तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उपल्लो डोल्पाका गाउँ जहाँ ६ महिनाका लागि पिठो पिसेर राखिन्छ
- Author, प्रकाश पन्त
- Role, सुर्खेत
- पढ्ने समय: ५ मिनेट
अत्यधिक चिसोले हिउँदमा पानीघट्ट पनि नचल्ने भएकाले उपल्लो डोल्पामा एकैपटक छ महिनाका लागि पिठो पिसेर राख्ने चलन छ।
हिउँ पग्लिएर पानी बग्न थालेपछि मात्रै परम्परागत घट्ट फेरि चलाउन सम्भव हुन्छ। उक्त हिमाली भेगमा पिठो सकिनेबित्तिकै अन्न पिसाउने सुविधा छैन।
उपल्लो डोल्पाका बासिन्दाहरूका अनुसार असोज महिनामै कात्तिकदेखि चैत महिनासम्म पुग्ने गरी गहुँ र जौ पिसेर चलन निकै पुरानो हो।
तिब्बती बजारको भर
उक्त दुर्गम भेगमा अन्यत्रको जस्तो सजिलैसँग सरसामान किन्न पनि पाइँदैन। मानिसहरू नुनतेल र लत्ताकपडाजस्ता अन्य घरायसी सरसामान एक वर्षलाई पुग्ने गरी साउन र भदौतिर तिब्बती बजारबाट ल्याउँछन्। त्यो बजार पनि वर्षमा केवल १५ दिन खुल्ने स्थानीय बासिन्दाहरू बताउँछन्।
"नुनतेल सकिनेबित्तिकै पसलबाट किनेर ल्याऔँला भन्ने हुँदैन। नुनतेलदेखि खाद्यान्नको जोहो पहिल्यै गरिएन भने हिउँद कटाउन धेरै कठिन हुन्छ," सालदाङकी पासाङ वुटी लामा भन्छिन्।
"हिउँदमा घट्ट चल्ने पानी नै जमेर डल्लो पर्छ। अरू ठाउँमा जस्तो पिठो सकियो, पिसेर ल्याऔँला भन्ने हुँदैन। त्यसैले हिउँदभरि पुग्ने गरी एकैपटक पिठो पिसेर राख्छौँ। अरू घरायसी सरसामान पनि पहिले नै ल्याएर राख्छौँ।"
वर्षमा छ महिनासम्म हिउँ जम्ने डोल्पाको माथिल्लो भागमा अवस्थित डोल्पोबुद्ध, छार्का ताङ्सोङ र शे-फोक्सुन्डो गाउँपालिकामा झन्डै ५० वटा बस्ती छन्। त्यहाँ हिउँद निकै कष्टकर हुने स्थानीयवासीहरू बताउँछन्।
हिउँदमा विद्यालय र स्वास्थ्यसंस्था पनि बन्द हुने भएकोले औषधोपचार र शिक्षण समेत प्रभावित हुने शे-फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङले बताए।
हिउँ जमेपछि चार महिनाजति त गाउँलेहरू घरबाट हतपत बाहिर निस्किँदैनन्। "घरभित्रै बसेर खाने हो," उनी भन्छन्, "यहाँका मानिसलाई आफू जोगिन र आफ्ना पशुबस्तु जोगाउन पनि मुस्किल पर्छ।"
राडीपाखी र बक्खु बनाएर समय व्यतीत
केही वर्षअघिसम्म माथिल्लो भेगका डोल्पावासीहरू जाडो छल्न गाईबस्तु, भेडाबाख्रा र घोडाखच्चर लिएर सदरमुकाम दुनै, जाजरकोट र रुकुमतिर झर्थे।
हिजोआज बस्तुभाउ पाल्ने चलन घट्दै गएको छ। तैपनि पशुपालकहरू आफूले निकालेको ऊनबाट घरमै लिउ, फेरे र राडीपाखीजस्ता परम्परागत सामान बुनेर हिउँद कटाउँछन्।
गाउँका केही हुनेखानेहरू भने जाडो छल्न सदरमुकाम दुनै, सुर्खेत, नेपालगन्ज र काठमाण्डूतिर जाने चलन हराएको छैन।
बाह्रै महिना गाउँमै बस्नेहरूले हिउँदका लागि दाउरा, राशन र बस्तुभाउलाई घाँसपात जुटाएर राख्छन्।
स्थानीयवासीहरूका अनुसार त्यहाँ न्यानो हुने गरी घर बनाइएको हुन्छ। जाडोबाट जोगिन त्यसबाहेक मानिसहरू घरभित्र कोठाको बीचमा आगो बालेर ताप्ने, भेडा र चौँरीका ऊनबाट बनेका बाक्ला कपडा लगाउने, भेडाको छालाबाट बनेका बक्खुले शिरदेखि पाउसम्म ढाक्ने गर्छन्।
यस्तै झोलिलो खानेकुरा खाने अनि घ्यू र नुन मिसाएर बनाएको परम्परागत चिया पिउने चलन छ।
उपल्लो डोल्पामा उत्पादन हुने गहुँ, उवा, फापर र आलुले मानिसलाई झन्डै नौ महिनाजति खान पुग्छ।
मानिसहरू भेडा च्याङ्ग्रा, याकजस्ता पशुवस्तु र यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटीबाट राम्रै आम्दानी गर्छन्।
दशैँका बेला मनाङ र मुस्ताङ हुँदै पोखरा र काठमाण्डूसम्म उपल्लो डोल्पाबाट भेडा र च्याङ्ग्रा पठाइने गरेको छ।
'जलवायु परिवर्तनका कारण कष्ट बढ्दै'
स्थानीय निकायका पदाधिकारीहरूका अनुसार जलवायु परिवर्तनको प्रभाव उपल्लो डोल्पामा पनि परेको छ। उनीहरूका अनुसार त्यहाँको जनजीवन पहिलाको भन्दा कष्टकर भएको देखिन्छ।
"चाहिएको बेला पर्दैन, नचाहिएको बेलामा बौलाहातालमा हिउँ पर्नाले बर्सेनि अन्नबालीमा क्षति पुग्ने गरेको छ," डोल्पोबुद्ध गाउँपालिकाको तिम्जेगाउँका कोन्छोक ग्याल्छेन गुरुङले भने।
गत वर्ष असोज महिनामा एक्कासि तीन फिटसम्म परेको हिउँले भित्र्याउन ठिक्क भएको गहुँ र जौ सखाप भएको उनले बताए।
स्थानीयवासीहरूका अनुसार विगत सात वर्षदेखि कान्जिरोवा र अन्य हिमाल पूरै खुइलिएका र बिनाहिउँ काला देखिन थालेका छन्।
गाउँलेहरू असोजमा पाटनबाट पशुबस्तु घर झार्छन्। सबै तयारी नगर्दै एक्कासि हिउँ पर्दा मानिस र पशुहरू पनि हिउँपहिरोमा परेका घटनाहरू छन्।
चार वर्षअघि असोज महिनामै एक्कासि हिउँ पर्दा दुई गाउँले र केही चौँरीको ज्यान गएको शे-फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए।
"कुबेला हिउँ पर्दा धेरै नै दुःख हुन थाल्यो। पुष-माघ महिनामा पर्ने हिउँ पूर्वतयारी नहुँदै गत वर्ष असोजमा शिक्षक, कर्मचारी र प्रहरीका खुट्टा हिउँले खाइदियो। केहीलाई हेलिकप्टरबाट चार्टर गरेर बचाइयो। चार-पाँच वर्षदेखि यस्तै भइरहेको छ," उनले भने।
समयमा पानी नपर्दा घाँस पलाउँदैन। अनि वन्यजन्तुलाई पनि चरनको समस्या हुन्छ।
स्थानीय सरकारका पदाधिकारीहरूका अनुसार जलवायु परिवर्तनको असरबाट विकास निर्माणका काम पनि प्रभावित भएका छन्।
"राज्यले उपल्लो डोल्पाको समस्या बुझेकै छैन," छार्का ताङ्सोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुन्डुप गुरुङले भने, "हाम्रो पीडा एकातिर छ, राज्यको नीति नियम अर्कोतिर छ। यहाँ छ महिना मात्रै विकासको काम गर्न सकिन्छ। कुबेला हिउँ पर्दा विकासको काम प्रभावित हुन्छ।"
"असार मसान्तसम्म काम सकेर निकासा लिनुपर्ने बाध्यता हुन्छ। त्यसैले बर्सेनि बजेट फिर्ता भएर जान्छ।"
बाटो नहुँदा दुःख
उपल्लो डोल्पाका बासिन्दाहरू वर्षौँदेखि अरू समस्यासँग पनि खेप्नुपरेको बताउँछन्।
उपल्लो डोल्पालाई जोड्ने भेरी कोरिडोर सदरमुकाम दुनैबाट अझै अघि बढ्न सकेको छैन। गाडी गुड्ने बाटो नहुँदा उपल्लो डोल्पाका बासिन्दालाई नागरिकता बनाउन सदरमुकाम दुनै पुग्नै १० दिन लाग्छ।
तर यसपालि सरकारले उपल्लो डोल्पाको केन्द्र मानिने धो उपत्यकामा इलाका प्रशासन कार्यालय राख्ने निर्णय गरेको छ। त्यसबाट केही सहज हुने स्थानीयवासीहरूको आशा छ।
"उपल्लो डोल्पामा पर्ने तीनवटै पालिका जोड्ने सडकको ट्र्याक खुलेपछि जीप, मोटरसाइकल, ट्र्याक्टरजस्ता सवारीसाधन चल्ने भएकोले उनीहरू पालिकाको केन्द्र आएर एकै दिनमा काम सकेर घर फर्किन सक्छन्," डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवल गुरुङले भने।
"पहिला हिँडेर पालिका केन्द्रमा आउन एक-दुई दिन लाग्थ्यो । हिँड्ने बाटो पनि अप्ठ्यारो थियो।"
अहिले मुस्ताङ र तिब्बतबाट बाटो खोलिएको हुनाले उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे-फोक्सुन्डो गाउँपालिकाका बासिन्दालाई आवतजावत र उपभोग्य सरसामान ल्याउन भने धेरै सुविधा भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।