दक्षिण कोरियामा पूर्वराष्ट्रपति यूनकी पत्नी पक्राउ, दम्पती नै जेलमा

भूतपूर्व प्रथम महिला किन गन ही

तस्बिर स्रोत, Getty Images

    • Author, केली अङ
    • Role, बीबीसी न्यूज

अदालतको आदेशपछि दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई गिरफ्तार गरिएको छ।

शेअर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो। आफूविरुद्ध लगाइएका आरोपहरू उनले अस्वीकार गरेकी छन्।

गत महिना उनका पति यून सुक यउललाई गिरफ्तार गरिएको पृष्ठभूमिमा एकै समयमा जेलमा हुने उनीहरू पहिलो पूर्वराष्ट्रपति दम्पती बनेका छन्।

देशमा राजनीतिक उथलपुथल निम्त्याउने गरी गत वर्ष असफल मार्शल कानुन लागु गर्ने अभियोगमा यून सुक यउललाई गत महिना पुनः गिरफ्तार गरिएको थियो।

चार घण्टा लामो सुनुवाइ

राजधानी सोलमा मङ्गलवार चार घण्टा लामो सुनुवाइका क्रममा किम गन हीले सबै आरोपहरू अस्वीकार गरिन्।

तर जेलबाहिर रहँदा प्रमाणहरू नष्ट गर्न सक्ने आशङ्कामा एक वरिष्ठ न्यायाधीशले उनलाई गिरफ्तार गर्न आदेश दिए।

हुन त दक्षिण कोरियामा भूतपूर्व राष्ट्रपतिहरू मुद्दा र जेलमा पर्ने गरेका दृष्टान्त छन्, तर पहिलो पटक भूतपूर्व राष्ट्रपति र भूतपूर्व प्रथम महिला एकै समयमा जेलमा छन्।

गत वर्ष मार्शल कानुन लागु गर्ने असफल प्रयास गरेका यूनलाई शुरूमा गत ज्यानुअरीमा मुद्दा चलाउन गिरफ्तार गरिएको थियो।

देशमा अस्तव्यस्ता निम्त्याएको मार्शल कानुन लागु गर्ने प्रयासले अन्ततः यूनको पद पनि गयो।

किममाथि लगाइएका आरोप

अभियोजनकर्ताहरूले ५२ वर्षीया भूतपूर्व प्रथम महिला किमले अनुचित प्रभाव पारी दक्षिण कोरियामा बीएमडब्ल्यू मोटरको विक्रेता कम्पनीको ८० करोड डलर बराबरको शेअर प्राप्त गरेकी बताएका छन्।

उनका श्रीमान्‌ यून राष्ट्रपतिमा विजयी हुनुभन्दा अघि त्यो घटना भएको बताउने गरिए पनि राष्ट्रपति पदमा रहुञ्जेल त्यसको प्रभाव जारी रहेको थियो।

व्यापारमा अनुचित लाभ पुर्‍याए बापत विवादास्पद युनिफिकेश चर्चको तर्फबाट दुईवटा च्यानल ब्याग र हिराको एउटा हार घुस लिएको पनि किममाथि आरोप छ।

सन् २०२२ को उपनिर्वाचनमा उम्मेदवार मनोनयन तथा गत वर्षको आमनिर्वाचनमा पनि हस्तक्षेप गरेको उनीमाथि आरोप छ।

मङ्गलवार अदालतमा सुनुवाइका क्रममा कालो रङको सूट र कालो रङकै स्कर्ट लगाएकी किम गम्भीर देखिएकी थिइन्।

"महत्त्वहीन व्यक्ति भएर पनि मेरो कारणले समस्या भएकोमा म साँच्चिकै क्षमायाचना गर्छु," पत्रकारहरूसँग उनले भनिन्।

राष्ट्रपति भएका बेला यूनले आफ्नी श्रीमतीविरुद्ध विशेष छानबिन गर्नुपर्ने भन्दै विपक्षीहरूको नेतृत्वमा ल्याइएका तीनवटा विधेयकलाई निस्तेज पारिदिएका थिए।

मार्शल कानुन घोषणा गर्नुभन्दा एक साताअघि मात्र उनले अन्तिम भीटो प्रयोग गरेका थिए।

उनका प्रतिद्वन्द्वी ली जेम यङ राष्ट्रपति बनेपछि गत जुन महिनामा विशेष न्यायिक समिति गठन गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।