जाडोमा वर्षा गराउने प्रणाली यसपटक 'कमजोर', तर यो साता 'धेरैतिर मौसम नखुल्ने'

तस्बिर स्रोत, RSS
यो साता सोमवारदेखि नै पश्चिमी वायुसँगै सिर्जना भएको न्यून चापीय प्रणालीका कारण देशभर मौसम प्रभावित बनेको छ।
धेरैतिर घाम नलागेर पनि धुम्म गराएको र कतैकतै हिमपात एवम् हल्का वर्षासमेत गराएको त्यस्तो मौसमी प्रणाली शनिवारबाट हट्दै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
तर यस यामका अघिल्ला पश्चिमी वायु प्रणालीमा जस्तै उल्लेख्य हिउँदे वर्षा यसपटक नेपालमा खासै कतै नदेखिएको बताइएको छ।
देशका धेरै स्थानमा बिहीवार छिटपुट वर्षा र हिमपात हुने पूर्वानुमान छ। मध्य र पूर्वी पहाडमा शुक्रवार वर्षा हुने प्रक्षेपण गरिएको छ।
विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर हिउँदमा देखा पर्ने धेरैजसो न्यून चापीय प्रणालीझैँ यसको प्रभाव पश्चिम नेपालमा उच्च रहने गरेको र मध्य तथा पूर्वी नेपालमा कम देखिने गरेको बताउँछिन्।
"त्यसैले अब मध्य तथा पूर्वमा भने त्यो पश्चिमी वायु, प्री-मनसुन प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावबाट वर्षा हुने सम्भावना रहन्छ," उनी भन्छिन्।
"यो यामका लागि सम्भवतः यो अन्तिमतिरकै पश्चिमी वायु प्रणाली हो।"
यो वर्षको हिउँद सकिन अब एक साता जति मात्र बाँकी रहँदा हिउँदे वर्षा सरदर भन्दा कम नै भएको अधिकारीहरू बताउँछन्।
नेपालमा मनसुनी वायु बर्सेनि चार महिना जति पूर्वतिरबाट पश्चिमतर्फ बहने क्रम पाइन्छ भने बाँकी आठ महिना पश्चिमी वायुको प्रभाव रहने गरेको छ।
अबको मौसम कस्तो होला?

विभागका मौसमविद्हरूका अनुसार यस वर्षको हिउँदमा पश्चिम नेपालमा केही मात्रामा वर्षा भए पनि त्यो सरदरभन्दा कम नै भएको र पूर्वी नेपालका लागि सुख्खाजस्तो अवस्था देखिएको छ।
हिउँद सकिएपछि मात्र समग्र वर्षाको मूल्याङ्कन हुने उनीहरू बताउँछन्।
"त्यसै पनि परबाट आउने प्रणाली भएकाले पश्चिमी न्यून चापीय प्रणालीले पूर्वी नेपालतिर थोरै मात्र वर्षा गराउँछ," मानन्धर भन्छिन्।
"तर शनिवारसम्मै पूर्वतिर मौसम बदली रही धुम्म हुने र तापक्रम घट्ने अवस्था देखिन्छ। त्यसपछि न्यानोपन बढ्न थाल्नेछ।"
हिउँदभर वर्षेनीजसो पाँच-छवटा उल्लेख्य पश्चिमी वायु प्रणाली देखिने गरे पनि यसअघिका पश्चिमी वायु प्रणाली समेत कमजोर स्वरूपका रहेको मौसमविद्हरू बताउँछन्।
वर्षभर हुने वर्षाको करिब ४ प्रतिशत हिस्सा हिउँदमा हुने भए पनि प्री-मनसुन अवधिमा भने त्यसको लगभग तीन गुणा बढ्ता वर्षा हुने बताइन्छ।
नेपालमा सबैभन्दा बढी वर्षा झन्डै ८० प्रतिशत मनसुनमा हुन्छ भने पोस्ट-मनसुनमा पाँच प्रतिशत जति हुने गरेको पाइन्छ।
चिन्ता
विभागकै जलवायु मूल्याङ्कन शाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेल पूर्वी नेपालमा सुख्खा हिउँद हुने प्रवृत्ति गत वर्ष समेत देखिएकाले त्यो चिन्ताजनक रहेको बताउँछिन्।
"गत वर्ष मनसुनमै पनि अगस्टमा मात्र सरदर पानी परेको छ, पोस्ट मनसुनमा अक्टोबरको एक साता मात्र सरदर पानी परेको छ," पोखरेल भन्छिन्।
"लगातार दुईवटा याममा त्यस्तो प्रवृत्ति देखिँदा पानीको स्रोत सुक्ने जोखिम रहन्छ। हिउँदमा यस पटक कमजोर क्षमताको पश्चिमी वायु प्रणाली देखा परेका छन्।"
नेपालमा सामान्यतः फेब्रुअरी तेस्रो साताबाट प्री-मनसुनी गतिविधि सुरु हुने गर्छ र त्यो एप्रिलसम्म कायम रहन्छ।
तर सुख्खा हिउँदबीच प्री मनसुनको वर्षा समेत ढिलो भइदिएमा डढेलोजन्य प्रकोपको जोखिम उच्च हुनसक्ने बताइन्छ।

प्री-मनसुनमै स्थानीय वायुको सक्रियता समेत उच्च हुने गरेकाले हावाहुरी र चट्याङको समेत जोखिम हुने बताइन्छ।
मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खास गरी वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्साउने मौसमविद्हरू बताउँछन्।
न्यून चाप भएको क्षेत्रमा वायुको चप कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ।
हिउँदमा पोहोर परार भन्दा यसपालि न्यून चापीय प्रणालीको असर कमै देखिएको मौसम अधिकारीहरूले बताए पनि कतिपय विज्ञहरू मनसुनजस्तो 'सुनिश्चित प्रणाली नरहेको' बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








