नेपाली विद्यार्थीलाई दिल्लीबाट फर्काउने निर्णय 'आफ्नो भएको' कतार एअरवेजको स्वीकारोक्ति

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रु उडान समयबारे सूचनापाटी हेर्दै

तस्बिर स्रोत, EPA

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भारतको दिल्ली हुँदै गत महिना जर्मनीका लागि हिँडेकी एक नेपाली नागरिक बीचबाटोबाटै स्वदेश फर्कन बाध्य भएको घटनामा आफू जिम्मेवार रहेको कतार एअरवेजले बताएको छ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल 'ट्रान्जिट' बनाएकी साम्भवी अधिकारीले आफ्नो बोर्डिङ पास भारतीय विमानस्थलमा च्यातिएको र केही समय नियन्त्रणमा लिएपश्चात् नेपाल फर्काइएको गुनासो सामाजिक सञ्जालमा गरेकी थिइन्।

नेपालबाट पुनः अर्को देशको ट्रान्जिट लिएर जाँदा समस्या नभएको उनको पोस्टबारे भारतीय गृह मन्त्रालयले समेत स्पष्टीकरण दिएको छ।

आफ्नी नागरिकलाई बीचबाटोबाटै फर्कन बाध्य पारिएको घटनामा नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीसँग बुझिएको बताएको छ। भारतीय अधिकारीहरूले सम्बन्धित वायुसेवा कम्पनीकै कर्मचारीबाट उनलाई रोकिएको हुन सक्ने जानकारी गराएपछि वायुसेवाका प्रतिनिधिसँग बुझ्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली नियोग उपप्रमुख सुरेन्द्र थापाले बीबीसीसँग बताए।

"हामीले एअरलाइन्स कम्पनीका भारतीय प्रतिनिधिलाई पनि यस विषयमा चासो राख्दै छौँ," थापाले भनेका छन्।

बीबीसीले इमेलमार्फत् सोधेको प्रश्नमा कतार एअरवेजका प्रतिनिधिले एक नेपाली नागरिकलाई आफ्ना कर्मचारीले नै दिल्लीबाट नेपाल फर्काइदिएको बताएको छ।

"हामीले यो प्रकरणलाई पुनरवलोकन गरेका छौँ र यसमा यात्रुको भिसाले उनको यात्रा योजनाको तालिकाको अवधिभन्दा फरक अवधिको सङ्केत गरेको देखियो। त्यसकारण उक्त उडानका निम्ति (उनलाई) स्वीकार गर्न सकिएन," कतार एअरवेजले बीबीसीलाई दिएको जबाफमा भनिएको छ।

नेपालीलाई फर्काइएको प्रकरण के हो?

 इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ दिल्लीमा नेपाली विमान

तस्बिर स्रोत, BBC/Ashok Dahal

अक्टोबर १२ देखि बर्लिनमा हुन लागेको विश्व स्वास्थ्य सम्मेलनमा भाग लिन काठमाण्डूबाट उडेकी विद्यार्थी साम्भवी अधिकारीले आफूलाई 'यात्रा शङ्कास्पद' रहेको भन्दै दिल्लीमा विमानस्थल अध्यागमनले रोकेको दाबी गरेकी थिइन्। उनले यात्रुहरूलाई विमान चढ्न अनुमतिका लागि दिइने आफ्नो बोर्डिङ पाससमेत अधिकारीले च्यातिदिएका र आफू फर्कन बाध्य भएको सामाजिक सञ्जालमा लेखेकी थिइन्।

अधिकारीले दिल्लीस्थित नेपाली दूतावाससँग एक जना अर्का यात्रुको सहायताले सम्पर्कमा पुगेको उल्लेख गरेकी थिइन्।

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख थापाले उनीसँग कुरा भएपछि आफूहरूले पनि सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गरेको बताए।

"विमानस्थलमा रोकिएको विषमा फोन आएपछि हामीले उहाँ ( साम्भवी अधिकारी) सँग समस्याबारे कुरा गर्‍यौँ र त्यसमा जिम्मेवार अधिकारीसँग बुझ्ने प्रयास गर्दा उहाँ नेपाल नै फर्कन चाहेको र सहजीकरण भएको जानकारी आयो," थापाले भने।

"सामाजिक सञ्जालमा त्यसबारे पोस्ट आएपछि हामीले विदेश मन्त्रालयमा चासो राख्यौँ र यहाँको विदेश मन्त्रालयले पनि सरकारी निकायबाट यस्तो घटना 'हुनै नसक्ने' भनेर हामीसँग चिन्ता राख्नुभयो।"

भारतको स्पष्टीकरण

 इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्ली

भारतको गृह मन्त्रालयले साम्भवी अधिकारीलाई फर्काइएको घटनामा भारतीय अध्यागमनका कर्मचारीको कुनै भूमिका नरहेको दाबी गरेको छ।

"उनको भिसाको मान्यताबारे चासो देखाउँदै वायुसेवाले नै जर्मनीको यात्रा गराउन नसक्ने जनाएको थियो र उनी काठमाण्डू फर्किएकी थिइन्," भारतको गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत् भनेको छ।

भारतीय अधिकारीहरूसँग कुरा भएपछि आफूहरूले वायुसेवाका प्रतिनिधिसँग पनि बुझिरहेको दूतावासले जनाएको छ।

आफूहरूलाई भारतीय विमानस्थलमा रोकिएको दाबी गरिएको अर्का एक जना यात्रुको पोस्टमा कतिपय अन्य नेपाली नागरिकहरूले पनि आफ्नो अनुभव राम्रो नभएको प्रतिक्रिया व्यक्त गरेका छन्।

एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गत महिना कोलम्बिया जान काठमाण्डूबाट उडेकी ती यात्रुले आफूसहित तीन नेपाली जनस्वास्थ्यकर्मीहरूलाई दिल्ली विमानस्थलबाट अगाडिको उडानमा जान नदिइएको सामाजिक सञ्जालमा लेखेकी थिइन्।

नेपाली यात्रुलाई दिल्लीमा सोधपुछ

 इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ दिल्ली

तस्बिर स्रोत, BBC/Ashok Dahal

आफ्नो विज्ञप्तिमा भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय ट्रान्जिटका लागि भारत आउने यात्रुहरूले अध्यागमनको प्रक्रिया पूरा गर्नुनपर्ने दाबी गरेको छ।

"अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले यात्रा जारी राख्न भारतीय अध्यागमनतर्फ गइरहनु पर्दैन," गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

बीबीसीले कुरा गरेका एक जना यात्रु र अवकाशप्राप्त अधिकारीले नेपाली यात्रुलाई ट्रान्जिटमा पनि पुनः जाँच र सोधपुछ गर्ने गरिएको बताए।

करिब एक वर्षअघि काठमाण्डूबाट दिल्ली हुँदै यूके यात्रा गरेका विद्यार्थी जीवन पौडेलले दिल्ली विमानस्थलमा आफूलाई पनि सोधपुछ गरिएको बताए।

"विमानस्थल अधिकारीहरूले सोधपुछ गर्ने रहेछन्। त्यहाँ कागजपत्र पनि जाँचिने रहेछ र सुरक्षा जाँच पनि नेपालबाट बाहिरिँदाकै जस्तो गरिँदो रहेछ," पौडेलले भने।

नेपालबाट तेस्रो देशका लागि उडेका कतिपय यात्रुहरूले भारतीय विमानस्थलको ट्रान्जिटबाटै फर्काएको गुनासो गरिरहँदा अध्यागमन विभागका एक पूर्वप्रमुखले नेपाली नागरिकलाई भारतीय विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुको जस्तो व्यवहार नहुने गरेको बताएका छन्।

"कतार वा दुबईबाट ट्रान्जिट बनाएर जाने हो भने सोधीखोजी हुँदैन, भारतबाट जाँदा धेरै सोधीखोजी गरिन्छ। ट्रान्जिटमा यो आवश्यक छैन। आधा बाटोमा पुगेपछि किन सोधीखोजी गर्ने हो," अध्यागमन विभागका पूर्वमहानिर्देशक केदार न्यौपाने भन्छन्।

'अन्तर्राष्ट्रिय यात्रुको व्यवहार गरिँदैन'

 इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्ली

तस्बिर स्रोत, BBC/Ashok Dahal

दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले मानवतस्करी र ठगीका घटना रोक्न दिल्लीबाट कतिपय देशहरूमा जाने नेपाली नागरिकको कागजपत्र जाँच गर्ने गरिएको बताएका छन्। खुला सीमाना रहेका कारण मानवतस्करहरूले उक्त विमानस्थलबाट बाटो दुरुपयोग गर्ने भएका कारण यसो गरिएको अधिकारीहरूको दबी छ।

"हामीले भारतको बाटो हुँदै मध्यपूर्वका देशहरूमा जान नो अब्जेक्शन लेटर वा श्रम स्वीकृति अनिवार्य गरेका छौँ। त्यति हुँदा पनि नक्कली श्रम स्वीकृति र एनओसी बोकेर आउनेहरू छन् र यहाँको विमानस्थलमा पक्राउ पर्ने गरेका छन्," दूतावासका नियोग उपप्रमुख थापाले भने। तर मानवतस्करीको सम्भावना कम रहेको भनिएका युरोपेली देशहरू र अमेरिका जाने यात्रुहरूलाई नो अब्जेक्शन लेटर अनिवार्य नगरिएको अधिकारीहरू बताउँछन्।

अध्यागमन विभागका पूर्वमहानिर्देशक न्यौपाने नेपाली विमानलाई भारतीय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको व्यवहार नगरिएको दाबी गर्छन्।

"यो समस्या हो। हाम्रा यात्रुलाई किन आन्तरिकजस्तो व्यवहार गर्ने? तिनलाई सोधपुछ गर्ने नेपालमा हो। यहाँबाट गइसकेपछि अन्तर्राष्ट्रिय यात्रुको व्यवहार गर्नेबित्तिकै यो समस्या समाधान हुन्छ," न्यौपाने भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।