नेपाल वायु प्रदूषणः काठमाण्डू उपत्यकासहित देशभरि फैलिएको तुँवालो कहिले हट्छ?

प्रदूषण

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वायु प्रदूषणका कारण केही दिनयता चन्द्रमा र सूर्य पनि रातो देखिएका छन्

काठमाण्डू उपत्यकासहित देशका कैयौँ भेगमा फैलिएको वायु प्रदूषण र तुवाँलो तत्काल हट्ने सम्भावना नदेखिएको नेपाल सरकारका वातावरण अधिकारीहरूले बताएका छन्।

अवस्थामा तत्काल सुधार आउने नदेखिएकाले देशैभरि चार दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी शिक्षासचिव राम थपलियाले दिएका छन्।

"प्रदूषणका कारण शुक्रवारसम्म सबै विद्यालयहरू बन्द हुनेछन्," उनले भने।

वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलले प्रदूषण हट्न आवश्यक वर्षा वा वायुको गति कम्तीमा आउँदा केही दिनलाई नदेखिएको बीबीसीलाई बताए।

"तत्काल पानी पर्ने अवस्था छैन र वायुको गति समेत प्रदूषण हटाइहाल्ने खालको देखिँदैन," उनले भने।

"यतिखेर पूर्वदेखि पश्चिमसम्म देशैभरि डढेलो लागेकोले यो अवस्था आएको हो। विगतमा एक-दुई दिनलाई यस्तो प्रदूषण देखिने गरे पनि यति लामो समय वायुको गुणस्तर बिग्रिएको यो कम्तीमा एक दशकपछि हो।"

सरकारी अधिकारीहरू डढेलोविज्ञहरूलाई उद्धृत गर्दै सन् २००९ यता यति धेरै मात्रामा डढेलो लागेको यो पहिलो पटक भएको बताउँछन्।

अवस्था 'गम्भीर'

प्रदूषण मापन गर्ने केन्द्र राखिएका अधिकांश ठाउँमा अवस्था "गम्भीर" रहेको अधिकारीहरू बताउँछन्।

ती केन्द्रले देखाएका विवरण अनुसार सोमवार मध्याह्न काठमाण्डू उपत्यकामा वायुको अवस्था कतै "खतरनाक" त कतै "निकै अस्वस्थ" तहमा पाइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एकै दिन झन्डै ५०० ठाउँमा, पानी नपरे 'झन् बढ्न सक्ने'

पोखरा, जुम्ला, धनकुटाजस्ता देशका अन्य भागमा पनि वायु 'अस्वस्थ' देखिएको छ।

सोमवार अपराह्ण प्रधानमन्त्री केपी ओलीले देशभरि लागेको "डढेलो नियन्त्रण सम्भव नभइरहेको" स्वीकार्दै प्रदूषण नियन्त्रणमा आउन "केही दिन" लाग्ने बताएका छन्।

बालुवाटारमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले भने, "हामीले केही दिनका लागि विद्यालय बन्द गर्ने सोचेका छौँ…छिट्टै नै हामीले त्यसबारे निर्णय गर्छौँ।"

त्यसपछि शिक्षा मन्त्रालयले त्यसबारे औपचारिक निर्णय गरेको हो।

डढेलो 'उच्चबिन्दुमा पुग्न बाँकी'

नेपालमा वैशाखको दोस्रो सातामा डढेलो उच्चबिन्दुमा पुग्ने गरेको प्रवृत्ति विगतका वर्षमा देखिने गरेको डढेलोविज्ञहरू बताउँछन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एकजना डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बीबीसीलाई भने, "डढेलोको अहिलेका घटना त कम नै हुन्। यो अझै बढ्न सक्छ।"

सोमवार बिहानको अवस्थामा नेपालका ३४ जिल्लाका ११५ स्थानमा विगत २४ घण्टादेखि डढेलो लागेको देखिएको थियो।

भूउपग्रहबाट सङ्कलन गरिने त्यस्तो प्रत्यक्ष विवरणले यद्यपि डढेलोले ओगट्ने क्षेत्रफल भने नदेखाउने हुनाले प्रदूषणमा तिनको स्पष्ट भूमिका भने स्थानीय रूपमा प्राप्त विवरणले मात्र दिन सक्ने अधिकारीहरू बताउँछन्।

डढेलोविज्ञ शर्मा थप्छन्, "यस क्षेत्रमा काम गरेको झन्डै साढे दुई दशकको अवधिमा मैले यस्तो डढेलो यसअघि देखेको थिइनँ। यो विपद् त आपत्कालीन स्तरकै हो।"

अधिकारीहरूका अनुसार विगतमा समेत हिउँदका बेला भारतका दिल्ली-हरियाणा र आसपासका क्षेत्रमा अन्नबालीका खोस्टा जलाउँदा हुने प्रदूषणको असर नेपालसम्मै देखिने गरे तापनि विगतमा त्यो एक-दुई दिनजति मात्र रहने गरेको पाइन्थ्यो।

अवस्था सुध्रिने सम्भावना कस्तो छ?

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको आगामी तीन दिनको विवरण अनुसार बुधवारसम्म देशका पहाडी भूभागमा "आंशिकदेखि सामान्य बदली" रहने देखाएको छ।

काठमाण्डूमा तुँवालो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर - काठमाण्डूमा तुँवालोले दिउँसै साँझ परेको जस्तो अवस्था छ

विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, "पानी परे पनि धेरै पर्ने सम्भावना छैन छिटपुट मात्र पर्ने देखिन्छ। तत्काललाई हावाले उडाएर लगेमा मात्र प्रदूषण घट्ने हो, ठूलो वर्षाको सम्भावना छिट्टै देखिँदैन।"

उनका अनुसार मङ्गलवार अवस्थामा केही सुधार हुन सक्छ।

चैत-वैशाख प्री-मनसुनको समय हुने भएकाले यसबेला ठूला वर्षाको सम्भावना त्यसै पनि नहुने मौसमविद्हरू बताउँछन्।

"यसपालिको प्री-मनसुनमा उल्लेख्य वर्षा हुने कुनै प्रणाली देखा परेकै छैन। प्री-मनुसनको सामान्य समयमा जस्तो शक्तिशाली पश्चिमा वायुको प्रभाव भएको भए यो प्रदूषण हटेर जाने सम्भावना उच्च हुन्थ्यो," मानन्धर थप्छिन्।

"त्यसैले तत्काल समस्या कम हुने सम्भावना समेत एकदमै कम छ।"

line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइजिङमा कहालीलाग्दो आँधीले दिउँसै 'अँध्यारो'