अमेरिका र यूकेद्वारा यमनका हूथी निशानामा ताजा हमला, के त्यसले रेड सीमा पानीजहाजको ओहोरदोहोर सहज पारेको छ?

रेड सी

तस्बिर स्रोत, Getty Images

अमेरिका र यूकेले यमनका १३ स्थानमा रहेका ३६ हूथी निशानामा संयुक्त हमला गरेका छन्।

अमेरिकाले जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा भएका ड्रोन हमलाको बदलामा भन्दै शुक्रवार इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेपछि यो घटनाक्रम देखा परेको हो।

यमनमा गरिएका पछिल्ला हमला रेड सीमा पानीजहाजहरूमाथि जारी हूथी हमलाको जवाफी कारबाही भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले राजधानी सानामा विस्फोटनका आवाज सुनिएको बताएका छन्।

अमेरिका र युकेसहित गठबन्धन देशहरूका तर्फबाट जारी गरिएको एक संयुक्त विज्ञप्तिमा इरान समर्थित हूथी निशानामा रहेका भूमिगत हतियार भण्डार, क्षेप्यास्त्र 'लन्चर' र हवाई प्रतिरक्षा प्रणालीमा प्रहार गरिएको जनाइएको छ।

उनीहरूले ती हमला विश्व व्यापारमा अवरोध पुर्‍याउने हूथीहरूको क्षमता कमजोर पार्ने उद्देश्यले चालिएको जनाएका छन्।

हूथीविरोधी गठबन्धनमा अमेरिका र यूकेलाई अस्ट्रेलिया, बहराइन, क्यानडा, डेनमार्क, नेदरल्याण्ड्स र न्यूजील्याण्डले सघाइरहेका छन्। 

रेड सीको अवस्था

हूथीहरूले गाजाका प्यालेस्टिनीहरूप्रति समर्थन दर्साउन आफूहरूले इजरेलतर्फ जाने पानीजहाजलाई निशाना बनाइरहेको बताएका छन्।

हुथी आक्रमण सुरु भएयता मुख्य पानीजहाज कम्पनीहरूले रेड सीको मार्ग प्रयोग गर्न बन्द गरेका छन्।

समुद्र भएर हुने विश्वको झण्डै १५ प्रतिशत व्यापार रेड सीको जलमार्ग मार्फत् हुन्छ।

विकल्पको रूपमा कम्पनीहरूले दक्षिणी अफ्रिका हुँदै निकै लामो जलमार्ग प्रयोग गरिरहेका छन्।

त्यो विकल्प रोज्दा झण्डै थप छ हजार किलोमिटर लामो दूरी र ९ दिन जति बढ्ता समय लाग्छ।

अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा गरिएको पछिल्लो हमलामा एक पानीजहाज भेदी क्षेप्यास्त्रलाई नष्ट पारिएको जनाएको छ।

रेड सी

हमलाहरू तटिय ड्रोन नियन्त्रण केन्द्रमा समेत केन्द्रीत रहेको हूथीविरोधी गठबन्धनले जनाएको छ।

तर बीबीसी अरेबीकका एकजना संवाददाता कम्पनीहरूले अझै दक्षिणी अफ्रिका हुँदै निकै लामो र खर्चिलो मार्ग भएर यात्रा गर्न खोजिरहँदा "यी हमलाहरूले दुर्भाग्यवश अहिलेसम्म आफ्नो उद्देश्य हासिल नगरेको" बताउँछन्।

ज्यानुअरी १२ मा हूथीहरूविरुद्धको यूकेको पहिलो हमला घोषणा गर्ने क्रममा प्रधानमन्त्री ऋषि सुनकले उक्त समूहको हमलालाई "खतरनाक र अस्थिरता फैलाउने हमला"को सङ्ज्ञा दिएका थिए। उनले त्यस्तो हमलाले जीवनहरू जोखिममा पार्ने र "महत्त्वपूर्ण व्यापार मार्गमा ठूलो अवरोध सिर्जना गर्ने तथा वस्तुहरूको मूल्य बढाउने" बताएका थिए।

हूथीहरू कति शक्तिशाली छन्?

हुथी लडाकु

तस्बिर स्रोत, Getty Images

हूथीहरू यमनको पहाडी उत्तर-पश्चिमी भेगका अल्पसङ्ख्यक समुदाय हुन्।

उनीहरूले आफ्नो नाम उक्त आन्दोलनका संस्थापक हुसैन अल-हूथीबाट लिएका हुन्।

सन् २००० को दशकमा उनीहरूले यमनका बलिया शासकविरुद्ध कैयौँ युद्ध लडेका थिए।

अरब स्प्रिङ आन्दोलनका बेला ती नेतालाई पदच्युत गरियो र उनीहरू राजधानी सानासम्म नाराबाजी गर्दै पुगेर शक्ति हत्याए।

पदबाट हटाइएका राष्ट्रपति सालेहले त्यसप्रति असन्तुष्टी व्यक्त गर्दै आफूप्रति बफादार रिपब्लिकन गार्डलाई वशमा राखे जसले उनीहरूलाई यमनको ८० प्रतिशत जनसङ्ख्यामा नियन्त्रण गर्न सक्षम बनायो।

त्यसपछि हूथीहरूले उनको हत्या गरे।

हूथीहरूले शक्ति हत्याएसँगै पहिले नै गरिब अरब देश यमन यतिखेर भयावह गृहयुद्धमा फसेको छ।

त्यहाँ अनुमानित झण्डै डेढ लाख मानिसहरू मारिएका छन् भने दशौँ लाख मानिसहरू सहायतामा आउने खाद्यान्नमा निर्भर छन्।

धेरैजसो हूथीहरू सिया मुस्लिम अन्तर्गतको जाइदी परम्परा मान्छन्। तर यमन सुन्नी बहुल देश हो।

हूथीहरूले १५ प्रतिशत यमनका नागरिकहरूको प्रतिनिधित्व गर्ने भए तापनि उनीहरू आफूलाई शासनको हकदार ठान्छन्।

त्यसो भए बाँकी जनसङ्ख्याभन्दा उनीहरू कसरी फरक छन्?

"उनीहरू सामान्यतः लडाकु, हिंस्रक र निर्दयी छन्," सन् २०१५ देखि सन् २०१७ सम्म यमनमा यूकेका राजदूत भएका एडमन्ड फिटोन-ब्राउन भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।