नेपाल वायु प्रदूषण: 'खतरनाक' तहमा पुग्दा तपाईँका मनमा उब्जेका प्रश्नका जबाफ

तस्बिर स्रोत, Reuters
काठमाण्डूमा मङ्गलवार वायु गुणस्तर विश्वमै खराब देखिँदा त्यो न्यूनीकरणका लागि दीर्घकालीन पहल आवश्यक पर्ने विज्ञले बताएका छन्।
प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३०,००० भन्दा धेरै मापन बिन्दुबाट सङ्कलित विवरणहरू काठमाण्डूको अवस्था खराब देखिएको हो।
काठमाण्डूमा वायुको गुणस्तर खतरनाक तहमा अर्थात् ३०० भन्दा उच्च देखिएको छ भने धनगढी, दाङ, पोखरा र हेटौँडाजस्ता सहरमा समेत वायु निकै अस्वस्थ देखिएको छ।
नेपालमा वायु प्रदूषण किन बढ्यो र कहिलेसम्म यो अवस्था रहन्छ?
नेपालको प्रदूषणको कारक के हो?
विगतका वर्षहरूका तुलनामा फरक यस पटक लामो समयसम्म आकाशमा तुवाँलो देखिनुलाई अधिकारीहरूले देशका दर्जनौँ ठाउँमा लागेका डढेलोलाई जिम्मेवार मानेका छन्।
वर्षा र वायुको प्रणालीमा लामो समयसम्म परिवर्तन नदेखिँदा समस्या झन् जेलिएको मौसमविद्हरू बताउँछन्।
"त्यसबाहेक सार्वजनिक रूपमा फोहोर बाल्ने, गाडीको सर्भिसिङ्ग नियमित नगर्ने, नढाकीकन निर्माण कार्य गर्ने र नसुधारिएको प्रविधिबाट उद्योगधन्दा चलाउने हाम्रा व्यवहारसँग जोडिएका पुरानै कारणहरू जिम्मेवार छन्," त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागकी प्रमुख प्राध्यापक रेजिना मास्के ब्यान्जु भन्छिन्।
"हामीकहाँ वायु सफा हुने भनेको असार-साउनको वर्खायाममा मात्र हो। नत्र तह तलमाथि भए पनि अन्य बेला त्यो स्वास्थ्यकर छैन।"
अध्ययनहरूले नेपालमा मुख्य रूपमा उच्च प्रदूषण देखिने समय शरद याम सकिएर हिउँद् सुरु हुँदा र हिउँद् सकिएर गर्मीयाम सुरु हुँदा रहेको बताइन्छ।
किन लामो समय तुवाँलो रहिरह्यो?
यतिखेर अस्थिर वायुमण्डलका बीच चैते हुरी चल्ने समय भए पनि यस पटक त्यसो भएको देखिँदैन। अहिले देखिएको स्थिर वायुमण्डलका कारण मौसमी चक्रमा अन्तरसम्बन्ध हुने वायु र वर्षा दुवै हुन नसकेको मौसमविद्हरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, "वायुमण्डलको माथिल्लो तहमा वहने जेटस्ट्रिम वायुको धारा अहिले सक्रिय हुन सकेको छैन।"
"वर्षा गराउनमा योगदान दिने पश्चिमी वायु र त्यसले तयार पार्ने निम्नचापीय क्षेत्र समेत यतिखेर बन्न सकेको छैन।"
विभागले कम्तीमा दुईदेखि तीन दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना नभएको जनाएको छ। तर पश्चिम नेपालका केही भागमा छिटपुट वर्षा हुनसक्ने जनाएको छ। अहिलेको तुवाँलो हट्नका लागि वातावरणविद्ले यसअघि देखि नै ठूलो वर्षा वा हुरी आवश्यक पर्ने बताउँदै आएका छन्। डढेलो धेरै लाग्नुका कारण भने जाडोमा पर्याप्त पानी नपर्नु रहेको प्राध्यापक ब्यान्जु बताउँछिन्।
सरकारको भूमिका के देखियो?
यस पटक नेपालमा लागेको डढेलोको तह कम्तीमा एक दशक यताकै ठूलो रहेको डढेलोविज्ञले बताएका छन्।
हिउँदे पाँच महिनाको विवरण केलाउँदा यो वर्ष अहिलेसम्मकै उच्च ७३ जिल्लामा २,७०० भन्दा धेरै डढेलोका घटना देखिएका छन्।
"राम्रो घाँस आउने विश्वासका आधारमा धेरैतिर नियन्त्रित रूपमा भन्दै समेत जङ्गलमा आगो लगाउने गरिएको छ। कतिपय ठाउँमा वनहरूले समेत त्यो रणनीति लिएका छन् जसलाई परिवर्तन गर्नु आवश्यक छ," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उद्धव रिजाल भन्छन्।
"यो वर्षले समेत हामीलाई धेरै पाठहरू दिएको छ जसलाई हामीले अर्को वर्ष सुधार गर्न सक्छौँ।"
नेपालमा मध्य वैशाख डढेलो उच्च बिन्दुका रूपमा हेर्ने गरिन्छ।
पछिल्लो समय तथ्याङ्कमा आधारित प्रदूषणको तह थाहा पाउने मूल्याङ्कन प्रणाली तयार पारिएकाले अब तह बढ्दा सरकारले त्यसको असर घटाउन र मानिसहरूलाई जोगाउन आपत्कालीन उपायहरू तयार पार्नुपर्ने जानकारहरू बताउँछन्।

तस्बिर स्रोत, EPA
स्वास्थ्यमा कस्तो असर?
वायुको गुणस्तर खतरनाक तहमा पुग्नु भनेको सामान्य मानिसहरूको स्वास्थ्यमा समेत तत्काल देखिने असर पर्नु रहेको चिकित्सकहरू बताउँछन्।
सामाजिक सञ्जालमा यसको असर उच्च तहको धूमपान बराबरकै हुने भन्दै चर्चा समेत चलेका छन्।
काठमाण्डूको वीर अस्पतालका श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ डा. अशेष ढुङ्गाना भन्छन्, "त्यसरी सिधै तुलना गर्न नमिल्ला तर धूमपान गर्दा हाम्रो शरीरमा जेजस्तो असर पर्छ यो तहको प्रदूषणले गराउने त्यही हो।"
"त्यसमा दमदेखि मुटुको रोग गराउनेजस्ता पदार्थ छन्।"
लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा तौल कम हुनेदेखि विभिन्न दीर्घकालीन समस्या देखा पर्ने बताइन्छ।
वायुमा हुने सूक्ष्म कण रक्त नलीसम्म पुग्ने भएकाले त्यसले मुटुदेखि स्नायु प्रणालीसम्मका समस्याहरू निम्तिन सक्ने चिकित्सकहरूको चेतावनी छ।










