजात र रकम लहलहैमा कसैलाई नदिने
कैयौँ व्यक्तिहरूलाई दलालले भारतको बाटो हुँदै भ्रमण भिसा वा पर्यटक भिसाका माध्यमबाट राम्रो जागिरमा लगाइदिने भन्दै फसाएको पनि पाइएको अधिकारीहरू बताउँछन्।
"त्यस्तो गर्नेले तपाईँको पासपोर्ट, अन्य कागजपत्र र रकम पनि माग्छन् र तपाईँलाई फिर्ता नदिइकन अप्ठ्यारोमा पार्न सक्छन्। त्यसैले चिनजानको हो वा आफन्त हो भनेर आफ्ना कागजात दिनु हुँदैन। जसले दियो त्यसलाई पछि समस्या पर्न सक्छ," शिवाकोटीले भने।
सरकारी निकायहरू र सरकारले इजाजत दिएका आधिकारिक निकायहरू चिनेर मात्र कागजपत्र र आर्थिक कारोबार गर्न उनी सुझाव दिन्छन्।
"इजाजतप्राप्त संस्था र वैध निकाय हुँदा पनि तपाईँलाई समस्या पर्दा उजुरी र कारबाही अघि बढाउन सजिलो हुन्छ नत्र त्यसो गर्न पनि असहज हुन सक्छ त्यसैले पाइलापाइलामा सचेत हुनुपर्छ," उनी भन्छन्।
५. 'भाइरल' विज्ञापनको भर नपर्ने
पछिल्लो समय धेरै नेपालीहरू सामाजिक सञ्जालहरूमा गरिएका 'भाइरल' विज्ञापनमा विश्वास गर्दा वैदेशिक रोजगारीको ठगीमा र मानवबेचबिखनमा पनि परेको देखिएको शिवाकोटीले बताए।
"पछिल्लो समय युरोप जाने भनेर पनि भाइरल विज्ञापनको पछि लाग्दा धेरै फसेको पाइएको छ," उनले भने।
"त्यसबाट बच्नका लागि हाम्रोबाट आधिकारिक स्वीकृति लिएर पत्रपत्रिकामा गरिएका विज्ञापन मात्र हेर्नुहोस्। त्यो विज्ञापन गलत हो कि होइन भनेर पनि तपाईँले एसएमएसबाट चेक गर्न पाउनु हुन्छ।"
भारतीय बाटोबाट नेपालका सबै प्रक्रियालाई पूरा गराइदिँदै खाडी मुलुक वा युरोपसम्म पुर्याइदिने प्रलोभन देखाइएका कैयौँ सामग्रीहरू सामाजिक सञ्जालमा भेटिन्छन्।
त्यस्ता विज्ञापनको विश्वास नगर्न आग्रह गर्ने सरकारी अधिकारीहरूले त्यस प्रकारका गतिविधि गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने खासै पहल भने नगरेको आलोचकहरू बताउँछन्।
यद्यपि शिवाकोटी भन्छन्, "यदि त्यसरी कोही ठगिएको छ भने उनीहरूले उजुरी गर्न सक्छन् र कैयौँ उजुरीहरू आएका पनि छन्। त्यस्तो अवस्थामा हामीले आवश्यक कारबाही अघि बढाउँछौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।