तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरिया युद्ध: बम विस्फोट हुँदा हाँस्न सिकेकी तीनवर्षे बालिकालाई टर्की लगियो
सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।
साल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए।
गत महिना भाइरल भएको एउटा भिडिओका कारण उनी चर्चामा आएकी थिइन्।
त्यो भिडिओमा युद्धक विमानले बम आक्रमण गर्दा विस्फोटन भएको सुनेर उनी घरभित्र हाँसिरहेको देखिन्छ।
त्यसको एक हप्तापछि टर्कीको सरकारले ती बालिका र उनका अभिभावकलाई सीमा पार गरेर टर्की जान सहयोग गरेको बुझिएको छ।
लाखौँ विस्थापित
सिरियाली भूभागमा पर्ने इड्लिब प्रान्तमा विद्रोहीहरूको नियन्त्रण छ।
उक्त क्षेत्रमा टर्कीले सघाएको विद्रोही समूह र सिरियाली सेनाबीच भीषण युद्ध सुरु भएपछि गत डिसेम्बरयता झन्डै १० लाख मानिस भागेर सिरिया र टर्कीको सीमा क्षेत्र पुगेका छन्।
साल्वा र उनका पिता अब्दुल्ला मोहम्मदले हवाई आक्रमण झेल्ने अनौठो उपाय प्रयोगमा ल्याएका थिए। अब्दुल्लाले छोरीलाई विस्फोटन भएको सुन्दा हाँस्न सिकाए।
बच्चाहरूले पटका पड्काएको आवाज सुनाउँदै उनले त्यसरी पनि रमाउन सकिन्छ भनेर साल्वालाई विश्वस्त पारेका थिए।
उक्त भिडिओका कारण उनीहरूप्रति सहानुभूति बढ्यो र उनीहरूलाई त्यहाँबाट भाग्न सहयोग गर्न टर्की सरकारलाई अग्रसर बनायो।
गत फेब्रुअरी २५ मा उनीहरूले सिरियाको सीमा पार गरेको टर्की प्रवेश गरेको एनाडोलु समाचारसंस्थाले जनाएको छ।
त्यसपछि उनीहरूलाई टर्कीको दक्षिणी भेगमा अवस्थित एउटा शरणार्थी शिविरमा लगिएको बताइएको छ।
द गार्डीअन पत्रिकाकी संवाददाताले मङ्गलवार साल्वा र उनका पिताको तस्बिर ट्वीट गरेकी थिइन्।
"जीवनमा पहिलो पटक उनी सामान्य कुरामा हाँस्न सक्छिन्," उनले लेखेकी छन्।
आफूहरूले भिडिओमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई सन्देश पठाउन खोजेको अब्दुल्लाले टर्कीका सञ्चारमाध्यमलाई बताएका छन्।
अब साल्वाले विद्यालय जाने अवसर पाउँछिन् भन्दै उनले टर्कीमा शरण पाएकोमा प्रसन्नता व्यक्त गरेका छन्।
"मलाई आशा छ कि सिरियामा जारी द्वन्द्व चाँडै समाप्त हुनेछ र म सिरिया फर्किन पाउनेछु," एनाडोलु समाचारसंस्थाले प्रकाशन गरेको समाचारमा अब्दुल्लालाई उद्धृत गरिएको छ।
टर्कीले ३७ लाख सिरियालीलाई शरण दिएको छ।