तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के नेपाल कम खर्च गर्ने पर्यटकको गन्तव्य बनिरहेको हो?
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल आउने विदेशी पर्यटकले एक दिनमा यहाँ गर्ने गरेको प्रतिव्यक्ति झन्डै ४१ अमेरिकी डलर औसत खर्च 'निकै न्यून' रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले बीबीसीलाई बताएका छन्।
तर उनीहरूले बिताउने गरेको झन्डै १३ दिने औसत अवधि धेरै देशहरूको तुलनामा 'कम भन्न नमिल्ने' उनको भनाइ छ।
विदेशी पर्यटकहरूको सोही गर्न गर्ने आकारलाई लिएर नेपाल कम खर्च गर्ने पर्यटकहरूको गन्तव्यका रूपमा विकास भइरहेको भन्ने टिप्पणीहरू हुने गरेको पाइन्छ।
तर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले त्यस आलोचनालाई पर्यटकको रोजाइभन्दा पनि नेपालमा उपलब्ध सेवा सुविधासँग समेत जोडेर हेर्नुपर्ने बताउँछन्।
“आजका दिनमा नेपालमा पूर्वाधार ठूलो समस्याका रूपमा छ। मुख्य गन्तव्य जोडिने बाटाघाटा कमजोर अवस्थाका छन्। एउटै मात्र विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन् र त्यो समेत सानो छ,” जोशी भन्छन्।
“यस्ता कुरामा सबल हुने बित्तिकै नेपालमा धेरै खर्च गर्ने पर्यटकहरू आउने वातावरण रहन्छ। अहिले नै पनि नेपालमा कम खर्च गर्ने पर्यटकहरू मात्र आउँछन् भन्ने होइन। यहाँ धेरै खर्च गर्न सकिने पर्यटकीय क्षेत्र हुँदै नभएको पनि होइन।”
पर्यटन व्यवसायीहरूले नेपालको पर्यटनका लागि सार्वजनिक पूर्वाधारदेखि पर्यटनसम्बद्ध पूर्वाधार दुवै कमजोर हुँदा त्यसले आइरहेका धेरै खर्च गर्ने पर्यटकहरू समेत कम हुँदै जाने जोखिम रहेको गुनासो गर्छन्।
सोह्रौँ योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुर्याउने सरकारी लक्ष्य छ। जसमै दैनिक औसत प्रतिपर्यटक खर्च ८५ अमेरिकी डलर पुर्याउने र उनीहरूको औसत बसाई १५ दिन पुर्याउने भनिएको छ।
'नेपाल नपुग्दै धेरै खर्च'
पर्यटन क्षेत्रका जानकारहरूले पर्यटनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बजारमा नेपाल आइपुग्ने विमानको टिकट नै महँगो पर्ने भएकाले पर्यटकहरूले एउटा उल्लेख्य खर्च त्यसमै जाने गरेको बताउँछन्।
पर्यटन बोर्ड प्रमुख जोशी पनि त्यस कुरालाई नकार्दैनन्।
“संसारभर औसतमा एकजना पर्यटकले तीनदेखि साढे तीन हजार अमेरिकी डलर खर्चिएर एउटा मुख्य गन्तव्य घुम्न जाने गर्छन्। तर नेपाल आउजाउ गर्नका लागि केही परका पर्यटकले दुई हजार अमेरिकी डलरसम्म टिकटमा खर्च गर्ने गर्छन्,” उनी भन्छन्।
“त्यसमाथि अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली विमान सेवाहरू कमजोर अवस्थामा रहँदा त्यसको लाभसमेत हामी उठाउन चुकिरहेका छौँ।”
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलियाले महँगो 'कनेक्टिभी'का कारण धेरै पर्यटकहरूको सहज रोजाइमा पर्न नसकिरहेको बताउँछन्।
“हामीकहाँ आउने औसत पश्चिमा पर्यटकको खर्च तीन हजार डलर माथिकै हुनु नराम्रो होइन। तर हामीले त्यसको एक चौथाइ मात्र लाभ लिन सकिरहेका छौँ। बाँकी विदेशी विमान कम्पनीले नै लैजान्छन्।”
त्यसका लागि नेपालसँग धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय विमानको सेवा जोड्न सकेमा त्यसको प्रतिस्पर्धी हैसियत बलियो हुने विज्ञहरूको भनाइ पाइन्छ।
त्यसबाहेक वर्षौँदेखि नेपालमा हवाई इन्धनको मूल्य अन्य एसियाली बजारको तुलनामा उच्च हुने गरेकाले यहाँ आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानको टिकट महँगो हुने गरेको व्यवसायी तथा उड्डयन अधिकारीहरू बताउँछन्।
नेपाल आयल निगमले भने हवाई उडानको विषय 'गरिखाने वर्गसँग त्यति धेरै नजोडिने भएकाले' त्यसमा फाइदामै रहेर व्यापार गर्ने आफूहरूको पुरानै रणनीति रहेको जनाएको छ।
तर पर्यटन व्यवसायीहरूले त्यसको ठूलो मार पर्यटनमार्फत् देशको अर्थतन्त्रमा पर्ने गरेको टिप्पणी गर्छन्।
नाटा अध्यक्ष थपलियाले कुनै समय 'ब्याकप्याकर' पर्यटकहरूकै गन्तव्यका रूपमा नेपालको छवि रहेकामा अहिले त्यो क्रमिक रूपमा सुधार हुन थालेको बताए पनि महँगा पर्यटकका लागि धेरै पक्षहरूमा लगानी बढाउन आवश्यक रहेको बताउँछन्।
“पूर्वाधारको सवाल निकै महत्त्वपूर्ण छ। प्राकृतिक धरोहर निकै राम्रो भए पनि दैनिक एक हजार डलर खर्च हुने होटलका कोठा र आरामदायी कारहरूमा चढ्न खोज्ने पर्यटकहरूका लागि हामीकहाँ निकै सीमित विकल्प छ,” उनी भन्छन्।
“त्यसैगरी परिवारसाथ आउन खोज्नेहरू झन् बढ्ता सुरक्षा सुनिश्चितता खोज्छन् जसमा हाम्रो छवि झन्झन् खराब बनिरहेको छ। धेरै आम्दानी गर्न सकिने श्रेणीका पर्यटकहरू घटिरहेका छन्। अहिले यहाँ आउनेको ठूलो हिस्सा युवा उमेरका पर्यटकहरूको छ।”
विदेशमा कस्तो छ नेपालको छवि?
पर्यटकहरू आउन थालेको सात दशकको नेपालको इतिहासमा पर्वतीय र साहसिक गतिविधि गर्ने गन्तव्यको रूपमा नेपालको राम्रो छवि स्थापित हुन सकेको पर्यटन अधिकारीहरू बताउँछन्।
“त्यो छविलाई विस्तार गर्न आवश्यक छ। अहिले संरक्षण क्षेत्रमा वन्यजन्तुका हिसाबले हामी बलियो अवस्थामा छौँ। बाघ संरक्षणमा हामी विश्वव्यापी उदाहरण बनेका छौँ,” जोशी भन्छन्।
“त्यसबाहेक छोटो समयमा विविधतापूर्ण संस्कृति, मौसम, खानपिनजस्ता अनुभूति गर्न पाउने मौलिक अवसर हामीकहाँ छ। त्यस्ता पर्यटकहरू अहिले संसारभर बढ्दो क्रममा छन्।”
त्यसको प्रचार नेपालको 'छवि' नै विकास गर्ने गरी हुन नसकिरहेको दीपकराज जोशी ठान्छन्।
उनी आध्यात्मिक केन्द्रका रूपमा समेत आफ्नो छवि बनाउने अवसर नेपालसामु रहेको बताउँछन्।
गुणस्तरीय पर्यटक भित्र्याउनका लागि गुणस्तरीय लगानी आवश्यक पर्ने भए तापनि नेपालमा त्यो अझै पर्याप्त मात्रामा हुन नसकिरहेको जोशीको भनाइ छ।
उनी भन्छन्: “पर्यटन क्षेत्रमा लगानी राम्रो हुँदा त्यसले दिने राम्रो प्रतिफलको उदाहरण माल्दिभ्सलाई लिन सकिन्छ। त्यहाँ उच्च सुविधासम्पन्न रिसोर्टहरूमा उच्च वैदेशिक लगानी छ। प्रतिफलकै हिसाबले हेर्दा समेत त्यहाँ प्रतिव्यक्ति पर्यटकको लगानी दैनिक ४०० अमेरिकी डलरभन्दा बढ्ता छ।”
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा पदयात्रा र पर्वतारोहणमा आउने गरेका धेरै खर्च गर्ने पर्यटकका लागि त्यसको सुरु र अन्त्यमा संलग्न गराउने क्रियाकलापको कमी रहेको बताउँछन्।
“पदयात्रा क्षेत्रमै पनि गुणस्तरीय होटलहरूको निकै कमी छ। त्यहाँ सय-डेढ सय डलर खर्च गर्न चाहने र बीस-तीस डलर खर्च गर्न चाहनेका लागि उस्तैउस्तै खाले मात्र विकल्प रहन्छ। त्यसले त धेरै खर्च गर्न सक्ने पर्यटकलाई समेत यो ठाउँ हाम्रा लागि होइन कि भन्ने छाप परिरहेको देखिन्छ,” उनी भन्छन्।
“देशको पर्यटन चलायमान हुनका लागि काठमाण्डूमा मात्र राम्रा होटल भएर हुँदैन, सबैतिर हुनै पर्छ। त्यहाँसम्म पुग्ने बाटाघाटा राम्रो हुनै पर्छ। ती आधारभूत पूर्वाधार कमजोर हुँदा हाम्रा विशेष मानिने प्रत्यक्ष जनजीवनका संस्कृति, प्राकृतिक छटा छायामा परिरहेका छन्।”
उनीसँग सहमत नाटाका अध्यक्ष थपलियाले आधारभूत पूर्वाधारमा केही परिवर्तन गर्ने बित्तिकै दैनिक खर्च एक सय अमेरिकी डलर पुर्याउने काम ठूलो नरहेको बताउँछन्।
“विशेष गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने हो भने पर्यटनका आधारभूत पूर्वाधारमा गुनासो गर्ने ठाउँ दिन मिल्दैन।”
'खर्चको हिसाब सही नहुन पनि छ'
टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले नेपालका ठूला तारे होटलको खर्च नै सस्तोमध्येमा रहँदा पनि खर्च कम हुनुलाई दुर्भाग्य ठान्छन्।
“पर्यटकहरूमा कमजोर पूर्वाधारले छाड्ने नराम्रो छापले गर्दा बसिरहुँ भन्दा पनि कहिले यहाँबाट निस्किउँ भन्ने छाप बन्नु दु:खद् हो। काठमाण्डूका होटलभित्रै बसिरहने कुरा पनि हुँदैन सडकहरू सुरक्षित छैनन्। पदयात्रा मार्गका साना होटलमा आधारभूत सुविधा पनि छैनन्।”
नेपाल राष्ट्र ब्याङ्कले निकाल्ने खर्चको हिसाबमा पर्यटकले गर्ने सबै खर्च नेपालको राष्ट्रिय ढुकुटीमा नजोडिने अवस्था समेत रहेको अधिकारीहरू बताउँछन्।
“डिजिटल भुक्तानीहरू धेरै भइरहेका छन् जसक्रममा कतिपय हिसाब यहाँ नदेखिने समेत गरेका छन्,” जोशी भन्छन्।
“त्यसबाहेक नेपालमा खर्च हुने धेरै ठाउँमा अनौपचारिक वित्तीय प्रणाली समेत छ।”
तर त्यसो भनेर राष्ट्र ब्याङ्कले देखाएको विवरण भन्दा खर्च धेरै नै भिन्न रहेको भन्ने चाहिँ नरहेको जोशी बताउँछन्।
जोशीले आधारभूत पूर्वाधारमा सुधार गर्न सक्दाको अवस्थामा नेपालीहरूको आतिथ्य व्यवहार, उनीहरूप्रतिको भरोसा निकै राम्रो रहेकाले नेपाल ठूला राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्कटबीच समेत छिट्टै पुनरुत्थान हुने गरेको बताउँछन्।
तर पनि हवाई तथा सडक सुरक्षामा देखा परेको चिन्ताले नेपालको पर्यटनलाई मार पारिरहेको जानकारहरू बताउँछन्।
बोर्ड प्रमुख जोशी भन्छन्: “अन्यथा खानपानको स्वच्छता र गुणस्तरमा समेत नेपालप्रति ठूलो गुनासो छैन। गाइडहरूको व्यवहार र होटल/रेस्टुराँमा हुने सहयोगीपनलाई पर्यटकहरूले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन्।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।