तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टी२० विश्वकपः बाङ्ग्लादेशसँगको खेलमा नेपाल कहाँ चुक्यो
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली, सेन्ट भिन्सेन्ट, वेस्ट इन्डिज
मुस्ताफिजुर रहमानले आफू किन विश्वकै उत्कृष्ट ‘डेथ ओभर' मा बलिङ गर्ने कुशल खेलाडी हुन् भन्ने प्रमाण झलक नेपालविरुद्धको खेलमा पनि देखाइ दिए।
उनी १९औँ ओभरमा बलिङ गर्न आउँदा नेपाललाई जितको लागि २२ रनको आवश्यकता थियो। टी-२० मा त्यसलाई पछ्याउन सकिने लक्ष्य मानिन्छ।
त्यतिबेला क्रीजमा नेपालका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरी थिए।
तर इन्डियन प्रिमियर लीग (आईपीएल) मा चेन्नई सुपर किङ्सबाट खेल्ने रहमानले लगातार पाँचवटा ‘डट बल’ फ्याँके। छैटौँ बलमा ऐरीलाई आउट गरिदिएपछि खेलको नतिजा एकाएक बाङ्ग्लादेशको पोल्टोतिर ढल्किन पुगेको थियो।
जारी टी-२० विश्वकपमा आफू्नो अन्तिम खेल खेलिरहेको नेपालका लागि स्थिति यसअघि दक्षिण अफ्रिकासँग भएको खेलजस्तै बनेको थियो।
नेपालले जितका लागि १०६ रन बनाउन सक्ने स्थिति बनिसकेको थियो। फेरि एक पटक टेस्ट राष्ट्र र असोसिएट राष्ट्रबीचको युद्धमा टेस्ट राष्ट्रले बाजी मार्यो। यद्यपि सोमवारको खेलको परिणाम शनिवारको जस्तो अन्तिम बलबाट निर्क्योल भएको हैन।
“हामीले ब्याटिङमा राम्रो गर्न नसकेको कुरा हामीले स्वीकार्नैपर्छ। बाङ्ग्लादेशले निकै राम्रो बलिङ गर्यो,” खेल सकिएपछि आयोजित पत्रकार भेटघाटमा नेपाली कप्तान रोहित पौडेलले भने।
बाङ्ग्लादेशको जालोमा नेपाल कसरी फस्यो
सोमपाल कामीले पहिलो बलमै विकेट लिनु, कुशल भुर्तेलले पहिलो बलमै चौका प्रहार गर्नु सेन्ट भिन्सेन्टको आर्नोस भेल रङ्गशालामा नेपाली समर्थकहरूका निम्ति प्रिय दृश्य थिए। त्यसैमा सन्दीप लामिछानेले टी-२० खेलमा १०० विकेट लिएर सुखद सन्देश प्रवाहित गरिदएका थिए।
तर पिचले फरक व्यवहार देखाइरहेको बुझेका बाङ्ग्लादेशी खेलाडीहरूले यस्तो रणनीति रचे जसको जालोमा नेपाली ब्याटरहरू फस्न पुगे।
बाङ्ग्लादेशका कप्तान नजमुल हुसैन सान्टोले भने, “पिचले फरक व्यवहार देखाइरहेको थियो र हामीलाई थाहा थियो १०० रन कटाउन सकियो भने नेपाललाई रोक्न सकिन्छ। हाम्रा बलरहरूले राम्रो काम गरे। हामीसँग राम्रा बलरहरू छन् र उनीहरूले पछिल्लो दुई तीन वर्षमा निकै राम्रो गरिरहेका छन्।”
'प्लेअर अफ द म्याच' बनेका तान्जिम हसन सकिवको भनाइ थियो, “सबै कुरा सामान्य राख्दै हामीले आफ्नो योजना पूरा गर्नतिर लाग्यौ र सफल भयौँ। अब 'सुपर ८' को लागि म उत्साहित छु।”
धरमराएको नेपाली ब्याटिङ
सोमवारको खेलमा नेपालले 'पावर प्ले'मा नै धेरै कुरा गुमाइ सकेको भान भएको थियो।
सुरुको छ ओभरको ‘पावर प्ले’ मा मुख्य चार खेलाडी आउट भएपछि नेपालको स्थिति कमजोर बनिसकेको थियो। त्यस्तै निरन्तर एकपछि अर्को ब्याटर क्रीजमा पुग्ने गरी ‘स्ट्राइक रोटेशन’ मा पनि खेलाडीहरूले राम्रो गर्न नसकेको देखियो।
“आवश्यक रन रेट बनाउन नसक्दा पछिल्ला ब्याटरहरूमा दबाव बढ्न पुग्यो," क्रिकेटसम्बन्धी अनलाइन क्रिकइन्फोले लेखेको छ, "अनि ती ब्याटरहरूले जोखिम मोल्नैपर्ने भयो। त्यतिबेलासम्म ढिला भइसकेको थियो।”
नेपालका आठ खेलाडीले त दोहोरो अङ्कमा रन बनाउनै सकेनन्। तीमध्ये पाँच खेलाडी शून्यमा आउट हुन पुगेका थिए।
यद्यपि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले इनिङ्स सम्हाल्दै ५२ रनको साझेदारी गरी टोलीलाई जितको बाटोतिर डोर्याउने प्रयास गरेका थिए।
त्यसै बेला 'डेथ ओभर' भनिने अन्तिमका केही ओभरहरूका लागि अगाडि सारिएका मुस्ताफिजुरले तीन विकेट लिए।
खेल हेरेर फर्किएका दर्शकहरू कतिपयले नेपालको प्रदर्शन अझ परिपक्व हुनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।
नेपालको खेल हेर्न अमेरिकाबाट आएका भुटानी शरणार्थी खेम ढकालले भने, “म नेपालको समर्थन गर्न आएको हुँ। पछिल्ला तीन ओभरमा राम्रो ब्याटिङ गर्न सकेको भए आज जित नेपालको पक्का थियो। हामीले दक्षिण अफ्रिकासँगको हारले दिएको घाउमा मलहम लगाउन पाउँथ्यौँ।”
नेपालको कसिलो बलिङ
यद्यपि नेपाली बलरहरूले बाङ्ग्लादेशविरुद्ध कसिलो बलिङ गरे। फील्डिङ पनि सोमवार चुस्त देखिएको थियो।
टाढाटाढाबाट सेन्ट भिन्सेन्ट रङ्गशाला पुगेका दर्शकहरूले नेपालको बलिङमा पनि निकै खुसी मनाउने अवसर पाए।
नेपाली समर्थकलाई कप्तान रोहितले पनि धन्यवाद दिए।
उनले भने, “हामीले जितको खुसी मनाउने मौका दिन सकेनौँ। यो हामी सबैको लागि दु:ख हो। तर हामी अर्को वर्षहरूमा तपाईँहरूलाई खुसी बनाउने प्रयास गर्ने छौँ।”
नेपाली खेलाडी र समर्थकहरूको भने धेरैले प्रशंसा गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।