नेपाल मौसमः सुक्खा हिउँद र डढेलोको प्रकोपपछि ढिलो गरेर प्री-मनसुन सुरु, यस्ता छन् सकारात्मक पक्ष र जोखिम

तस्बिर स्रोत, Sarvesh Mainali
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा प्री-मनसुन अर्थात् मनसुनपूर्वको मौसमी गतिविधि सक्रिय रहेको र यस्तो बेलामा हावाहुरी र चट्याङको जोखिम हुन सक्ने भन्दै सजगता अपनाउन अनुरोध गरेको छ।
हिउँद याममा लामो समय वर्षा नहुँदा वायु प्रदूषण बढेको, वन क्षेत्रहरूका डढेलो नियन्त्रण गर्न चुनौती देखा परिरहेका बेला पछिल्लो मौसमलाई कतिपय विज्ञहरूले सकारात्मक भनेका छन्।
उनीहरूका भनाइमा अहिलेको मनसुनी गतिविधिले तरकारी र फलफूलसहित धान बालीलाई सकारात्मक योगदान पुर्याउने देखिन्छ।
यस वर्ष समयमै पानी नपर्दा कतिपय हिउँदे बाली प्रभावित भएको हुन सक्ने विज्ञहरूले आकलन गरिरहेका छन्।
मौसमको अवस्था के छ?

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ।
उनले भने, "मार्च, एप्रिल, मे तीन महिनालाई नै मनसुन अघिको अवधि भनिन्छ। यो समय हुने वर्षालाई हामी प्री-मनसुनी वर्षा भन्छौँ। अहिले यो सक्रिय अवस्थामा छ। यो भनेको स्थानीय वायुहरू सक्रिय हुनु हो।"
उनले थपे, "यस्तो बेलामा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने गर्छ। आगामी तीन दिनसम्मको हेर्दा अपराह्नतिर पहाडी भूभागमा विशेष गरी मेघ गर्जन सहित बदली, हावाहुरी र चट्याङको सम्भावना देखिएको छ।"
यसअघि थोरै वर्षा भएको भए पनि अहिले चाहिँ नेपालमा प्री-मनसुनी गतिविधि सक्रिय अवस्थामा रहेको उनले बताए।
उनले स्थानीय वायुको प्रभावले हुरी बतासहरू चल्ने अवस्थामा सावधानी अपनाउनुपर्ने सुझाव दिए।

तस्बिर स्रोत, Surendra Babu Dhakal
मौसमविद् प्रधानाङ्ग भन्छन्, "हुरीबतास चल्दा रूखहरू ढल्न सक्ने देखिन्छ। कमजोर जस्ता र छाना छन् भने उडाउने समस्या हुन्छ। कच्ची घरहरू नोक्सान हुने सम्भावना हुन्छ। त्यही भएर सावधानी अपनाउनुपर्छ। चट्याङबाट, हुरी बतासबाट र असिना पानीबाट कसरी जोगिने भन्नेबारे सतर्कता अपनाउनुपर्छ।"
जल तथा मौसम विज्ञान विभागले शुक्रवार बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिनले देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना औँल्याएको छ। प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभाग प्रभावित हुनसक्ने भनिएको छ।
शनिवार देशका धेरै स्थानमा सामन्यदेखि आंशिक बदली हुने जनाइएको छ। आइतवार रातिसम्मै पहाडी भूभागमा त्यस्तो सम्भावना रहेको प्रक्षेपण गरिएको छ।
कृषिमा कस्तो प्रभाव?
कतिपय विज्ञहरूले पछिल्लो बदलीले सुक्खाका कारण प्रभावित हिउँदे बाली र बढेको वायु प्रदूषणलाई केही राहत दिने टिप्पणी गरेका छन्।
कृषि विज्ञ हरि दाहाल भन्छन्, "फलफूल र तरकारी अनि चैते धान र मकैलाई यो वर्षाले फाइदा पुर्याउँछ।"
उनले हिउँद याममा बर्षा नहुँदा कतिपय उच्च हिमाली क्षेत्रमा भोकमरीकै तहमा समस्या देखिएको उल्लेख गर्दै गहुँसहितका बालीमा समयमै पानी नपर्दा उल्लेख्य नोक्सान भएको बताए।
उनी थप्छन्, "त्यसबाहेक यो धूलोका कण, डढेलो... यस्तो परिप्रेक्ष्यमा पानी पर्दा वातावरण पनि सफा हुन्छ।"
कृषि विभागका वरिष्ठ कृषिअर्थविज्ञ महादेवप्रसाद पौडेलले मनसुनअघिको गतिविधि ढिलो सक्रिय हुँदा गहुँ बालीमा केही असर पर्ने भए पनि एकदमै ठूलो असर पर्ने कुरा किसानहरूले आफूहरूसँग नराखेको बताए।
उनले पर्याप्त वर्षा नहुँदा मुसुरोको उत्पादनमा नकारात्मक असर पर्ने आफूलाई लागेको बताए।
हावाहुरीले तराई लगायतका क्षेत्रमा फूल लागेका फलफूलका बोटहरूमा नकारात्मक असर पार्ने भन्दै उनले आँप, लिच्ची र केराका बगानहरूमा ठूलो हावाहुरीले बढी क्षति पुर्याउन सक्ने बताए।
वायु प्रदूषण र डढेलोमा कस्तो प्रभाव?
हालैका दिनमा राजधानी काठमाण्डूसहित देशका कैयौँ क्षेत्रहरूमा दिउँसै तुँवालो लागेपछि वायुको गुणस्तर खराब भएकाले त्यस्तो भएको भन्दै अधिकारीहरूले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका थिए।

तस्बिर स्रोत, Reuters
यसपालिको सुक्खा याममा सयौँको सङ्ख्यामा देशका विभिन्न वन क्षेत्रमा आगजनी भएका खबरहरू आएका थिए।
वनमा डढेलो लाग्ने क्रम पछिल्ला दिनहरूमा पनि उच्च देखिएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले वर्षाले डढेलो नियन्त्रणमा ठूलो राहत दिने बताए।
उनी भन्छन्, "केही दिन पहिले शिवपुरीमा २५,००० लिटर पानी खसाल्दा पनि आगो नियन्त्रण गर्न गाह्रो भएको थियो। पछिल्लो वर्षाले लागिसकेको आगो निभाउन ठूलो राहत दिएको छ। अझै पनि पानी पर्यो भन्दैमा हामी ढुक्क छैनौँ। हामी उच्च जोखिम भएका जिल्लामा हामीले आवश्यक सरसामान पठाउने र जनचेतना जगाउने कामहरू गर्दैछौँ।"
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीवार ३६ जिल्लाका १५० ठाउँमा डढेलो लागेको थियो। शुक्रवार आठ जिल्लाका १५ ठाउँमा मात्रै डढेलोका घटना अभिलेख भएका छन्।
केही दिनअघि एकैदिन ४८१ वटासम्म डढेलो लागेको तथ्याङ्क सरकारसँग छ।
डढेलो लाग्ने क्षेत्रमा केन्द्रित वर्षौँ काम गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्मा भन्छन्, "मैले केही समयअघि चार महिनाको तथ्याङ्क हेर्दा पोहोर सालको तुलनामा १५ गुनाले डढेलोका घटना बढेको पाइएको थियो। नोभेम्बर महिनादेखि मार्च महिनासम्म हेर्दा चार हजार ठाउँमा आगो थियो।"
उनका अनुसार वर्षमा औसतमा २,५०० आगलागीका घटना देखा पर्ने गरे पनि यो वर्ष आगलागीका घटना उच्च देखिने बिन्दु आउनुअगावै व्यापक परिमाणमा डढेलोहरू लागेका छन्।
"साठी प्रतिशत आगलागी चैत-वैशाखमा महिनामा हुन्छ। वैशाखको दोस्रो हप्तातिर एक दिनमा आगलागीका घटना उच्च सङ्ख्यामा हुने गर्छन्। अहिले हामी उकालो लागिरहेका छौँ र यस्तोमा पानी पर्नु भनेको ठूलो राहत हो। तीन-चार दिनको अन्तरालमा पानी पर्यो भने त्यसले आगलागी नियन्त्रणमा धेरै राहत हुन्छ। तर फेरि घाम लाग्न थाल्यो भने पुरानै स्थितिमा जान्छ।"
उनले एप्रिल महिनासम्मको तथ्याङ्क जोड्दा आगलागीका सङ्ख्या ८,००० सम्म पुग्न सक्ने जानकारी दिए।









