विशाल हीरा फेला पार्ने दुई अफ्रिकी किशोरको जीवन अहिले कस्तो छ

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी न्यूज

सन् २०१७ को अत्यन्तै हर्षपूर्ण समाचारका रूपमा त्यसलाई लिइएको थियो। संसारभरि सिएरा लीओनमा ‘शान्ति हीरा’ फेला परेको विषयबारे चर्चा भएको थियो।

उक्त अफ्रिकी देशमा हीरा रक्तपात र सङ्कटको बिम्ब बन्ने गरेको छ। अनि यो बहुमूल्य पत्थरबाट हुने आय स्थानीय मानिसहरूको जीवनलाई टेवा पुर्‍याउन प्रयोग गर्ने आशा राखिएको थियो।

तर सञ्चारमाध्यमको उन्माद एकातर्फ भए पनि त्यहाँ उक्त हीरा खोज्न कष्टपूर्ण काम गर्ने मानिसहरू थिए।

कोम्बा जोन्बुल र एन्ड्रू साफिया पाँच जनाको समूहको सबैभन्दा कान्छा सदस्य थिए। उनीहरू किशोरवयमा थिए।

त्यो ठूलो र चम्किलो धुलाम्मे पत्थरमा आँखा पुग्दा उनीहरूका सबै सपनाहरू अब पूरा होलान् भन्ने ठानिएको थियो। तर छ वर्षपछि उनीहरू निराश देखिन्छन्।

दुई किशोरको सपना

साफिया चलाख विद्यार्थी थिए तर गरिबीका कारण उनले विद्यालय छाड्नुपर्‍यो। जोन्बुलको परिवार सन् १९९१ देखि सन् २००२ सम्म चलेको गृहयुद्धले छुट्टिएको थियो।

स्थानीय पादरीको प्रायोजनमा उत्खनन गर्ने पाँच जनाको समूहमा उनीहरूले काम गरेका थिए। उनीहरू ज्याला पाउँदैनथे। तर उनीहरूलाई आधारभूत उपकरण र आफ्नो अनि परिवारका लागि खानेकुरा दिइएको थियो। यदि हीरा फेला पर्‍यो भने प्रायोजकले ठूलो हिस्सा पाउने सहमति थियो।

ती दुई भाइले कठोर परिश्रम गरेका थिए। बिहानीको झुल्कोसँगै पाम खेतमा काम गर्ने उनीहरू खाजा खाइसकेपछि दिनभरि खानीमा काम गर्न जान्थे।

उनीहरूको विद्यालय जान पुग्ने गरी पैसा जम्मा गर्न चाहन्थे। तर काम निकै गाह्रो थियो।

“मैले जोन्बुललाई मेरो सपना चकनाचुर भएको बताएको थिएँ,” साफिया भन्छन्।

जोन्बुल ठूलो वर्षा र चर्को गर्मीमा काम गरेको सम्झिन्छन्। उनले भने, “हामीले आँटलाई आफ्नो प्रेरणा बनाएका थियौँ। हामी ठट्टा गर्थ्यौँ। हामीसँग एउटा ब्लूटूथ थियो, त्यसबाट हामी गीत बजाउँथ्यौँ।”

ती दुई किशोरले आफू अकस्मात् धनी बने के गर्ने भनेर पनि सपना बुनेका थिए। जोन्बुल दुईतले घर बनाउन र एउटा गाडी किन्न चाहान्थे भने साफियालाई पढाइ पूरा गर्न मन थियो।

ठूलो हीरा

उनीहरूको भाग्य चम्किएको दिन अरू सामान्य दिनजस्तै थियो। उनीहरूले उसिनेको केरा नास्तामा खाए अनि प्रार्थना गरेपछि खानीमा काम गर्न गए।

उत्खननकर्ताहरूले चनाखो भएर हीरालाई खोज्दै थोरै समय मात्रै बिताउँछन्।

सन् २०१७ को मार्च १३ मा परेको त्यो शुक्रवार खानीमा अन्य तयारीका काम पनि चल्दै थियो। जमिन भत्काउने अनि गेगर र साना ढुङ्गा निकाल्ने काम र बर्खासँगै सुरु भएको बाढीबाट जोगिने उपाय चलिरहेको थियो।

त्यसपछि जोन्बुलको आँखा चम्कियो।

“मैले बगिरहेको पानीमुनि एउटा पत्थर देखेँ र त्यो पानीसँगै बगिरहेको थियो। त्यो मेरो सुझबुझ मात्रै थियो, मैले त्यसअघि कहिल्यै पनि हीरा देखेकै थिइनँ।” जोन्बुल पानीबाट त्यो पत्थर टिपे।

“त्यसो गर्दा एकदमै चिसो भयो। मैले टिप्नेबित्तिकै उनीहरूले मेरो हातबाट खोसे र भने - यो हीरा हो।”

त्यो ७०९ क्यारटको हीरा थियो। विश्वमा अभिलेख गरिएको त्यो १४ औँ ठूलो हीरा थियो।

उत्खननकर्ताले पास्टर एम्मानुएल मामोलाई खबर गरे। उनले त्यसलाई कालोबजारमा बेच्नुको सट्टा सरकार लाई बुझाइदिए। त्यो आफैँमा नौलो कुरा थियो।

लिलामीबाट त्यो हीरा ६५ लाख डलरमा बिक्री भयो।

सिएरा लीओनमा जोन्बुल र साफियाजस्ता सयौँ उत्खननकर्ताहरू छन्। भाग्यमा भए उनीहरूले हीराको साना टुक्रा फेला पार्न सक्छन्। त ठूलो हीरा भेटिेन आशाले धेरैलाई काम गर्न प्रेरणा दिन्छ।

उत्खननकर्ताहरूले निश्चित अंश पाउने र केही लाभ स्थानीय सरकारलाई विकासका लागि जाने सहमति भएको थियो।

उत्खननकर्तामध्ये प्रत्येकले प्रारम्भिक भुक्तानी जम्मा ८०,००० पाए। त्यो साफिया र जोन्बुलले पहिले काम थाल्दा गरेको अपेक्षाभन्दा धेरै थियो। तर पछि उनीहरूले कम पाएको महसुस गरे।

“आफ्नो भागको पैसा लिएपछि मैले साता दिनसम्म त्यसलाई नछोई राखेँ। त्यसपछि घर किन्न म फ्रीटाउन गएँ।”

साफिया शिक्षाका लागि क्यानडा जान चाहान्थे र जोन्बुललाई पनि उनलाई पछ्याउन मन थियो। उनीहरूले एजेन्टलाई यात्रा, बास र विश्वविद्यालयको शुल्कका लागि १५,००० डलर तिरे। उनीहरूलाई घाना लगियो। त्यहाँ उनीहरू छ महिना बसे र धेरै पैसा खर्च गरे।

तर भिसा आवेदन अस्वीकृत भएपछि उनीहरूको योजना विफल भयो। कमाएको धेरै पैसा सकिएपछि जोन्बुल सिएरा लीओन फर्किए। साफियाले नयाँ यात्रा थाले।

उनी अर्को देश गए। उनको सुरक्षाको कारण हामीले त्यो देशको नाम उल्लेख गरेका छैनौँ।

उनलाई त्यहाँ दिउँसो ड्राइभरका रूपमा काम गर्न सक्ने र राति अध्ययन गर्न सक्ने भनिएको थियो। तर गन्तव्यमा पुग्दा त्यहाँको वास्तविकता फरक थियो।

“मैले तबेलामा घोडाहरू हेर्ने काम गरेँ। त्यहाँ नै सुत्ने र खाने अवस्था थियो। अरू कामदारहरूलाई आवास दिइएको थियो तर मलाई तबेलामा नै छाडियो।”

हीराबाट सम्पत्ति कमाएपछि पनि यस्तो अवस्था आउला भन्ने उनको सोचेका थिएनन्। तर बस्ने अनुमति नहुँदा उनी जोखिमपूर्ण अवस्थामा छन्।

सिएरा लीओनमा किनेको सम्पत्तिबाहेक उनले हीराबाट पाएको पैसा सकिएको छ। उनी अब घर फर्किन मात्रै चाहेको बताउँछन्।

'पर्याप्त मूल्याङ्कन भएन'

उनीहरू दुवैलाई आफूले गरेको कामको पर्याप्त मूल्याङ्कन नभएको भन्ने कुराले पिरोल्छ।

हीराबारे सञ्चारमाध्यमका विवरणमा उनीहरूलाई प्रायोजन गर्ने पादरीलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गर्ने गरिएको छ। वास्तविक उत्खननकर्ताहरूको नाम खासै आएको छैन।

साफिया आफूलाई बेवास्ता गरिएको ठान्छन्।

जोन्बुल आफूले पाएको पैसा फरक तरिकाले प्रयोग गरेको भए उपयुक्त हुन्थ्यो कि भन्ने ठान्छन्।

“मसँग पैसा आउँदा मेरो उमेर कलिलो थियो। अहिले सोच्दा मलाई राम्रो लाग्दैन। त्यति बेला म फुर्ति मात्रै गरिरहेको थिएँ। कपडा किनिरहेको थिएँ र कम उमेरका मान्छेहरूले गर्ने खालको व्यवहार देखाइरहेको थिएँ।”

“धेरै कमाइ हुने लोभमा विदेश जाने महत्त्वाकाङ्क्षा नराखेको भए मैलै त्यसै खेर फालेको पैसाबाट पनि यहाँ धेरै गर्न सक्थेँ।”

यो उनीहरूले अपेक्षा गरेको जीवन नहुन सक्छ। तर जोन्बुल फ्रीटाउनमा अहिले एल्युमिनिअमबाट झ्यालको चौकोस बनाएर राम्रो आम्दानी गर्छन्। साफिया आफ्नो विदेशको महत्त्वाकाङ्क्षाले काम नगरे उनलाई साथ दिने मनस्थितिमा छन्।

“म जन्मिँदा मेरा आमाबुवासँग घर थिएन,” उनले भने।

“मेरा बच्चाहरू आफ्नो बुवाको (मेरो) घरमा फ्रीटाउनमा हुर्किरहेका छन्। यो ठूलो कुरा हो। मैलेजस्तो दुःख उनीहरूले पाउँदैनन्।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।