अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठामा संलग्न हुने नेपाली पुरोहित के भन्छन्?

अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर “ऐतिहासिक” भएको बताएका छन्।

पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु “गौरवको कुरा” भएको उनले बताए।

राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लागेका बेला बीबीसी नेपालीसँगको कुराकानीमा उनले “यो नेपाल र नेपालीका लागि पनि गर्वको कुरा” भएकोमा जोड दिए।

झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा कार्यरत छन्।

त्यसै वर्ष अगस्टमा राम मन्दिर निर्माण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दा धार्मिक विधिविधान गराउने कार्यमा उनी संलग्न भएका थिए।

‘म सौभाग्यशाली हुँ’

बीबीसी नेपालीसँगको टेलिफोन कुराकानीमा गौतमले आफूलाई अहिले निकै सौभाग्यशाली व्यक्ति भएको जस्तो महसुस भइरहेको बताए।

उनले भने, “म सौभाग्यशाली छु किनभने म नेपालमा बसेको, मेरा पूर्वजले पहिले कहिल्यै संस्कृत अध्ययन गरेका थिएनन्। यहाँ भारतमा पनि धेरै ठूला विद्वान्‌हरू हुनुहुन्छ तर ईश्वरको कृपाले म यहाँ पुगेँ।”

“मोदीजीलाई भूमिपूजा गराउँदा मलाई कस्तो भयो होला? पाँच सय वर्षपछि यो मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ र म गराउँदै छु भन्दा म आफैँले आफूलाई बडो सौभाग्यशाली ठान्छु।”

उनले सन् २०२० देखि पटकपटक भारतका उच्च अधिकारीहरू आउँदाखेरि उनीहरूले गर्ने मुख्य पूजामा आफू संलग्न भइरहेको बताए।

यद्यपि उनलाई नेपालमा राम मन्दिरको मुख्य पुजारी भनिएकोमा गौतमले आफू मुख्य पुजारी नभएको स्पष्ट पारे।

उनले भने, “म मुख्य आचार्य हुँ। मुख्य पुजारी होइन। मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ।”

“मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुन्छ भने आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरूको नेतृत्व गर्ने हुन्छ।”

उनले प्राणप्रतिष्ठाका क्रममा कुल १२१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको जानकारी दिए।

“हामीले १५-१५ जनाको समूह बनाएर कसले के गर्ने भन्ने छुट्ट्याएका छौँ,” गौतमले भने।

प्राणप्रतिष्ठाको बेला गर्भगृहमा को-को हुन्छन्?

बीबीसीले कतिपय शङ्कराचार्यहरूले प्राणप्रतिष्ठाको विधि नपुग्ने भन्दै गरेको आलोचनाबारे पनि उनलाई प्रश्न गरेको थियो।

तर गौतमले “शङ्कराचार्यहरू भगवान्‌को रूप हुने” भन्दै उनीहरूका धारणाबारे आफूले टिप्पणी गर्न नमिल्ने बताए।

यद्यपि उनले शास्त्रीय विधिहरूअनुसार नै प्राणप्रतिष्ठा हुने र त्यसैअनुसार व्यवस्था मिलाइएको दाबी गरे।

गौतमले दिएको जानकारी अनुसार प्राणप्रतिष्ठाका क्रममा विधिहरू पूरा गरेर जम्मा पाँच जनालाई मात्र मन्दिरको गर्भगृहमा राख्नेगरी व्यवस्थापन मिलाइएको छ।

“गर्भगृहमा पाँच जना मात्र रहनुहुन्छ हामीले समेत बाहिरबाट मन्त्रोच्चारण गर्ने हो र विधि पूरा गर्ने हो,” उनले भने।

‘गर्भगृहमा रहने पाँच जना चाहिँ को हुन् त?’ भन्ने प्रश्नमा उनले भने, “प्रधानमन्त्री मोदीजी, मुख्यमन्त्री योगीजी (योगी आदित्यनाथ), सरसङ्घचालक मोहन भागवतजी (राष्ट्रिय स्वयमसेवक सङ्घ), आनन्दीवेन पटेलजी (उत्तरप्रदेशकी गभर्नर) र नृत्यगोपाल दासजी (श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष) रहनुहुन्छ।”

उनले विशिष्ट व्यक्तित्वहरूले प्राणप्रतिष्ठाको अन्तिम विधि पूरा गर्नुअघि धेरैखाले विधानहरू पहिले नै पूरा भइसकेको हुने बताए।

श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले जारी गरेको प्राणप्रतिष्ठाको तालिका अनुसार ज्यानुअरी १६ देखि नै प्राणप्रतिष्ठाका लागि “शुभ संस्कार” सुरु भएको छ।

ट्रस्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामान्यत: प्राण-प्रतिष्ठा समारोहमा सात अधिवास हुन्छन् र न्यूनतम तीन अधिवास अभ्यास गरिन्छन्।”

“समारोहको अनुष्ठानको सबै प्रक्रियाहरूको समन्वय, समर्थन तथा मार्गदर्शन गर्न १२१ आचार्य हुन्छन्।”

“श्री गणेशवर शास्त्री द्रविडले सबै प्रक्रियाहरूको निगरानी, समन्वय तथा दिशा-निर्देशन गर्नुहुन्छ तथा काशीका श्री लक्ष्मीकान्त दीक्षित मुख्य आचार्य हुनुहुन्छ।”

गौतमको पृष्ठभूमि

झापाका दुर्गाप्रसाद गौतमले पुरोहितका रूपमा सन् २०२० मा मोदीलाई भूमिपूजन गराएका थिए। त्यस बेला पनि नेपालमा उनको चर्चा भएको थियो।

गौतम झापाको बाहुनडाँगीका स्थायी बासिन्दा हुन्।

नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको उनी बताउँछन्।

बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उनी अहिले अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य रहेका छन्। गौतम स्थानीय एउटा वेद विद्याश्रममा अध्यापन पनि गराउँछन्।

संस्कृत व्याकरणमा आचार्य गरेका गौतम अहिले विद्यावारिधिको तयारीमा रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।