यसरी पुर्‍याइन्छन् म्यान्मार, क्याम्बोडिया, भियतनाम र थाईल्यान्डलगायत देशका 'स्क्याम सेन्टर'मा नेपाली

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

म्यान्मारसहित दक्षिणपूर्वी एशियाली देशहरूमा 'स्क्याम सेन्टर'हरूमा पुर्‍याइने नेपालीहरूको सङ्ख्या बढिरहेको भन्दै नेपाली अधिकारीहरूले "विशेष सतर्कता अपनाउन" आग्रह गरेका छन्।

उनीहरूले "श्रम स्वीकृति लिएर तथा आवश्यक मापदण्ड पूरा गरेर" ती देशहरू गए मात्र ठगी तथा यातनाको सिकार हुनबाट बच्न सकिने उनीहरूले बताएका छन्।

विशेष गरी म्यान्मारका विभिन्न 'स्क्याम सेन्टर'बाट उद्धार गरिएका नेपालीहरूले अनुसन्धान अधिकारीलाई दिएको जानकारीअनुसार उनीहरूलाई जबरजस्ती अनलाइन ठगीलगायतका काममा लगाइने गरिएको थियो।

त्यस्तो काम गर्न नचाहने तथा दिइएको लक्ष्यअनुसार काम गर्न नसक्नेलाई 'चरम यातना'समेत दिने गरिएको उद्धार गरिएका नेपालीहरूले बताएको अधिकारीहरूको भनाइ छ।

स्क्याम सेन्टरमा फसेका नेपाली कति?

ब्याङ्ककस्थित नेपाली दूतावासका अनुसार म्यान्मारसहित थाईल्यान्ड, क्याम्बोडिया, लाओस र भियतनामलगायतका देशहरूमा 'स्क्याम सेन्टर'हरूमा फसेको भनेर उद्धारका लागि अनुरोध गर्ने नेपालीको सङ्ख्या धेरै छ।

"यी देशहरूबाट उद्धारको अनुरोध आइरहन्छ र अहिले पनि आइरहेको छ," थाईल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले भने, "तर उहाँहरू कसरी र कसको माध्यमबाट स्क्याममा पर्नुभयो भन्ने खुलाउन चाहनुहुन्न।"

उनका अनुसार दूतावासले नेपालस्थित परिवारसँग सम्पर्क गरेर त्यस्तो अनुरोध गर्ने व्यक्तिहरूलाई उद्धार गर्ने र स्वदेश फिर्ता पठाउने गरेको छ।

दूतावासले सन् २०२४ भित्र १०० जनाभन्दा बढी त्यस्ता व्यक्तिहरूलाई स्वदेश फर्काएको थियो।

गत ज्यानुअरीयता मात्र दूतावासले म्यान्मारको 'स्क्याम सेन्टर'मा फसेका एक दर्जनभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काइसकेको छ।

सोमवार मात्र पनि दुई नेपालीलाई स्वदेश फर्काइएको वलीले जानकारी दिए। त्यसरी फर्काइएकामा ती देशका सुरक्षाकर्मीले उद्धार गरेकहरू पनि रहेका छन्।

वलीका अनुमानमा ती देशहरूमा अझै पनि सयौँ नेपालीहरू 'स्क्याम सेन्टर'मा फसिरहेका र अझै "प्रलोभन"मा परेर कैयौँ नेपालीहरू त्यता गइरहेका हुन सक्छन्।

यद्यपि 'स्क्याम सेन्टर'हरूमा ठ्याक्कै कति नेपालीहरू फसेका छन् भन्ने यकिन विवरण नेपाली अधिकारीहरूसँग छैन।

कसरी र कुन बाटो हुँदै पुग्छन् नेपाली?

उद्धार गरिएका नेपालीहरूसँग दूतावास तथा अध्यागमन विभागसँगको समन्वयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले बयान लिने तथा उनीहरूले दिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाउने गरेको छ।

उक्त ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दीपेन्द्र घर्ती क्षेत्री (जीसी) का अनुसार नेपाल फर्काइएका केही व्यक्तिको उजुरीका आधारमा केहीलाई पक्राउ गर्नुका साथै मुद्दा पनि दर्ता गराइएको छ।

तर धेरैले उजुरी गर्ने वा खुलेर फसेको घटनाबारे जानकारी नदिँदा अनुसन्धान सजिलो नभएको प्रहरी अधिकारीहरू बताउँछन्।

यद्यपि हालसम्मको अनुसन्धानका आधारमा म्यान्मारसहित दक्षिणपूर्वी एशियाली देशका 'स्क्याम सेन्टर'मा नेपालीहरू कसरी पुग्छन् भन्ने केही जानकारी प्राप्त भएको अधिकारीहरूले बताएका छन्।

ब्यूरोका प्रवक्तासमेत रहेका प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले भने, "धेरै आफन्त र साथीभाइमार्फत् प्रलोभनमा त्यता पुगेको देखिन्छ।"

"फर्किएकाहरूलाई हामीले परामर्श दिएर धेरै जानकारी लिने कोसिस गरिरहेका छौँ तर धेरै नखुलेकाले समस्या हुने गर्छ।"

थाईल्यान्डस्थित नेपाली दूतावास तथा प्रहरीको उक्त ब्यूरोका अधिकारीहरूका अनुसार मुख्यत: नेपालीलाई "आकर्षक तलबमा काम दिने" प्रलोभनमा त्यहाँ पुर्‍याइने गरेको छ।

त्यसरी जानका लागि मुख्यतः तीन प्रकारका मार्गहरू प्रयोग हुने गरेका छन्। ती हुन् :

  • काठमाण्डूबाट सीधै ब्याङ्कक
  • काठमाण्डूबाट कलकता हुँदै ब्याङ्कक
  • काठमाण्डूबाट दुबई तथा अन्य अरब देश हुँदै ब्याङ्कक

"यी रूटहरूबाट विशेष गरी भिजिट भिसामा नेपालीहरू ब्याङ्कक पुग्ने र त्यहाँबाट म्यान्मारसहितका देशहरूमा जाने गरेको पाइएको छ," ब्यूरोका प्रमुख घर्तीले भने।

"दुबईतिर राम्रै जागिर खाइरहेका नेपालीहरूलाई पनि चिनजानका मानिसहरूले आकर्षक जागिरको लोभ देखाएपछि भिजिट भिसामा ब्याङ्कक ल्याएर त्यहाँबाट स्क्याम सेन्टरमा पुर्‍याउने गरेको पनि देखिएको छ।"

यद्यपि अधिकारीहरू पीडित भनिएका व्यक्तिहरू खुल्न नचाहँदा अनुसन्धानमा समस्या हुने गरेको बताउँछन्।

कस्ता काममा लगाउँछन्?

पछिल्ला दिहरूमा विशेष गरी म्यान्मारका कतिपय 'स्क्याम सेन्टर'हरूबाट विभिन्न देशका सयौँ नागरिकहरूलाई उद्धार गरिएको छ।

त्यसरी उद्धार गरिएकाहरूको भनाइमा ती सेन्टरहरूले विदेशी कामदारहरूलाई राम्रो तलबको लोभ देखाएर पुर्‍याउने गर्छन्।

त्यस्ता केन्द्रहरू सञ्चालन गर्ने स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्।

उनीहरू अनलाइन माध्यममा "पिग बुचरिङ" भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैरकानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन्।

केही विदेशीहरू त्यस्तो काम गर्न तयार हुन्छन्। तर कैयौँलाई त्यहाँ बस्न बाध्य पारिन्छ र परिवारबाट ठूलो मात्रामा फिरौती ल्याए मात्र छोड्ने भनिन्छ। कुनै हिसाबले छोडेर भागेकाहरूलाई यातना दिने गरेको उद्धार गरिएकाहरूले बताएका छन्।

यसअघि बीबीसीको सम्पर्कमा आएका म्यान्मारको 'स्क्याम सेन्टर' बाट फर्किएका एक जना नेपालीले आफू साथीमार्फत् उक्त स्थानमा पुगेको बताएका थिए।

ठगीमा संलग्न हुन नचाहँदा तथा उनीहरूले तोकेको समयमा तोकेबमोजिम काम गर्न नसक्दा चरम यातना भोग्नुपरेको उनले बताएका थिए।

"अनलाइन ठगी मात्र नभई नेपालीहरूलाई क्रिप्टोकरेन्सीको अवैध काम गर्ने कार्यमा पनि लगाइने गरेको पाइन्छ," ब्यूरोका प्रमुख घर्तीले भने।

कस्ता व्यक्ति फसिरहेका छन्?

राजदूत वलीका अनुसार त्यस्ता सेन्टरहरूमा पुगेर उद्धार भएका नेपालीमध्ये अधिकांश युवा उमेरका पुरुषहरू छन्।

"केही महिला पनि छन् तर धेरै युवावस्थाकै पुरुषहरू रहेका छन्," उनले भने।

प्रहरी अधिकारीहरूका अनुसार विशेष गरी २० देखि ३० वर्षका युवाहरू र पढेलेखेका व्यक्ति नै फसेको देखिन्छ।

"कम्प्युटर तथा आईटीबारे ज्ञान भएका व्यक्तिहरू नै धेरै भेटिएका छन्," ब्यूरोका प्रमुख घर्ती भन्छन्।

राजदूत वली पनि पढेलेखेकै युवाहरू त्यस्ता सेन्टरमा फसेका हुनाले उनीहरू निवेदन दिँदा पनि सकेसम्म ठगिएको खुलाउन चाहँदैनन्।

"उहाँहरूले कागजात हराएकाले अलपत्र परेको भन्ने खालको निवेदन मात्र दिनुहुन्छ। ठगिएकाबारे खुलाउनुहोस् भन्दा त्यसो गर्नुहुन्छ र सकेसम्म विस्तृत विवरण दिन चाहनुहुन्न। त्यसले आफन्त वा साथीभाइबाटै ठगीएको हो भन्ने देखिन्छ," उनले भने।

सचेत हुन आग्रह

ब्याङ्ककस्थित नेपाली राजदूतावासले सोमवार पुन: सूचना जारी गर्दै मापदण्ड पूरा गरेर मात्र विदेश आउन नेपालीहरूलाई आग्रह गरेको छ।

उसले जारी गरेको सूचनामा भनिएको छ, "नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु क्याम्बोडिया, लाओस, म्यानमार र थाईल्यान्डलगायतमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ।"

ब्यूरोका प्रमुख घर्ती पनि "चाँडै र सजिलै धेरै पैसा कमाइन्छ" भन्ने प्रलोभनमा नपर्न आग्रह गर्छन्।

"धेरै पैसा कमाइन्छ भन्ने प्रलोभनमा पर्दा मानिसहरू फसेको देखिन्छ। त्यसैले त्यस्ता प्रलोभनमा नपर्न म सबैलाई आग्रह गर्छु," उनले भने।

'मुख्य दोषी पत्ता लगाउन समस्या'

अनुसन्धान अधिकारीहरूका अनुसार उद्धार गरेर नेपाल आएकाहरूले घटनाक्रमबारे पूर्ण जानकारी दिन नसक्दा र नचाहँदा अनुसन्धानमा समस्या भएको छ।

"नेपाली एजेन्टबारे जानकारी भए पनि त्यहाँ काममा लगाउनेको पूरा नाम थाहा नहुने अनि कुन स्थान हो भन्ने पनि यकिन भन्न नसक्ने हुँदा उता संलग्नहरू नेपाली हुन् वा अरू नै हुन् भन्ने पनि स्पष्ट हुँदैन," घर्ती भन्छन्।

विभिन्न विवरणहरूमा विशेष गरी दक्षिणपूर्वी एशियाली देशहरूमा चिनियाँहरूले यस्ता 'स्क्याम सेन्टर'हरू चलाएको जनाइने गरेको छ।

"यहाँ आएकाहरूले चाहिँ चिनियाँजस्तो देखिने नेपालीहरूले नै पनि काममा लगाएको पनि बताएका छन्," घर्ती भन्छन्, "तर उनीहरूले ती व्यक्तिको अगाडिको नाम भन्ने, थरै भन्न नसक्ने स्थिति छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।