तेल अभिभमा ड्रोन प्रहार भएपछि यमनमा हूथीविरुद्ध इजरेलको हमला

तस्बिर स्रोत, Reuters
- Author, टम स्पेन्डर र पोल एडम्स
- Role, बीबीसी न्यूज
इजरेलले यमनमा हूथी-नियन्त्रित रेड सीको हुडैडा बन्दरगाह हवाई हमलाहरू गरेको छ। हूथी समूहले तेलअभिभमा एउटा ड्रोन प्रहार गरेको एक दिनपछि इजरेलले हवाई हमला गरेको हो।
इजरेली रक्षामन्त्री योआभ गालान्टले आफ्नो देशले हूथी आन्दोलनलाई यो हमलामार्फत सन्देश दिन चाहेको बताएका छन्।
उनले भने, "हुडैडामा यतिखेर दन्किरहेको आगो मध्यपूर्वभरि देखा देखिएको छ र त्यो उल्लेख्य रूपमा प्रस्ट छ।"
हूथीसँग सम्बन्ध भएका सञ्चारमाध्यमहरूले सो इजरेली हमलाबाट तीन जना मारिनुको साथै ८० जनाभन्दा धेरै घाइते भएको उल्लेख गरेका छन्।
एकजना हूथी अधिकारी मोहम्मद अब्दुलसलामले त्यसलाई "यमनविरुद्ध इजरेलको क्रूर आक्रामक कार्य" भनेका छन्।
ती हूथी अधिकारीले आफूहरूविरुद्ध हमला गरेर इजरेलले गाजामा प्यालेस्टिनीहरूलाई साथ दिने काम बन्द होस् भन्ने चाहे पनि त्यसो नहुने बताए।
हूथी आन्दोलनको कार्यकारी निकाय हूथी सर्वोच्च राजनीतिक परिषद्लाई उद्धृत गर्दै हूथीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएअनुसार यी हवाई हमलाको "प्रभावकारी जबाफ" दिइने जनाइएको छ।
इजरेली सेनाले आइतवार बिहान यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरेली हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालिदिएको जनाएको छ।
इजरेलको पहिलो प्रत्यक्ष हमला

तस्बिर स्रोत, Reuters
यो घटना पछिल्ला पटक इजरेलले हूथीहरूविरुद्ध गरेको पहिलो प्रत्यक्ष आक्रमण हो।
इजरेलले यसबीचमा आफूहरू लक्षित सयौँ यमनी ड्रोन र क्षेप्यास्त्र प्रहार भएपछि त्यसको जबाफ दिएको जनाएको छ।
शनिवार साँझको भिडिओ फुटेजमा हुडैडामा विशाल आगो दन्किरहेको देखिन्छ।
राजधानी सनामाबाट हूथी नियन्त्रित सरकारले इजरेलले समुद्री तट नजिकैको तेल भण्डार र नजिकैको ऊर्जा केन्द्रमा हमला गरेको जनाएको छ।
इजरेल डिफेन्स फोर्सेस (आइडीएफ)ले हुडैडा बन्दरगाह क्षेत्रमा गरेका हमलाबारे एक विज्ञप्तिमा भनेको छ, "यमनका हूथीहरूबाट नौ महिना लगातार इजरेलतर्फ गरिएका हमलापछि आइडीएफका लडाकु जेटहरूले १,८०० किलोमिटर पर हूथी आतङ्कवादीहरूका निसानामा एउटा विस्तृत कारबाही अन्तर्गत हमला गरेको छ।"
"आइडीएफ आवश्यक पर्दा जहाँसुकै कारबाही गर्न सक्षम छ र इजरेलीलाई जोखिममा पार्ने जुनसुकै शक्तिलाई हमला गर्नेछ।"
उक्त विज्ञप्तिमा शनिवारको त्यो कारबाहरीलाई 'आउटस्ट्रेच्ड आर्म' नाम दिइएको छ।
इजरेली दाबी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
इजरेली रक्षामन्त्री गालान्टले इजरेलीहरूलाई क्षति पुर्याएका कारण सो समूहलाई हमला गरिएको जनाएका छन्।
उनले भनेका छन्, "हूथीहरूले हामीलाई २०० पटकभन्दा धेरै हमला गरे। पहिलो पटक उनीहरूले एक इजरेली नागरिकलाई हानी पुर्याएपछि हामीले उनीहरूलाई प्रहार गर्यौँ। यो हामीले आवश्यक पर्दाका बखतमा जुनसुकै ठाउँमा गर्नेछौँ।"
शनिवार ती हमलापछि बोलेका इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशले "सबै तरिका अपनाएर" आफ्नो प्रतिरक्षा गर्ने बताएका छन्।
उनले हुडैडा बन्दरगाह इरानी हतियारहरू प्रवेश गर्ने विन्दु रहेको उल्लेख गर्दै एक टेलिभिजन सम्बोधनमा भने, "जसले हामीलाई हानि पुर्याउँछ, तिनले आफ्नो आक्रामक कार्यका लागि निकै महँगो मूल्य चुकाउँछन्।"
उनले आफूहरूको उक्त हमलाले इजरेलका शत्रुहरूलाई उनीहरू पुग्न नसक्ने कुनै ठाउँ नरहेको देखाएको जनाए।
तेल अभिभमा के भएको थियो?

तस्बिर स्रोत, Reuters
शुक्रवार तेलअभिभमा बहुतले भवनको एउटा हिस्सामा मानवरहित एक ड्रोनबाट हमला भएको थियो।
इजरेली सैनिक अधिकारीहरूले उक्त ड्रोन इरानमा बनेको र लामो दूरी तय गर्नेगरी परिष्कृत गरिएको जनाएका छन्।
हूथीहरूले आफूहरूले उक्त हमला गराएको बताउँदै थप त्यस्ता प्रहारहरू गरिने जनाएका छन्।
सो हमलामा हालै मात्र बेलरुसबाट इजरेल सरेका एक ५० वर्षीय पुरूषको निधन हुनुका साथै अन्य आठजना घाइते भएका छन्।
इजरेली सैनिकहरूले आफ्नो बलले आउँदै गरेको ड्रोनको पहिचान गरे पनि "मानवीय त्रुटि"का कारण त्यसलाई खसाल्ने प्रयास नगरेको जनाएका छन्।
यसअघि इजरेलतर्फ प्रहार गरिएका लगभग सबै हूथी क्षेप्यास्त्र र ड्रोनहरूको निस्तेज पारिने गर्थे र ती कुनै पनि तेल अभिभसम्म पुग्दैनथे।
हूथीहरूको त्रास
इजरेलले यसअघि यमनमा हूथीहरूलाई हमला नगरे पनि महिनौँदेखि सो समूहविरुद्ध अमेरिका र यूकेले हमला गर्दै आएका छन्।
अमेरिका र यूकेले गल्फ अफ एडन र रेड सीमा व्यावासायिक पानीजहाजहरूमा हमला गर्नबाट रोक्नका लागि भन्दै ती हमला गर्ने गरेका छन्।
हूथीहरूले सुरुमा इजरेलसँग सम्बन्धित वा त्यहाँबाट छुटेका वा त्यसतर्फ जाने पानीजहाजलाई हमला गरेको बताएका थिए।
यद्पि इजरेलसँग कुनै सम्बन्ध नभएका कैयौँ पानीजहाजहरू र यूके र अमेरिकासँग सम्बन्धित पानीजहाजहरू समेत हूथीको निसानामा पर्ने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








