तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
४६ वर्षपछि खुल्दै भारतको जगन्नाथ मन्दिरको ‘रत्नभण्डार', कस्तो छ यसको इतिहास
- Author, सन्दीप साहू
- Role, बीबीसी हिन्दीका लागि भुवनेश्वरबाट
भारतको पुरीस्थित विश्वप्रसिद्ध जगन्नाथ मन्दिरको रत्नभण्डारमा राखिएका रत्न तथा अलङ्कारहरूको गणना ४६ वर्षपछि सोमवार १४ जुलाईदेखि थालिएको छ। यस्तो गणना पछिल्लो पटक सन् १९७८ मा भएको थियो।
बीचमा सन् १९८२ को डिसेम्बर अनि सन् १९८५ को जुलाईमा पनि उक्त रत्नभण्डार खोलिएको थियो। तर त्यो बेला आभूषण गणनाका निम्ति नभई श्री जगन्नाथका लागि आवश्यक केही आभूषण झिक्न र मर्मत गर्न भण्डार खोलिएको थियो।
निर्धारित शुभ साइतअनुसार सोमवार दिउँसो ठीक एक बजेर २८ मिनेटमा ११ सदस्यीय टोली सबै आवश्यक उपकरण लिएर भण्डारभित्र प्रवेश गरेको थियो।
सो टोलीमा ओडिशा उच्च अदालतका पूर्वन्यायाधीश विश्वनाथ रथको नेतृत्वमा अन्य प्रतिनिधि रहेका छन्।
साँझ करिब पाँच बजे टोली बाहिर निस्किएपछि श्री जगन्नाथ मन्दिरका मुख्य प्रशासक डा. अरविन्द पाढीले पत्रकारहरूलाई सोमवार केवल बाहिरी रत्नभण्डारमा रहेका आभूषणहरूलाई मन्दिरको भित्र बनाइएको अस्थायी 'स्ट्रङ्ग रूम'मा लगिएको, तिनमा सील लगाइएको र त्यसको साँचो जिल्ला प्रशासनलाई दिइएको बताए।
केके भेटियो?
डा. अरविन्द पाढीले जिल्ला कोषागारमा रहेको साँचोले भित्री रत्नभण्डारमा लगाइएको तीनवटा ताल्चा खोल्ने कोसिस गरिएको तर सफल नभएको बताए।
त्यसपछि राज्य सरकारको नियमानुसार मन्दिर प्रशासनले ताल्चा फोडेका थिए।
त्यहाँभित्र कैयन् सन्दुक तथा दराजहरू भेटिएको तर समय धेरै बितिसकेकाले तिनलाई भने नखोलिएको उनले बताए।
डा. पाढी भन्छन्, “सोमवार महाप्रभुको ‘बाहुडा यात्रा’ छ। त्यसैले हामी राज्य सरकारसँग छलफल गरेर भित्री रत्नभण्डार खोल्न र त्यहाँ रहेका सबै आभूषणलाई अस्थायी 'स्ट्रङ्ग रूम'मा लैजान अर्को एक दिन लगाउँछौँ।”
भित्री रत्नभण्डारमा सबैभन्दा मूल्यवान् आभूषण राखिन्छ भने बाहिरी रत्नभण्डारमा केवल रथ यात्रा वा अरू महत्त्वपूर्ण अवसरमा प्रयोगमा ल्याइने आभूषण राखिन्छन्।
भित्री रत्नभण्डारका सबै आभूषणलाई सारेर तिनको मर्मत गरिने छ। मुख्य प्रशासक पाढीले रत्नभण्डारको संरचनाको सुरक्षा सर्वोपरि महत्त्वको भएको बताए।
उनका अनुसार भारतीय पुरातत्त्व सर्वेक्षण (एएसआई)ले भित्री रत्नभण्डारको मर्मत गरेपछि मात्र अस्थायी अस्थायी 'स्ट्रङ्ग रूम'मा राखिएका आभूषणलाई फेरि भित्र ल्याइने छ र दोहोर्याएर तिनको गणना गरिने छ।
गणना प्रक्रिया कहिलेसम्म जारी रहने छ भन्नेबारे चाहिँ उनले कुनै यकिन मिति नतोकिएको बताए।
४६ वर्षपहिले के भएको थियो?
अहिलेभन्दा झन्डै ४६ वर्षअघि सो प्रक्रिया १३ मे १९७८ मा सुरु भएर ७० दिनपछि २३ जुलाईमा सकिएको थियो।
तर पनि त्यो प्रक्रिया सम्पूर्ण रूपले सम्पन्न हुन सकेको थिएन किनभने गणनाका लागि तिरुपति मन्दिर सहित बाहिरबाट बोलाइएका अलङ्कार विशेषज्ञहरूले पनि रत्नभण्डारमा रहेका कैयन् आभूषणको सही आकलन गर्न सकेका थिएनन्।
तर जति आभूषणको पहिचान र गणना गरियो, ती कम चकित पार्ने खालका थिएनन्।
अघिल्लो गणनामा के पाइएको थियो?
रत्नभण्डारमा कुल ७४७ प्रकारका आभूषण भेटिएका थिए। तीमध्ये १२,८३३ तोला सुनका गहना तथा २२,१५३ तोला चाँदीका गहना थिए। तिनका अतिरिक्त कैयन् हीरा, जुहारतका बहुमूल्य आभूषण थिए।
ती आभूषण बितेका कैयौँ शताब्दीहरूमा या त प्रभु जगन्नाथका भक्त राजामहाराजाहरूले दानस्वरूप चढाएका थिए या त ओडिशाका राजघरानाले अन्य राज्यसँग युद्धमा जित्दा ल्याएर चढाएका थिए।
यी बहुमूल्य रत्नआभूषण लुट्नका लागि १५औँ देखि १८औँ शताब्दीका बीच मन्दिरमाथि कम्तीमा १५ पटक आक्रमण भएका थिए। अन्तिम पटक बङ्गालका तत्कालीन सेनापति मोहम्मद तकी खानले सन् १७३१ मा आक्रमण गरेका थिए।
ती आक्रमणहरूमा कैयन् बहुमूल्य अलङ्कार लुटिए। तर पनि रत्नभण्डारमा गरिएको कडा सुरक्षा बन्दोबस्तका कारण धेरै हीराजुहारत सुरक्षित रहन सके।
मन्दिरको रत्नभण्डारमा रहेका हीरा, मोती, सुन तथा अन्य बहुमूल्य रत्नजडित आभूषणको मूल्य सयौँ करोड रुपैयाँ बराबर रहेको ठानिन्छ।
जानकारहरूका अनुसार डिजिटल प्रविधिका कारण सायद यस पटक गणनामा धेरै समय लाग्ने छैन।
यस कार्यका लागि बनाइएको टोलीका प्रमुख तथा न्यायाधीश विश्वनाथ रथका अनुसार सबै आभूषणको गणनाका साथै तिनको मानक निर्क्योल गरिने छ र तिनको डिजिटल सूची बनाइने छ। अनि त्यसलाई सन् १९७८ को अभिलेखसँग तुलना गरेर सबै आभूषण छन् कि छैनन् भनेर जाँचिने छ।
भण्डारमा विषालु सर्प रहेको विश्वास
राज्य सरकारले श्री मन्दिर ऐन १९६० बमोजिम मन्दिर प्रबन्धको जिम्मेवारी आफ्नै काँधमा लिएको छ। त्योभन्दा पहिले सो जिम्मेवारी पुरीका गजपति महाराजको हुने गर्थ्यो।
उक्त कानुनमा प्रत्येक तीन वर्षमा रत्नभण्डार खोल्ने र त्यहाँ जम्मा भएका आभूषणहरूको विवरण सूचीकृत गर्ने प्रावधान छ। तर किन बितेको ४६ सालमा कुनै सरकारले भण्डार खोल्न पहल नगरेको भन्ने प्रश्नको जबाफ कसैसँग छैन।
केही किंवदन्ती र अन्धविश्वास सायद यसका कारण हुन सक्छन्।
कतिपय सेवकहरूका अनुसार रत्नभण्डारभित्र विषालु सर्प छन्, जसले ती आभूषणको सुरक्षा गर्छन्। सन् १९७८मा अन्तिम पटक रत्न भण्डार खोलेको केही महिनापछि तत्कालीन जनता पार्टीको सरकार ढलेको घटनालाई कैयन् नेताहरूले उक्त भण्डारसँग जोडेर हेर्न थाले। यसै कारण त्यसयता बनेका सरकारहरूले यसको पहल नलिएको हुन सक्छ।
चुनावी मुद्दा
हुन त सन् २०१८ मा तत्कालीन नवीन पटनायक सरकारले रत्नभण्डार खोल्ने पहल गरेको थियो। तर त्यतिखेर अलङ्कारहरूको गणना वा अभिलेख बनाउन नभई भण्डारको संरचना जाँचबुझ गर्ने उद्देश्य राखिएको थियो।
सन् २०१८ मा एएसआईले रत्नभण्डारको संरचना नाजुक हालतमा रहेको बताएको थियो।
ओडिशा उच्च अदालको निर्देशनमा सन् २०१८ मा राज्य सरकारले रत्नभण्डारको स्थिति बुझ्न एक टोली बनाएको थियो। तर ऊसँग रहेको साँचोबाट भित्री रत्नभण्डारको ताल्चा खोल्न नसकिएपछि टोलीले बाहिरबाटै संरचनाको अवस्था बुझेको थियो।
त्यसयता यो मामिला उच्च अदालतमा पुगेको थियो। सन् २०२३ को मार्चमा उच्च अदालतको आदेशबमोजिम तत्कालीन पटनायक सरकारले संरचनाको मर्मत तथा आभूषण गणनाको लागि एउटा समिति बनाएको थियो।
तर त्यसपश्चात् भएको निर्वाचनपछि ओडिशामा मोहन माझीको नेतृत्वमा बनेको नयाँ राज्य सरकारले उक्त समिति विघटन गरेर पूर्वन्यायाधीश विश्वनाथ रथको अध्यक्षतामा नयाँ समिति बनायो।
ओडिशामा हालै सम्पन्न राज्य विधानसभाको चुनावमा रत्नभण्डारको हराएको साँचो एक प्रमुख मुद्दा बन्न पुग्यो।
प्रचारप्रसारका समयमा प्रधानमन्त्री नरेन्द्र मोदी सहितसबै भारतीय जनता पार्टीका नेताहरूले लगभग हरेक चुनावी सभामा यो मुद्दा उठाएर नवीन पटनायक सरकारलाई निसाना बनाएका थिए।
आफ्नो चुनावी वाचाअनुरूप भाजपाको नेतृत्व रहेको राज्य सरकारले रत्नभण्डार खोलिदिएको छ। तर सन् १९७८ मा सूचीकृत गरिएको अभिलेखबमोजिम आभूषण सुरक्षित छन् कि छैनन् भन्ने प्रश्नको जवाफ आउन बाँकी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।