तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरियामा असदको सत्ता ढल्दा 'रुसको साखमा धक्का'
- Author, स्टीभ रोजन्बर्ग
- Role, बीबीसी रुस सम्पादक
झन्डै एक दशकसम्म रुसबाट पाएको दह्रो समर्थनले बशर अल-असदलाई सत्तामा टिकाउन सघायो।
तर विगत २४ घण्टामा विकसित अभूतपूर्व घटनाक्रमपछि अवस्था फेरिएको छ। दमास्कस विद्रोहीहरूको नियन्त्रणमा पुगेको छ। सिरियाली राष्ट्रपतिको सत्ता ढलेको छ र समाचारहरूका अनुसार उनी भागेर मस्को पुगेका छन्।
क्रेम्लिनको एउटा स्रोतलाई उद्धृत गर्दै रुसी समाचारसंस्था र सरकारी टेलिभिजन च्यानलहरूले रुसले असद र उनको परिवारलाई "मानवताका आधारमा" शरण प्रदान गरेको जनाएका छन्।
मात्र केही दिनभित्रै क्रेम्लिनको सिरियामा "हात माथि रहेको" परिस्थिति एउटा नाटकीय मोडमा पुगेको छ र मस्को त्यसलाई नियन्त्रण गर्न विफल भएको छ।
रुस के भन्छ
एउटा विज्ञप्तिमा रुसको विदेश मन्त्रालयले मस्कोले "सिरियाको नाटकीय घटनाक्रमलाई ज्यादै चिन्तापूर्वक नियालिरहेको" जनाएको छ।
असदको सत्ता ढल्नु रुसको सम्मानमा धक्का लागेको अवस्था हो।
सन् २०१५ मा राष्ट्रपति असदलाई समर्थन गर्न मस्कोले हजारौँ सैनिक सिरियामा पठाएको थियो। त्यसो गर्नुको एउटा उद्देश्य आफूलाई विश्वशक्तिका रूपमा प्रस्तुत गर्नु पनि थियो।
पुरानो सोभियत वृत्तभन्दा पर रहेका देशमा भ्लादिमिर पुटिनले चालेको त्यस्तो कदमलाई शक्ति र पश्चिमा प्रभुत्वमाथि उनले पहिलो पटक ठूलो चुनौती दिएको अर्थमा हेरिएको थियो।
अनि त्यो सफल भएको जस्तो देखिन्थ्यो। सन् २०१७ मा राष्ट्रपति पुटिनले सिरियामा अवस्थित रुसको हिमेमिम हवाई शिविरको भ्रमण गरेका थिए र आफ्नो उद्देश्य सफल भएको घोषणा गरेका थिए।
नियमित रूपमा रुसी हवाई हमलाका कारण गैरसैनिक नागरिकहरू हताहत हुन थालेको विवरण आएको भए पनि रुसी रक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई सिरिया पुर्याएर रुसी सैनिक कारबाही प्रत्यक्ष रूपमा देखाउन सक्ने आत्मविश्वास देखिन्थ्यो।
एउटा त्यस्तै भ्रमणमा एक सैनिक अधिकारीले मसँग रुस सिरियामा "लामो समयसम्म" रहने बताएका थिए।तर त्यहाँ रुसको उपस्थितिको अर्थ साख मात्रै थिएन। सैन्य सहयोगको बदलामा सिरियाली अधिकारीहरूले रुसलाई ४९ वर्षका लागि हिमेमिम हवाई अड्डा र टार्टसमा रहेको जलसेनाको शिविरको जिम्मा दिएका पनि थिए।
त्यसो हुँदा रुसले भूमध्यसागरको पूर्वी भागमा महत्त्वपूर्ण नियन्त्रण कायम गर्न सकेको थियो। ती शिविरहरू अफ्रिकामा सैनिक सामग्री आयातनिर्यात गर्न महत्त्वपूर्ण केन्द्र बन्न पुगे।
अब के हुन्छ
अहिले मस्कोको लागि मुख्य प्रश्न भनेको अब ती रुसी शिविरमा के हुन्छ भन्ने हो।
असद मस्को आइपुगेको जानकारी दिने क्रममा रुसी अधिकारीहरूले उनीहरू "सिरियाली सशस्त्र विपक्ष" का प्रतिनिधिसँगको संवादमा रहेको पनि उल्लेख गरेका छन्।
सरकारी टेलिभिजन च्यानलका प्रस्तोताले विपक्षी नेताहरूले रुसी सैनिक शिविरहरूको सुरक्षा र सिरियाली भूभागभित्र रहेका कूटनीतिक नियोगहरूको सुरक्षाको ग्यारेन्टी गरेको जनाएका थिए।
रुसी विदेश मन्त्रालयले सिरियामा रहेका शिविरहरूलाई "उच्च सर्तकर्तामा" राखिएको बताउँदै "अहिलेको परिस्थितिमा तिनलाई कुनै गम्भीर जोखिम नरहे" दाबी गरेको छ।
बशर अल-असद मध्यपूर्वमा रुसका सबैभन्दा प्रमुख समर्थक थिए। क्रेम्लिनले उनीमाथि ठूलो लगानी गरेको थियो। रुसी अधिकारीहरूले उनको बहिर्गमनलाई मस्कोमाथि धक्का नलागेको अर्थका रूपमा प्रस्तुत गर्न सङ्घर्ष गर्नुपर्ने छ। उनीहरूले प्रयास गरिरहेका छन् र दोषी कसलाई देखाउने खोजी रहेका छन्।
दोष कसको
आइतवार राति रुसको सरकारी टेलिभिजनको एउटा प्रमुख साप्ताहिक समाचार कार्यक्रममा सिरियाको सेनाको आलोचना गरियो। विद्रोहीको प्रतिकारमा नलडेको आरोप उसमाथि लगाइएको थियो।
"सिरियाली अधिकारीहरूका लागि परिस्थिति झन् नाटकीय बन्दै गइरहेको सबै जनाले देखेका थिए," कार्यक्रम प्रस्तोता योभ्गेनी किस्लेभले भने।
"तर उदाहरणका लागि, अलेपोमा युद्ध नै नगरी (सैनिकहरूले) आफ्नो ठाउँ छाडे। (सरकारी सैनिकहरू) हातहतियारले बढी सुसज्जित र सङ्ख्यामा धेरै भए पनि एकपछि अर्को किल्लाहरूमा आत्मसमर्पण गरियो र पराजय निम्तियो। यो रहस्यमयपूर्ण छ।"
ती प्रस्तोताले रुसले सिरियाका विभिन्न पक्षबीच सदैव "मेलमिलाप चाहेको" उल्लेख गरेका थिए। उनले एउटा मुख्य बुँदा पनि समावेश गरे।
"वास्तवमा हामी सिरियामा के भइरहेको छ भन्ने कुरामा उदासीन होइनौँ। तर हाम्रो प्राथमिकता रुसको आफ्नै सुरक्षा हो - विशेष सैन्य कारबाही भइरहेका क्षेत्र (युक्रेनसँगको रुसी युद्ध) मा के भइरहेको छ," उनले भने। त्यो रुसी सर्वसाधारणहरूका लागि सन्देश थियो।
नौ वर्षसम्म बशर अल-असदलाई शक्तिमा राख्न ठूलो स्रोत खन्याएपछि रुसले आफ्ना नागरिकहरूलाई आफूले त्योभन्दा महत्त्वपूर्ण विषयमा चिन्ता गर्नुपर्ने अवस्था रहेको स्पष्टसँग बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।