तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा होटल तथा रेस्टुराँमा एक रुपैयाँ लगानी गर्नेले कति आम्दानी गर्छन्?
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा होटल, रेस्टुराँ, क्याटरिङ लगायत खाने र बस्ने सुविधा दिने झन्डै डेढ लाख वटा व्यवसाय सञ्चालनमा रहेको देशव्यापी रूपमा गरिएको एउटा बृहत् सरकारी सर्वेक्षणले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको पछिल्लो अध्ययनअनुसार नेपालमा त्यस्ता व्यवसायको सङ्ख्या १,४२,२३३ वटा रहेको देखाइएको छ।
वर्षमा छोटो समय घुम्नका लागि ११ लाख पर्यटक मात्रै आउने देशमा यति ठूलो सङ्ख्यामा रहेका होटल तथा रेस्टुराँले कति नाफा कमाइरहेका होलान्?
बुधवार सार्वजनिक भएको 'राष्ट्रिय होटल तथा रेस्टुराँ सर्वेक्षण'का अनुसार नेपालमा आवास तथा भोजनसँग सम्बन्धित व्यवसायहरूले एक रुपैयाँ लगानी बराबर एक वर्षमा औसतमा २० पैसा नाफा कमाउने देखिएको छ।
तथ्याङ्क कार्यालयले होटल, रेस्टुराँ, लज, रिसोर्ट, होमस्टे, होस्टेल तथा पार्टी प्यालेस लगायतका व्यवसायको आर्थिक अवस्थाबारे गरेको अध्ययन अनुसार गत वर्षसम्म यो क्षेत्रमा दुई खर्ब १६ अर्ब रुपैयाँ लगानी भएको छ।
त्यसको अहिलेको सम्पत्तिको मूल्याङ्कन तीन खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
"हाम्रो अध्ययनमा के देखियो भने कर्णालीमा साह्रै न्यून होटल रहेका तर त्यहाँ भएका होटलले लगानीको तुलनामा राम्रो प्रतिफल हासिल गरिरहेका छन्," राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मी भन्छन्।
"हामीले एक रुपैयाँ लगानी गर्दा कति आम्दानी हुन्छ भन्ने खालका प्रश्नहरूमा पनि विश्लेषण गरेर हेरेका थियौँ। राष्ट्रियस्तरमा एक रुपैयाँ लगानी गर्दा करिब २० पैसा मात्रै आम्दानी हुने देखिएको छ भने त्यही कुरा कर्णाली प्रदेशमा जाँदा करिब दोबरको नजिक आम्दानी हुने खालका विवरण भेटिए।"
रेग्मीका अनुसार गत आर्थिक वर्षमा यस्ता व्यवसायहरूले गरेको प्रतिफलमा त्यसअघिका वर्षहरूबाट थपिरहेको निरन्तरको लगानी समेत जोडिएको छ।
दर्ता छैनन् एक तिहाइ व्यवसाय
तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा सबैभन्दा थोरै ७,११० वटा आवास तथा भोजनसँग सम्बन्धित व्यवसाय सञ्चालनमा छन्। सबैभन्दा धेरै यस्तो व्यवसाय बागमती प्रदेशमा ५२,१२३ वटा छन्।
नेपालमा सञ्चालनमा रहेका आवास तथा भोजनसँग सम्बन्धित व्यवसायमध्ये ३६.९ प्रतिशत कुनै पनि निकायमा दर्ता नरहेको तथ्याङ्क कार्यालयको अध्ययनले देखाएको छ।
कर्णालीमा सञ्चालनमा रहेका होटल तथा रेस्टुराँहरूमध्ये ४१ प्रतिशत कुनै पनि सरकारी निकायमा दर्ता छैनन्। कर्णालीमा धेरै जसो यस्ता व्यवसाय परिवार आफैँले काम गरेर सञ्चालन गरेका कारण दर्ता कर्मचारीको दर कम रहेको हुनसक्ने तथ्याङ्क कार्यालयको आकलन छ।
"कर्णालीमा यस्ता व्यवसायमा तलबी कर्मचारीहरूको सङ्ख्या पनि कम छ। घर परिवारले सञ्चालन गरेका कारणहरूले गर्दा त्यहाँ लगानीका आधारमा हुने प्रतिफल अन्यत्रको तुलनामा राम्रो भेटिएको छ," त्यसको कारणबारे रेग्मी भन्छन्।
कर्णाली प्रदेशमा होटल तथा रेस्टुराँ लगायतका व्यवसायमा १,६९४ जना कर्मचारीहरू मात्रै रहेको तथ्याङ्क कार्यालयको अध्ययनले देखाएको छ।
देशैभरि आवास तथा भोजनसँग सम्बन्धित व्यवसायहरूमा १,०६,४५९ जना कर्मचारी छन्।
देशैभरि यस्तो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका मानिसहरूको सङ्ख्या चाहिँ ३,८७,७४७ जना रहेको छ।
कोभिडमा थलिएको व्यवसायको पुन: लयमा फर्कियो
कोभिड महामारीका समयमा नराम्ररी प्रभावित भएको खाना तथा आवाससम्बन्धी व्यवसाय अहिले देशको अर्थतन्त्रकै एउटा बलियो आधारका रूपमा उठ्न सुरु गरेको आफूहरूको अध्ययनले देखाएको रेग्मी बताउँछन्।
"पछिल्लो अध्ययनले के देखायो भने खाना तथा आवास सेवा अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ हो। यसले एकदमै राम्रो प्रगति गरिरहेको छ," तथ्याङ्क कार्यालयका प्रवक्ता समेत रहेका रेग्मी भन्छन्।
"कोभिडको समयमा यातायातपछि सबैभन्दा खुम्चिएको क्षेत्र यही नै हो। पर्यटकहरू करिब शून्य र यातायात कम भएका कारण यो खुम्चियो। त्यसपछिका दुई वर्षचाहिँ यो निरन्तर रूपमा बढ्दो छ।"
यो व्यवसायले नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीमा गर्ने योगदान करिब दुई प्रतिशत पुगेको छ।
होटल असोसिएसन अफ नेपाल 'हान'का अध्यक्ष विनायक शाह जीडीपीमा यो क्षेत्रको योगदान अझै बढी रहेको हुनसक्ने बताउँछन्।
"कतिपय साना र स्वरोजगार व्यवसायहरू दर्ता नभएका हुनसक्छन्। तिनीहरूमा बिल दिने र कर तिर्ने अभ्यास नभएका कारण अर्थतन्त्रमा योगदान कम देखिएको हुनसक्छ," उनी भन्छन्।
नेपालमा खाना तथा आवास क्षेत्र फस्टाउँदै जानुको एउटा प्रमुख कारण क्रमशः बढ्दै गएको घर बाहिर खाने प्रवृत्ति र घुम्ने संस्कृति रहेको रेग्मी बताउँछन्।
"मान्छेहरूको घरमा मात्रै नखाने घर बाहिर पनि खाने प्रवृत्ति, कोभिडपूर्वकै अवस्थामा फर्किएको अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन र आम्दानीसँगै बढेको र मानिसहरूको घुम्ने संस्कृतिका कारण बढेको आन्तरिक पर्यटनका कारणले होटल रेस्टुराँ व्यवसाय फस्टाएको देखिन्छ।"
एकै पटकमा २२ लाखलाई खुवाउने क्षमता
तथ्याङ्क कार्यालयका अनुसार ती होटल, रिसोर्ट, रेस्टुराँमा वा पार्टी प्यालेसमा एकै पटकमा २२ लाख मानिसहरूलाई खाना वा खाजा खुवाउन सक्ने क्षमता छ।
सबैभन्दा धेरै मानिसहरूलाई एकै पटक अटाउने क्षमता बागमती प्रदेशका रेस्टुराँहरूमा छ।
यो प्रदेशमा सञ्चालित खानासँग सम्बन्धित व्यवसायहरूले एकै पटकमा १० लाख मानिसहरूलाई अटाउन सक्छन्।
हानका अध्यक्ष शाहका अनुसार एक रातमा १० हजार मानिसहरू सुत्न सक्ने क्षमता नेपालका होटलहरूले बनाइसकेका छन्।
"हामीसँग एक वर्षमा ३५ लाख मानिसहरूलाई सेवा दिनसक्ने गरी होटलहरू विस्तार भइसकेका छन्। तर ११ लाख पर्यटक मात्रै आउँदा औसतमा ४० प्रतिशत कोठाहरू मात्रै प्रयोगमा आएका छन्," उनले भने।
ब्याङ्क पछि सहकारीको धेरै लगानी
तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले नेपालका खाना तथा आवास क्षेत्रमा ब्याङ्कपछि सबैभन्दा धेरै लगानी सहकारी संस्थाहरूको देखाएको छ।
होटल, रिसोर्ट, रेस्टुराँ, होमस्टे होस्टेल तथा क्याटरिङ व्यवसाय २८ प्रतिशत ऋण लिएर र करिब ७२ प्रतिशत बिना ऋणमा सञ्चालन भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
यस्तो ऋणमध्ये ४० प्रतिशत ब्याङ्कहरूबाट र २७ प्रतिशत सहकारी संस्थाहरूबाट लिइएको तथ्याङ्क कार्यालयले जनाएको छ।
सहकारीबाट ऋण लिएर कोशी प्रदेशमा सबैभन्दा धेरै यस्ता व्यवसायहरू सञ्चालित छन्।
यो प्रदेशमा ३७ प्रतिशत खाना तथा आवास व्यवसायहरू सहकारी संस्थाहरूबाट ऋण लिएर सञ्चालनमा छन्।
"मैले सर्सर्ती हेर्दा ठूलो लगानी ब्याङ्कहरूको हुन्छ। साना र मझौला व्यवसायहरूमा ब्याङ्कबाट भन्दा सहकारीहरूबाट ऋण लिन सहज हुने भएकाले सहकारीहरूले आफ्नो क्षेत्रका यस्ता व्यवसायमा लगानी गरेका छन्," हानका अध्यक्ष विनायक शाह भन्छन्।
तथ्याङ्क कार्यालयका प्रवक्ता रेग्मीले २० वर्षअघि पनि त्यस बेलाको तथ्याङ्क विभागले होटलहरूबारे अध्ययन गरेको तर अहिलेको अध्ययन विस्तृत भएको बताए।
"आजभन्दा २० वर्षअघि गरेको सर्वेक्षण हामीले होटलहरूमा मात्रै केन्द्रित गरेका थियौँ। अहिले चाहिँ होटल देखि पार्टी प्यालेस र होस्टेलसम्म समेटिएका छन्," रेग्मी भन्छन्।
हानका अध्यक्ष शाह यस्तो अध्ययनलाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएको बताउँछन्।
"तथ्याङ्कले सकारात्मक कुराहरू देखाएको छ। तर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल आठ घण्टा बन्द छ, पर्यटकीय सहरहरू जोड्ने राजमार्गहरूको बेहाल अवस्थाका कारण पर्यटक घुम्न चाहँदैनन्। त्यो कुरामा पनि हाम्रो ध्यान जान जरुरी छ," उनी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।