दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग

तस्बिर स्रोत, Getty Images
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सोमाथि महाभियोग लगाउने पक्षमा मतदान भएको छ। उनलाई त्यहाँका राष्ट्रपति यून सुक यउललाई महाभियोग लगाइएपछि दुई साताअघि मात्र कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो।
उनलाई महाभियोग लगाउने पक्षमा कुल १९२ जना सांसदले मतदान गरे। दक्षिण कोरियामा राष्ट्रपतिलाई महाभियोग लगाउनका लागि १५१ भन्दा बढी मतको आवश्यकता पर्छ।
प्रधानमन्त्री रहेका हान डक सोलाई राष्ट्रपति यून सुक यउललाई महाभियोग लगाइएपछि कार्यवाहक राष्ट्रपति बनाइएको थियो। सुकलाई उनले यही डिसेम्बर ३ मा 'मार्शल ल' घोषणा गरेपछि हटाइएको थियो।
हानले देशमा उत्पन्न भएको राजनीतिक सङ्क्रमणका बेला नेतृत्व गर्ने ठानिएको थियो। तर विपक्षी सांसदहरूले उनले यउलमाथिको महाभियोग प्रक्रियालाई अन्त्य गर्न अस्वीकार गरिरहेको आरोप लगाएका छन्।

तस्बिर स्रोत, Reuters
संसद्मा अराजक दृश्य
शुक्रवार संसद्मा मतदान हुँदै गर्दा त्यहाँ अराजक खालको दृश्य देखिएको थियो।
यउल र हानको सत्ताधारी सत्ताधारी पीपल्स पावर पार्टीका सांसदहरूले सभामुखले महाभियोग प्रस्ताव पारित गर्न १५१ मत मात्र आवश्यक परेको घोषणा गरेपछि विरोध गरेका थिए।
त्यसको अर्थ यउललाई महाभियोग लगाएर हटाउन आवश्यक परेको २०० मतको आवश्यकता यसपालि पर्दैन भन्ने हो र त्यो सत्ताधारी दलका सांसदविनै पुग्ने अवस्था बन्थ्यो।
सत्ताधारी दलका सांसदहरूले महाभियोगको पक्षमा भएको मतदातको बीचमै 'अवैध' भन्दै नारा लगाएका थिए। उनीहरूले उक्त कार्यलाई 'शक्तिको दुरुपयोग' पनि भने।
सत्ताधारी दलका सांसदहरूले सभामुखको राजीनामा माग गरेका थिए। उनीहरूमध्ये अधिकांशले मतदान बहिष्कार गरेका छन्।

तस्बिर स्रोत, Reuters
पेचिलो मामिला
विपक्षीले बिहीवार महाभियोग प्रस्ताव दर्ता गर्न असफल भएका थिए। हानले यउलको मुद्दा हेर्नका लागि संसद्ले नियुक्त गरेका तीनजना न्यायाधीशहरूको नियुक्ती रोकेपछि उनीहरू असफल भएका थिए।
कोरियाको संवैधानिक अदालतमा कम्तीमा ९ जना सदस्य हुन्छन्। त्यसमध्ये कम्तीमा छजना न्यायाधीशहरूले यउलको महाअभियोगलाई संवैधानिक ठाने भने मात्र उक्त निर्णय पारित हुन्छ।
हाल उक्त इजलासका लागि जम्मा छजना न्यायाधीश मात्र रहेका छन्। त्यो भनेको एकजनाले मात्र उक्त निर्णयलाई अस्वीकार गरे भने महाभियोग कार्यान्वयन हुन सक्दैन।
विपक्षीहरूले नियुक्त हुने तीनजना नयाँ न्यायाधीश इजलासमा भएपछि महाअभियोगले पूर्णता पाउने आशा राखेका छन्।
अर्थमन्त्री चोई साङ-मोकलाई हानको स्थानमा कार्यवाहक राष्ट्रपति बनाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








