पाकिस्तानमा गिर्जाघरहरूमा आगजनी भएपछि १०० जनाभन्दा बढी पक्राउ

आगजनी भएको गिर्जाघर

तस्बिर स्रोत, reuters

इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको अपमान गरिएको भन्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित एउटा सहरमा हजारौँ मानिसहरूले कम्तीमा चारवटा गिर्जाघरमा आगजनी र इसाईहरूका केही घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार जरान्वाला सहरस्थित ती गिर्जाघरसँग जोडिएका एक दर्जनजति भवनमा पनि क्षति पुगेको छ।

ती घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको छ र हिंसाबारे अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार जरान्वालामा स्थिति तनावपूर्ण छ। गिर्जाघरको भग्नावशेषलाई काँडेतार लगाएर घेरिएको छ।

जरान्वाला पर्ने फैसलाबाद जिल्लामा सात दिनका लागि मानिसहरू सार्वजनिक स्थानमा भेला हुन नपाउनेगरी निषेधाज्ञा जारी भएको छ।

इस्लाम धर्मको पवित्र धर्मग्रन्थ कुरान च्यातेको आरोप लागेका दुई व्यक्ति अझै पक्राउ परेका छैनन्। तर उनीहरूविरुद्ध ईशनिन्दाको अभियोग लगाइएको छ।

पाकिस्तान

तस्बिर स्रोत, HASAM AHMAD

ईशनिन्दाको मुद्दामा के हुन सक्छ?

पाकिस्तानमा ईशनिन्दालाई मृत्युदण्डसम्म हुन सक्ने अपराध मानिन्छ। तर अहिलेसम्म कसैलाई ईशनिन्दाको अभियोगमा मृत्युदण्ड दिइएको छैन।

तर उक्त ईशनिन्दाको आरोप लागेका दर्जनौँ मानिसको भिडले गरेको आक्रमणका कारण हत्या भएको छ।

दुई वर्षअघि ईशनिन्दाको आरोप लागेका श्रीलङ्काका एक नागरिकलाई भिडले आगो लगाएर हत्या गरेको थियो। सन् २००९ मा पन्जाबको गोर्जा जिल्लामा इस्लाम धर्मको अपमान गरेको भन्दै भिडले ६० वटा घरमा आगजनी र छ जनाको हत्या गरेको थियो।

ब्रिटिश उपनिवेशकालमा १९औँ शताब्दीमा ईशनिन्दा गर्नेलाई दण्ड दिने कानुन बनेको थियो। पछि सन् १९८० को दशकमा उक्त कानुन उल्लङ्घन गर्दै इस्लामको अपमान गर्ने व्यक्तिलाई मृत्युदण्डसम्म हुनेगरी अझ कडा कानुन ल्याइयो।

पाकिस्तानको जनसङ्ख्याको ९६ प्रतिशत भाग मुस्लिमहरूको छ।

इसाई समुदायको घरमा पनि आक्रमण भएको थियो

तस्बिर स्रोत, GETTY IMAGES

कसरी भयो आक्रमण?

दुई पुरुषले कुरानको अपमान गरेको भन्ने विवरण सामाजिक सञ्जालबाट फैलिएपछि सहरमा विरोधप्रदर्शन र आगजनी भएको सूचना फोनबाट स्थानीय सरकारी निकायले पाएको एक अधिकारीले बीबीसी उर्दूलाई बताए।

अधिकारीहरूका अनुसार इसाई समुदायको बसोबास रहेको ठाउँनजिकै कुरानका च्यातिएका पन्नाहरू फेला परेका थिए र तिनमा अपमानजनक कुराहरू लेखिएको बताइएको छ।

त्यसबारे सामाजिक सञ्जाल र सहरमा चर्चा भएपछि मुस्लिम समुदायका मानिसहरू आक्रोशित भए। त्यसपछि भएको हिंसामा इसाई समुदायका मानिसका घरमा आक्रमण र लुटपाट भयो।

आक्रमण हुन थालेपछि घर छाडेर भाग्नेमध्ये ३१ वर्षीय यासिर भाटी पनि हुन्।

"उनीहरूले झ्यालढोका भत्काए र फ्रिज, सोफा, कुर्सी र अन्य घरायसी सामानहरू निकालेर गिर्जाघरअगाडि जलाउन लगे" उनले एएफपी समाचार संस्थासँग भने।

"उनीहरूले बाइबल जलाउने र अनादर गर्ने काम गरे। उनीहरू क्रूर थिए।"

जरान्वालामा आगजनी गरिएको एउटा ठाउँको दृश्य

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले बाइबल जलाएको विवरण आएको छ

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा देखिएअनुसार प्रदर्शनकारीहरूले इसाई भवनहरूमा क्षति पुर्‍याउँदै गर्दा प्रहरीहरू मूकदर्शक बनेका थिए।

पन्जाबका सूचनामन्त्री अमिर मिरले ईशनिन्दा भएको भनिएको घटनाको निन्दा गरेका छन्। उनले एउटा विज्ञप्तिमार्फत् उक्त क्षेत्रमा हजारौँ सुरक्षाकर्मी पठाइएको र दर्जनौँ मानिसलाई पक्राउ गरिएको जनाएका छन्।

उक्त दङ्गामा मुख्य रूपमा एक इस्लामवादी राजनीतिक दल तेहरिक-ए-लबैक पाकिस्तान (टीएलपी)सँग सम्बद्ध मानिसहरू सहभागी भएको एक सरकारी स्रोतले रोएटर्स समाचारसंस्थालाई बताएको छ।

टीएलपीले भने आफ्नो कुनै खाले संलग्नता अस्वीकार गरेको छ।

इसाई समुदाय के भन्छ?

पाकिस्तान

तस्बिर स्रोत, EPA

कामचलाउ प्रधानमन्त्री अनवर उल हक ककरले उक्त हिंसाका लागि जिम्मेवार मानिसहरूविरुद्ध चाँडै कारबाही गर्न आह्वान गरेका छन्।

घटनास्थलनजिकै पर्ने सहर लाहोरस्थित पाकिस्तानी विशप आजाद मार्शलले आक्रमण र हिंसाका कारण इसाई समुदाय "गहिरो पीडा र तनाव"मा रहेको जनाएका छन्।

एक्स (पहिलेको ट्विटर)मा उनले लेखेका छन्: "हामी पीडाबोध गर्दै कानुन कार्यान्वयनकारी निकाय र न्याय तथा नागरिकको सुरक्षा कायम गर्ने निकायसँग न्याय र कारबाहीको जोडदार माग गर्न चाहन्छौँ र तत्काल हस्तक्षेप गर्दै आफ्नो देशमा हाम्रो जीवन मूल्यवान् रहेको सुनिश्चित गर्न माग गर्छौँ।"

बीबीसी उर्दूका अनुसार पन्जाब सरकारले उक्त घटना पाकिस्तानको शान्ति बिथोल्ने 'प्रणालीगत षड्यन्त्र' भएको बताउँदै घटनाबारे छानबिन गर्न एक उच्चस्तरीय समिति बनाउने घोषणा गरेको छ।

यसअघि सन् २०१३ मा यस्तै आक्रमण हुँदा त्यहाँबाट सयौँको सङ्ख्यामा इसाईहरू विस्थापित भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।