मध्य माघमै डढेलो देखिनु के खतराको घण्टी हो?

मनाङको तिमाङ जङ्गलमा कैयौँ दिनदेखि डढेलो निभ्न सकेको छैन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मनाङको तिमाङ जङ्गलमा कैयौँ दिनदेखि डढेलो निभ्न सकेको छैन
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

२१ माघमा एकैदिन दोलखाको गौरीशङ्कर, सिन्धुपाल्चोकको भोटेकोशी, गोरखाको धार्चे, धादिङको रुबी उपत्यका, जाजरकोटको नलगाड, डोल्पाको जगदुल्ला, बझाङको साइपालसम्म डढेलो लागेपछि अधिकारीहरूले चेतावनी जारी गरे।

शुक्रवारदेखि मनाङको तिमाङ जङ्गलमा लागेको डढेलो कैयौँ दिनसम्म निभ्न नसकेको विवरण आएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू हिउँद सुक्खा हुँदा जाडोयाम नसकिँदै धेरैतिर डढेलोका घटना देखिन थालेको बताउँछन्।

"हिउँद घर्कँदै जाँदा यसले कस्तो गति लिन्छ भन्ने कुरा हावा बहने प्रवृत्ति कस्तो हुन्छ भन्नेसँग जोडिन्छ," प्राधिकरण प्रवक्ता डीजन भट्टराईले बीबीसीसँग भने।

"डढेलोको प्रकोप नै देखिने अवस्थाका लागि इन्धनसरह सहजै जल्ने कुरा जङ्गलमा कति छन् र जमिनको सुक्खापन कस्तो छ भन्नेको उत्तिकै अर्थ छ। यस पटक हिउँदमा निकै कम पानी परेको अवस्था छ।"

सामान्यतः मध्य वैशाखतिर सबैभन्दा बढी डढेलो देखिने हुँदा मध्य फागुनबाट त्यसको सम्भावित जोखिमलाई ध्यान दिँदै पूर्व तयारीहरू थालिन्छ। तर यस पटक मध्य माघतिरै उल्लेख्य घटना देखिन थालेका छन्।

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यस जाडोमा सरदर पर्नु पर्नेमध्ये करिब १० प्रतिशतजति मात्र वर्षा हुन सकेको फेब्रुअरीमा समेत उल्लेख्य पानी पर्ने सम्भावनाहरू नदेखिएको भन्दै अब डढेलोका घटना धेरै हुने सम्भावनाहरू रहने चेतावनी दिन्छन्।

"ज्यानुअरी १७ देखि ४ फेब्रुअरी मङ्गलवार १९ दिनसम्म पानी पर्न सकेको छैन। यस जाडो याममा ५.५ मिलिमिटर मात्र पानी परेको छ," विभागको जलवायु मूल्याङ्कन शाखाका मौसमविद् सुदर्शन हुमागाईँले भने।

"हाम्रो मौसमी पूर्वानुमानमा फेब्रुअरीमै पनि औसत पर्नुपर्ने जति पानी पर्ने देखिएको छैन। यो हिउँद पनि सुक्खा नै हुने लगभग निश्चित छ।"

डिसेम्बर, ज्यानुअरी र फेब्रुअरी महिनालाई हिउँद मानिने यस याममा ६१.१ मिलिमिटर पानी पर्नुलाई सरदर हिउँदे वर्षा मानिन्छ।

डढेलोमा के सम्म गर्न सकिन्छ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ताले डढेलो लाग्न र फैलन नदिनका लागि सरकारले कानुनको कार्यान्वयन गराउने, फायरलाइन भनिने अग्नि नियन्त्रक रेखा बनाउनेदेखि सचेतनाका काम मुख्य रूपमा गरिरहेको बताउँछन्।

"तर घटना घटिसक्दाका अवस्थामा हाम्रो प्रतिकार्य प्रणाली अझै पनि दरिलो र सशक्त छैन। हामी परम्परागत उपाय नै अपनाउँदै आएका छौँ," प्राधिकरण प्रवक्ता भट्टराई भन्छन्।

"वनछेउका मानव बस्तीमा असर पर्ने अवस्थामा बाहेक जङ्गलमा आगो लाग्दै गर्दा त्यसलाई निभाउन हेलिकप्टर परिचालन गर्ने स्रोत र सामर्थ्य आजका दिनसम्म हामीसँग छैन।"

ताप्लेजुङको बिपुधाब क्षेत्रमा शुक्रबार राति लागेको डढेलो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, ताप्लेजुङको बिपुधाब क्षेत्रमा शुक्रबार राति लागेको डढेलो

खासगरी प्री-मनसुन अवधिमा नेपालमा धेरै डढेलो लाग्ने प्रवृत्ति देखिन्छ। तर अधिकारीहरूले सबै याममा नेपालमा डढेलो लाग्ने गरेको बताउँछन्।

सन् २०२४ सालको सोही अवधिमा देशव्यापी रूपमा हजारौँ सङ्ख्यामा डढेलो लागेका थिए जुन नेपालमा त्यसको विवरण राख्न थालिए यताको दोस्रो ठूलो प्रकोप थियो।

सन् २००२ देखि नेपालमा डढेलोको विवरण राख्न थालिएकामा सन् २०२१ मा सबैभन्दा ठूलो प्रकोप देखिएको थियो।

"गत वर्ष नेपालका सबैजसो जङ्गलमा निकै ठूलो डढेलो लागेका कारण जङ्गलमा रहेका बल्न सक्ने एवं सुकेका पातपतिङ्गर र रूख जलिसकेका छन्। त्यसैले पोहोरजस्तै ठूलो प्रकोप नदेखिएला कि भन्ने छ," भट्टराई भन्छन्।

"तर यो वर्ष पनि उल्लेख्य सुक्खा भएको अवस्थामा त्यस्ता जल्न सक्ने कुराहरू पहिलेजस्तै नभए पनि फेरि राम्रै सङ्ख्यामा थुप्रिएको हुनुपर्छ। त्यसबेला वायुको गति कस्तो रहन्छ भन्ने कुराले पनि यस पटक डढेलो कस्तो हुनेछ भन्ने थाहा हुन्छ।"

सजग गराउने हिउँदे प्रवृत्ति

सन् २०२४ को हिउँदमा सरदरको झन्डै २१.५ प्रतिशत अर्थात् १३.१ मिलिमिटर मात्र वर्षा भएको थियो। त्यतिखेर वर्षा अगावै देशभर पाँच हजारभन्दा बढी सङ्ख्यामा डढेलोका घटना देखिएका थिए।

डोल्पामा डढेलो नियन्त्रणका लागि खटिने क्रममा तीन जना सैनिकहरूको मृत्यु भएको थियो।

जल तथा मौसम विज्ञान विभागले हिउँदका तीन महिनामा सरदर ६०.८ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा माने तापनि ३० मिलिमिटरभन्दा कम पानी पर्दा 'चरम सुख्खा' मान्ने गरेको छ।

सन् २०२३ सालको हिउँदमा समेत १२.९ मिलिमिटर वर्षा भएको थियो।

यस वर्ष वर्षा कम हुनुका साथै छिट्टै तापमान बढ्ने क्रम समेत देखिएको बताइन्छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, यस वर्ष वर्षा कम हुनुका साथै छिट्टै तापमान बढ्ने क्रम समेत देखिएको बताइन्छ

मौसम अधिकारीहरूले यो वर्ष पनि लगातार तेस्रो वर्ष 'चरम सुक्खा' दोहोरिने जोखिम रहेको बताउँछन्।

"हिउँदमा कम वर्षा हुने बित्तिकै माटोमा हुने पानीको मात्रा कम हुन जान्छ। जसले गर्दा जङ्गलका पातपतिङ्गर सहजै जल्न सक्छन्," जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्।

"फेब्रुअरी महिना पनि सुक्खा हुने देखिन्छ। विश्वव्यापी रूपमा सार्वजनिक ढाँचामा मार्च र एप्रिल महिना पनि सुक्खा हुने देखिनु डढेलो फैलने अवस्थालाई बल पुग्नु हो। यी अवस्थाका कारण यो वर्ष धेरै डढेलो देखिन सक्छ।"

नेपालमा मार्च र एप्रिल महिनामा डढेलोका धेरै घटना देखा पर्ने गरेका छन्।

हालसम्मकै सबैभन्दा ठूलो डढेलो प्रकोप देखिएको सन् २०२१ मा १५.५ मिलिमिटर मात्र हिउँदे वर्षा भएको थियो। त्यस वर्ष ६,३०० भन्दा धेरै डढेलोका घटना देखा परेका थिए।

सन् २०२२ मा भने सरदरभन्दा धेरै ७२ मिलिमिटर वर्षा भएको थियो।

देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने तीस वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ।

त्यसकै आधारमा हेर्दा पछिल्ला झन्डै दुई दशकमा नेपालमा धेरैजसो हिउँद सुक्खा पाइएका छन्।

सन् २००६ देखि सन् २०२४ सम्मका हिउँदे वर्षाको मूल्याङ्कन गर्दा एक तिहाइ वर्षमा मात्र सरदरभन्दा धेरै पानी परेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।