दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो, जनधनको क्षतिका विवरण

तस्बिर स्रोत, Getty Images
दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन्।
हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन्।
स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन्। प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन्।
मार्च २१ मा सुरु भएको उक्त डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ।
डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ।
हालसम्मकै खराब

तस्बिर स्रोत, South Korean Army/News1
दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ।
अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन्।
तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ।
बुधबार एक अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका पाइलटको मृत्यु भएको छ। कम्तीमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ।
देशका विपद् प्रमुखले आगलागीको मात्राले जलवायु सङ्कटको कठोर वास्तविकतालाई उजागर गरेको बताएका छन्।
सांस्कृतिक धरोहरमा पनि असर

तस्बिर स्रोत, Getty Images
आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ।
दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन्।
मौसम पूर्वानुमानहरूमा डढेलो प्रभावित क्षेत्रमा लगभग ५ मिलिमिटर वर्षा हुने अनुमान गरिए तापनि अधिकारीहरूले त्यसलाई सजगतापूर्वक हेरेको बताएका छन्।
"वर्षाको मात्रा कम छ, त्यसैले यसले आगो निभाउन धेरै मद्दत गर्ने देखिँदैन," कोरिया वन सेवाका प्रमुख लिम साङ-सिओपले एक ब्रीफिङमा भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








